मणिलाल विश्वकर्मा

लहान, २९ बैशाख। बुढ्यौली उमेरमा लौरो टेकेर हिँड्ने श्रीमानलाई लिएर करिब दुई महिनासम्म वडा कार्यालय, जिल्ला प्रशासन कार्यालयको चक्कर काट्दाकाट्दै थाकिसकेकी ६४ वर्षकी वृद्धा नागरिकता पाएपछि दंग परेकी छिन्।

गाडी चढ्ने भाडासमेत नहुँदा श्रीमानको सहयोगमा गाउँदेखि करिब ४५ किलोमिटर दूरीमा पर्ने धनुषाको हंसपुर– ३ कठपुल्ला गाउँमा रहेको माइती गाउँमा जन्म प्रमाणित सिफारिस ल्याएर सिराहा जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा कैयौँ पटकको प्रयासमा बुधबार नागरिकता बन्दा वृद्धासँगै उनका श्रीमान् पनि हर्षविभोर बने।

सिराहाको मिर्चैया नगरपालिका– १२ सिक्रौन गाउँकी प्रमिलाकुमारी कापडी ६४ वर्षको उमेरमा नेपाली नागरिकता पाएपछि खुसीले दंग परिन्। ‘नागरिकता बनेपछि कम्तीमा सामाजिक सुरक्षा भत्ता पाउने आधार त  भयो,’ उनले भनिन्, ‘श्रीमान–श्रीमतीको भत्ताले जीविका धान्न सहज हुने भयो।’

आर्थिक रूपमा विपन्न कापडीदम्पती बुढ्यौली उमेरको कारणले पनि बोलाएको वेला आवश्यक कागजात लिएर प्रशासनमा पुग्न नसकेपछि आफैँले धनुषा जिल्ला प्रशासन पुगेर वृद्धाको बाबुआमाको नागरिकताको अभिलेख भिडाएपछि बुधबार सिराहाबाट नागरिकता बनेको छिमेकीसमेत रहेका मिर्चैया नगरपालिकामा रेमी परियोजनामा रोजगार परामर्शदाताको रूपमा कार्यरत युवराज यादवले बताए।

‘वृद्धवृद्धासँग गाडी भाडा तिर्ने रकमसमेत नहुँदा आफ्नै खर्चमा जनकपुर र सिराहा पुर्‍याएँ,’ उनले भने, ‘वृद्धाका श्रीमान् करिब ७२ वर्षीय दसैया कापरको नागरिकताको प्रतिलिपिसहित सनाखत, वडा कार्यालयको नागरिकताको सिफारिस, माइती गाउँको वडाबाट ल्याइएको जन्म प्रमाणित सिफारिसलगायतका कागजात प्रमाणित गराइएपछि बल्लतल्ल नागरिकता बनाउन सकियो।’

प्रायः सबैले आफूलाई जन्म दिने आमालाई नयाँ कपडा, मिठो परिकार खुवाएर सम्मान गरिरहेको मातातीर्थ औँसीकै दिन आफूले बेसहारा आमालाई नागरिकको परिचय दिलाउन सकेकोमा खुसी महसुस भएको उनले बताए।

२९ फागुन ०८० मा वडाबाट नागरिकताको सिफारिस गरिएकी वृद्धाको उमेर बढी भएकाले जिल्ला प्रशासनले प्रहरीमार्फत छानबिन गरी सर्जमिन मुचुल्का उठाउनुपर्दा केही ढिलाइ भएको हुन सक्ने मिर्चैया– १२ सिक्रौनका वडासचिव दीपनारायण साहले बताए।

‘केही ढिलै भए पनि नागरिकता बन्नु नै ठूलो कुरा हो,’ उनले भने। दसैयाकी कान्छी श्रीमतीको रूपमा रहेकी वृद्धाको छोराछोरी नजन्मिएको र जेठीपट्टिका चार छोरीहरू विवाह भएर आ–आफ्नो घर सम्हालेर बसिरहेकाले वृद्धवृद्धा मजदुरी गरेर जीविका चलाउँदै आएको गाउँलेहरू बताउँछन्।