कक्षा-३ हो कि ४ मा पढ्दा हो, आफू पढ्ने सप्तकन्या प्राविका हेडसर रत्नबहादुर राई अभिभावकहरूलाई आफ्नो र सहकर्मीहरूको शैक्षिक योग्यता बारेमा भन्दैथिए, “फलना एसएलसी, फलाना अन्डर एसएलसी। म पनि अन्डर एसएलसी।” सबैभन्दा ठूलो सर हेडसर अन्डर एसएलसी भनेपछि मैले बुझें ‘एसएसलीभन्दा ठूलो अन्डर एसएलसी रहेछ ।’ अनि अठोट गरें, “म एसएलसीमा रोकिने छैन, कम्तीमा अन्डर एसएलसी हुन्छु।” कक्षा-४ मै ‘यु-एन–डी-ई-आर अन्डर, अन्डर माने तल’ घोकेको भए पनि अन्डर एसएलसी भनेको एसएलसी भन्दा तल भन्ने बुझन आफूले एसएलसी दिने बेलासम्म लाग्यो।

गाउँमा कक्षा-५ मात्रै थियो। त्यसपछि कि त पढाइ छोड्नुपर्ने कि त गाउँ छोड्नुपर्ने। डेरा बसेर कक्षा-६ पढें दाँवामा। त्यसपछि घरै फर्किआएर तीन खोला पारि जाँदा र आउँदा गरी दैनिक पाँच घन्टा हिंडेर एक वर्ष रिमचिम पढें। त्यहाँ कक्षा-७ मात्रै। अनि एक दिनको बाटो दिङ्ला पुगें। जेठादाजु बडहरेमा बसाइँ सरेका थिए। त्यहाँबाट बिहान तीन घन्टा उकालो र फर्किंदा ओरालो भएकोले अलि कम समय हिंडेर अरुण मावि धाउनुपर्‍यो।

बालागुरु षडानन्दले वि.सं. १९३२ मा खोलेको पाठशालामा संस्कृत पढाइ हुने अंग्रेजी नहुने। अंग्रेजीतिर लम्किंदो जनताको रुचिले त्यहीं नजिकै वि.संं. २०२१ मा अरुण इङ्गलिस स्कूल खुल्यो। नयाँ शिक्षा २०२८ लागू भएपछि अरुण साधारण विद्यालय भयो। अरुणमा पढ्नेले मासिकको साथमा विभिन्न शुल्क तिर्नुपथ्र्यो। षडानन्दमा पढ्नेले तिर्नु नपर्ने, टाढाको लागि छात्रवास, पुग्दो धान र पैसा पनि पाउने। द्वन्द्वकालमा माओवादीले संस्कृत विद्यालय देख्नै नसक्ने हुँदाहुँदा बमै पड्काएपछि षडानन्द साधारण विद्यालय भयो।

२०५१ मंसिर पहिलो साता सेन्ट अप परीक्षा दिएर घर आएँ। वर्षभरि मान्छे, पशु, पक्षी सबैलाई पुग्ने गरी नुन जोहो गर्ने सिजन। अलि अलि अलैंची हुन्थ्यो । गाउँले अरूसँगै एक ढाकर अलैंची बोकेर नुन बेसाउन धनकुटाको हिले गएँ । हिलेमा बेच्नलाई जोख्दा अलैंची त्रिचालीस किलो भयो। चालीस किलो ढिके नुन, बाटोमा खाने चामल, चिनी, मसला, बास बस्दा ओढ्ने खास्टो, ओछ्याउने राडी, भाँडाकुडा गरी पचास किलो जति बोकेर घर आइपुग्दा नौ दिन लाग्यो। घरमा भारी बिसाएको भोलिपल्ट दाँवा अन्नपूर्णतिर पढ्ने गाउँलेहरूले सुनाए, “एसएलसीको फारम भर्ने म्याद गइसक्यो।” सेन्ट अप पास गर्नै पर्ने। स्कूलमा सम्पर्क गर्ने कुनै माध्यम छैन । सेन्ट अपको रिजल्ट थाहै छैन। नब्बे विद्यार्थीमध्ये औसतभन्दा तलको म। कुदेर जाउँला, सेन्ट अप फेल भइएको होला। चुप लागेर बसौं मरीतरी भए पनि पास भइएको होला। 

अन्योलकै बीच भोलिपल्ट राति दुई बजेतिर बासीभात नुन खुर्सानीसँग चिसै खाएर दिङ्ला कुँदें। ११ बजे स्कूल पुगें। हेडसर गुरुप्रसाद राईले देख्नासाथ झपारे, “किन ढिलो ? तेरो कारणले फर्म बुझउन लैजान ढिलो हुन लाग्यो। फोटो र पैसा दिइहाल्।” मैले आफू पास भएको बुझें। पैसा थियो, फोटो थिएन। सरलाई भनेर भन्ज्याङको लक्ष्मी फोटो स्टुडियो गई फोटो खिचाएँ, एकै दिन हैन एकै छिनमा निकाल्नुपर्ने हुनाले तेब्बर पैसा लाग्यो । राम्ररी नसुकेका फोटाहरू नङले च्यापेर बडो जतनसाथ हल्लाउँदै स्कूल गएँ। फारम भरिसकिएको थियो, फोटो टाँस्ने र सही गर्ने ठाउँ मात्रै बाँकी रहेछ । अनि हेडसरले ‘अब पास हुने गरी पढ्नु’ भन्दै धाप मारेर बिदा गरे। म बडहरेतिर झ्रिनँ, घरैतिर उकालो लागें। राति १० बजे घर पुगें। भूत–प्रेत-पिशाचहरूलाई मेरो दिमागबाट द्वन्द्वात्मक भौतिकवादको बाछिटाले पखालिइसकेको थियो।

गोठालापात गर्दागर्दै मंसिर गयो। पुस पनि एक चौथाइ बित्यो । एसएलसी तयारी गर्न गएँ । ब्याजीहरू अंग्रेजी र गणितका ट्युसन पढ्दै रहेछन्। अरुण माविमा अंग्रेजी पढाउने हेडसर ट्युसन नपढाउने हुनाले षडानन्दका राजेश सरको डेरा साङराङमा ट्युसनको बजार लागेको रहेछ । पढाउँदै गरेको भीडमा घुसेर मैले आफू पनि ट्युसन पढ्ने कुरा राखें। बिहान साढे ६ बजे आउनु भने। गणितका रामचन्द्र महतो सरले दिउँसो २ बजे आउन भने । बास तीन घन्टाको बाटोमा। दुवै विषय पढ्नलाई कि त डेरै बस्नुपर्ने कि त उपवासी बन्नुपर्ने। अंग्रेजी पढ्ने, गणित नपढ्ने निधो गरें । भोलिपल्टदेखि ट्युसन शुरू भयो। जहिल्यै ढिलो। एचएमटी घडी थियो, त्यहीबेला बिग्रिएको। “पढ्ने भए समयमा आउनु, नत्र नआउनु”, राजेश सरको चेतावनीको भोलिपल्ट राति ब्युँझ्निासाथ टर्च बालेर उकालो लागें । एक घन्टाभन्दा पहिल्यै पुगेछु । जाडो उस्तै । त्यो बिहान पढेपछि ‘लु यसरी पार नलाग्ने’ निष्कर्ष निकालें। एक हप्तामा चूडामणि गौतमका इङ्गलिस ग्रामरका केही पाना राजेश सरको मुखबाट आफ्नो कापीमा टिपेर अंग्रेजीको ट्युसन छोडिदिएँ। गणिततिर लागें । ट्युसन स्कूलमै। जान्ने जान्ने साथीहरू रहेछन्, धेरै अगाडि पुगिसकेका। म नजान्ने, शुरुआतै पछि। फिट्टो बुझ्एिन । तीन दिन पढेर गणित पनि बिट मारें। 


परीक्षा माघमा थियो। परीक्षा केन्द्र आफ्नै स्कूल। अघिल्लो दिन प्रवेशपत्र बाँडियो । सबैलाई मैदानमा उभ्याएर केन्द्राध्यक्षले वरिपरि पुलिस राखेर लामो भाषण, निर्देशन र चेतावनी दिए। परीक्षामा म अफिस भवन माथिल्लो तला उत्तरपश्चिम झयालमा परेको थिएँ। पहिलो दिन अंग्रेजी। मभन्दा दुई बेन्च अगाडिकी छात्राले तिघ्राभरि लेखेर ल्याएकी रहिछिन्। फ्रक पल्टाएर सार्दै गर्दा निरीक्षकले देखेछ। धोएर आउन धारातिर पठाए। आएपछि ढोकैमा उभ्याएर राम्ररी गयो गएन भनेर हेर्न फ्रक उँभो फर्काउन लगाए। छात्रा रातो भइन् तर फ्रक फर्काइनन्। फेरी भेटे सीधै रेस्टिकेट गर्ने चेतावनी दिएर बस्न दिए।

गणितको दिन। तल चौरमा षडानन्दका हेडसर र स्थानीय केही गन्यमान्यहरूसँग घाम ताप्दै सुन्तला खाँदै गरेका केन्द्राध्यक्ष लगायत सबै जना ज¥याकजुरूक उठेर अफिस भवनतिर दौडिएको देखें । मैले लेख्न छोडेर उतै हेरिरहें । प्रहरीको टोली पनि त्यतै दौडियो। होहल्ला भयो। हामीलाई भनियो, “केही भएको छैन, खुरुखुरु लेख्नु ।” परीक्षा सकेर बाहिर निस्केपछि थाहा भयो, पाँच वर्षदेखि निरन्तर फेल हुँदै परीक्षा दिंदै गरेको एक परीक्षार्थीले कम्मरबाट एक हात लामो छुरी झ्किेर डेस्कमा ढ्याम्म गाडेछ अनि धमाधम गेसपेपर गाइडहरू पल्टाउन थालेछ। त्यो कोठाका सबै आतंकित भएछन् । हामीलाई गेटैमा पुलिसले शिर-पाउ खानतलासी लिएका थिए। कोठामा पनि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र पुलिसका हाकिमले बेन्चबाट उठाई उठाई छामेका थिए । सानोभन्दा सानो चिर्कटोसम्म पनि खोसेका थिए। उसले बोकेको त्यत्रो छुरी कसरी उम्कियो ? उसलाई पुलिसले थाना लगेछ। अर्को दिन थाहा भयो, उसको घरमा रातभर भोज चलेपछि बिहानै उसलाई छोडिएछ । ऊ पनि अरूसँगै परीक्षा दिन आयो। सबैले हेरे । त्यही केन्द्रमा २०४० सालको एसएलसीमा प्रहरीको गोलीले एक जनाको ज्यान गएको थियो।

२०५२ को जेठमा साइला दाजुको साउदीमा निधन भएको र लास बुझन घरको मान्छे तुरून्त काठमाडौं आउनु भन्ने चिठी आयो । आमा र म काठमाडौं लाग्यौं । दुई हप्ता बित्दासम्म लास आउने अत्तोपत्तो भएन। हामी कान्छाबाजेको नाति इन्द्रबकस दाजुको जोरपाटीस्थित डेरामा थियौं । बिहान ७ बजेको समाचारमा एसएलसीको नतिजा प्रकाशन भएको समाचार बज्यो। समाचारले मलाई शुरूमा खासै छोएन। हर्ष न विस्मात् ! तर सेन्ट अपमा विषय नलागेको हुनाले पास पो भएँ कि भन्ने पनि लाग्यो, एक छिनपछि। गोरखापत्र हेर्न पत्रिका पसलतिर गएको छिचोलिइनसक्नु भीड थियो। भीड मात्रै हेरेर फर्कें । दिउँसो गएँ, उस्तै भीड । साथै टेलिफोन बुथहरू गाउँतिर ‘पास फेल’ को खबर सुनाउनेले भरिएका थिए । बेलुका भने पत्रिका हेर्ने एक दुई जना मात्रै थिए । मैले आफ्नो सिम्बोल नम्बर थर्ड डिभिजनमा खोजें, भेटिनँ, अनि फर्कें। सोध्ने जतिलाई सुनाएँँ, “फेल भएछु ।” चार दिनपछि क्याम्पस पढ्दै गरेका भतिज लक्ष्मीले सोधे । मैले हेर्नै नपाएको बताएँ । उनले मेरो सिम्बोल नम्बर टिपेर लगे । बेलुका भने, “बाङा (काका) सेकेन्ड डिभिजनमा पास भएछौ ।” उनले च्यातिइसकेका गोरखापत्र पनि ल्याएका थिए । रातो मसीले चिनो लगाएको नम्बर देखाउँदै भने, “बाङाको नम्बर यै हैन ?” गनीगनी हेरेको मेरै नम्बर रहेछ । त्यसपछि म फिस्स हाँसें।

त्यस वर्ष ७९ हजार ५८८ जना मध्ये ४२.९७ प्रतिशत पास भएका थिए । हरेक वर्ष उत्कृष्ट दश जनाको नाम सार्वजनिक गरिन्थ्यो । त्यो वर्ष खारेज गरियो । त्यसैले त्यो वर्ष कोही पनि बोर्ड फस्र्ट भएन । अर्को वर्षबाट उत्कृष्ट एक जनाको मात्रै नाम सार्वजनिक गर्न थालियो। 

वि.सं. १९९० बाट शुरू भएको एसएलसी हाम्रो पालाभन्दा केही वर्ष पछिसम्म सबैथोक थियोः इज्जत, घमन्ड, भविष्य, डर, हीनताबोध, आतंक, आदि आदि । त्यसैले फलामे ढोका भनिन्थ्यो । यसको मतलब फलाम जस्तै कठिन अनि दुईखाले भविष्यको सिमाना। ढोका बाहिर उज्यालो, ढोकाभित्र अँध्यारो। १९९० मा ३३ जनाले फारम भरेका, ३२ जनाले परीक्षा दिएका र १९ जना अर्थात् ५७.५८ प्रतिशत पास भएका थिए। राणा, पञ्चायत र फेरि प्रजातन्त्रसम्म तीन खाले शासन व्यवस्थामा एसएलसी पास हुनेको औसत प्रतिशत अधिकांश ३० भन्दा कम रह्यो। २०४१ सालमा २८.६० प्रतिशत, २०४८ सालमा २४.५६ प्रतिशत, २०५८ मा ३१.६२ प्रतिशत, यस्तै।

स्कूलहरूको उद्देश्य धेरै पास गराउने थिएन, नील कटाउने थियो। हरेक वर्षको नतिजा पछि नील खाने स्कूलहरूको नाम सबैभन्दा पहिला सुनिन्थ्यो अनि दोस्रोेमा कहाँको कसले कति वर्षपछि भन्ने। त्यसैले धेरै वर्षसम्म निरन्तर परीक्षा दिनेहरू थुप्रै भेटिन्थे। एसएलसीको अघिपछि अनेक जोकहरू र जोक जस्तै लाग्ने घटनाहरू सुनिन्थे। जस्तै, १) दश वर्षसम्म खुरुखुरु फेल भए राजाले सुनको तक्मा दिन्छ। तक्मामा गधाको चित्र हुन्छ। त्यसको मतलब पढेर नखाने भइस् अब गधा जस्तो भारी बोकेर खानु । २) एउटाले दौराको भित्री फेरभरि लेखेर ल्याएको रहेछ। गार्डले देखेपछि केन्द्राध्यक्षलाई सुनाएछ।

केन्द्राध्यक्षले पियनलाई दमाईलाई कैंची लिएर आउन भन्न पठाएछ। दमाईलाई दौराको फेर काट्न लगाएछ । लुगा प्रशस्त नपाइने जमानाको नयाँ दौरा भुसक्कै ! ३) एक जना पुराना अन्डर एसएलसी शिक्षक परेको कोठामा निरीक्षक आफैंले एक दुई कक्षामा पढाएको विद्यार्थी परेको रहेछ। विद्यार्थी र सरको शिष्टाचार आदानप्रदान पछि सरले भनेछन्, “मलाई सिकाउ है !” विद्यार्थीले परीक्षा कोठामै लेख्दै चिट दिएछ। कुनैमा अलि अलि उत्तर पनि, धेरैमा गाली र मनपरी लेखेर दिंदो रहेछ । एउटामा लेखेछ– “तैंले मलाई सानोमा कुटेको बिर्सेको छुइनँ। बाहिर भेटें भनें तँलाई कुट्छु।” अन्तिम घन्टी लागेर निस्किंदा सरले भनेछ, “तिमीले दिएको सबै चिट सारै राम्ररी सारें। यसचोटि चैं पास हुन्छु होला।” विद्यार्थीले सोधेछ, “सबै सार्न सक्नुभयो ?” सरले जवाफ दिएछ, “सप्पै सारें नि ! तिमी हुनाले मलाई आज त कुनै डरै लागेन।” ४) यता केही गर्दा पनि एसएलसी पास गर्न सकिएन भने वीरपुर (कोशी ब्यारेजदेखि पाँच किलोमिटर दक्षिणको भारतीय बजार) जानुपर्छ। त्यहाँ बोरा–बोरामा फस्र्ट डिभिजनको मार्कशिट,  सर्टिफिकेट र स्कूलहरूको छाप हुन्छ । पैसा तिरेर छानीछानी ल्याउन पाइन्छ, आदि।

एसएलसी पास गरेपछि धनकुटा क्याम्पस पढ्दा आफ्ना गाउँले भए ती बाहेक सबै नौला हुन्थे । हात मिलाएर परिचय गर्नुपर्ने । हात मिलाएर गरेको परिचय कति आफूले बिर्सिने, कति साथीले बिर्सिने। एउटैसँग पनि पटक–पटक परिचय हुने, भोट माग्ने उम्मेदवार जस्तै। परिचय गर्दा एकजनाले भनेछ, “म फलाना ४१८।” अर्कोले सोधेछ, “हैन क्या हो ४१८ भनेको ?” उसले भनेछ, “एसएलसीमा मैले ल्याएको नम्बर। दुई नम्बरले फस्र्ट डिभिजन नपुगेको।” अर्कोले भनेछ, “ए ! मेरो त झ्न् ४१९। एक नम्बरले फस्र्ट डिभिजन नपुगेको ।” त्यसबेला सात विषयको जम्मा पूर्णाङ्क ७०० थियो। ७०० को ६० प्रतिशत ४२० लाई फस्र्ट डिभिजन । दुवै जनालाई २ र १ अंकले फस्र्ट डिभिजन नपुगेकोमा पीडा थियो । फस्र्ट डिभिजन ल्याउनेलाई उसको चालढालबाटै चिनिन्थ्यो, लब्धाङ्कपत्र हेर्नै नपर्ने । फूर्तिफार्ती बेग्लै हुन्थ्यो। ८० प्रतिशत माथिलाई विशिष्ट श्रेणी कायम भएपछि फस्र्ट डिभिजनको फूर्तिफार्ती पनि सर्‍यो।


आफूले एसएलसी दिएको १५ वर्षपछि एसएलसीमा भएको परिवर्तन देख्न पाएँ । अन्नपूर्ण माविमा उच्च मावि शिक्षक भएर गएको वर्ष। आफ्नै स्कूलमा परीक्षा केन्द्र। वरिपरिका स्कूलहरूबाट परीक्षा दिन आएका विद्यार्थीहरू तीन दिन अघिबाट हुल लागेर दिनभरि कोही चुरोटको धुवाँ उडाउँदै, कोही जाँडरक्सीले मातेर हल्लिंदै, कोही गाली शब्दहरू बोल्दै, होहल्ला गर्दै वल्लो चोक र पल्लो चोक, तल र माथि गरिरहेका थिए। परीक्षा शुरू भएको दिन हरेक स्कूलका विषय शिक्षक केन्द्र आसपासका घर र जङ्गलमा कापी, कलम, कार्बन पेपर, पाठ्यपुस्तक, गेसपेपर र गाइडहरू लिएर अड्डा जमाएका थिए। परीक्षार्थीका सहयोगी र  शुभेच्छुकको बजार लागेको थियो। बाहिरकाहरू हातमा पोको बोकेर परीक्षा कोठासम्मै पुग्न, फर्किन सकिरहेका थिए । पुलिस र परीक्षार्थीका शुभेच्छुकको ‘हाइड एन्ड सिक’ रमाइलो थियो। तर पुलिस हारिरहेको थियो।

२०७३ मा एसएलसीलाई एसईई नामकरण गरियो। नतिजाको अंक पद्धति साटो अक्षरांकन पद्धति लागू गरियो। अक्षरांकन भनेको के हो भन्ने प्रश्नको जवाफभन्दा पहिले ‘अब कोही फेल हुँदैन’ भन्ने भाष्य बताससरी आइपुग्यो। सेन्ट अप त पहिल्यै खारेज भइसकेको थियो। हरेक विषयमा २५ प्रतिशत आन्तरिक परीक्षा गणित बाहेक सबैमा पुगेको थियो । सैद्धान्तिकमा शून्य आसपास ल्याउनेले पनि प्रयोगात्मकमा पूर्णाङ्क वरिपरि पाउँछ। अक्षरांकन चिडियाखानाका जंगली जनावरलाई दिइने ‘इजी फुड’ जस्तै बनेर आयो । विद्यार्थीमा ‘फेलै भइँदैन भने किन पढ्ने’ भावना जाग्यो। कार्यान्वयनमा सरकारी निकायहरूबीच समन्वयको अभाव भयो जसको कारण सरकारले दिएको ग्रेडसिट र प्रमाणपत्र बोकेर जाँदा सरकारी उच्च शिक्षा प्रदायक र सरकारी रोजगारदाताहरूले नै फेल भनेर फर्काउने क्रम अक्षराङ्कन लागू भएको दोस्रो, तेस्रो वर्षसम्मै जारी रह्यो । कार्यान्वयनमा सरकार अस्थिर रह्यो । त्यसको मापदण्ड फेरेको फेर्‍यै गर्छ सरकार। समग्र विषयगत ग्रेड मान्य हुने कुरा कहिले आउँछ कहिले सैद्धान्तिकको मात्रै हुने। यसो बुझन खोज्यो, बुझें जस्तो हुन्छ अर्कै मापदण्ड आइपुग्छ। अहिले आएर अक्षराङ्कन चैं कायमै राख्ने तर ३५ प्रतिशत अंक नल्याउनेलाई प्रमाणपत्र नदिनेमा पुगेको छ सरकार तर ३५ प्रतिशत अंक नल्याउनेले प्रमाणपत्र नपाए पनि फेल चैं हैन नै भन्छ सरकार। अनि एसईई नतिजा पछि आफ्ना विद्यार्थी, छोराछोरी र आफन्तको बारेमा ‘फलानाले ३.७ ल्याएर ए–प्लस ल्याएकोमा बधाई’ खाले शिक्षकका स्टाटसहरू सामाजिक सञ्जालमा देखिनुले अधिकांश शिक्षक स्वयम् अक्षराङ्कन बारे ठूलो भ्रममा रहेको देखाउँछ। 
(वाणी मावि, सिधराहा, मोरङ।)

शिक्षक मासिक। 

santi nikunja