डेढ खर्बभन्दा बढी कर्जा लगानी नउठेपछि बैंकहरू तनावमा

    • असार ६, २०८०
    • ४७० पटक पढिएको
    • गमक पाेस्ट
    alt


    काठमाडौँ । लगानी गरेको पैसा नउठ्दा बैंक तथा वित्तीय संस्था तनावमा छन् । केन्द्रीय बैंकको पछिल्लो तथ्याङक अनुसार बैंकहरूले गरेको कुल कर्जा लगानीको ३.३४ प्रतिशत खराब कर्जा अर्थात् नन्पर्फमिङ लोन (एनपिएल) मा परिणत भएका छन् ।

    केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २१ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६३ वटा माइक्रोफाइनान्स र एउटा पूर्वाधार विकास बैंक गरी कुल ११९ वित्तीय संस्थाहरूको कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रुपैयाँ माथि पुगेको छ । त्यसमध्ये बैंकहरूको एनपिएल दर औसत ३.३४ प्रतिशत अर्थात् १ खर्ब ६३ अर्ब रुपैयाँ हारहारी पुगेको छ । अघिल्लो वर्षको तुलनामा यस्तो खराबर कर्जाको दर दोब्बर अङ्कले नै बढेको हो ।

    यद्यपि सोही अवधिमा यता बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने १० अर्बभन्दा बढीले घट्न पुगेको छ । आर्थिक वर्ष २०७९–८० को वैशाख मसान्तसम्म ५४ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गरेर ४८ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्था (बिएफआई) ले यस वर्षको सोही अवधिमा ५४ खर्ब ९५ अर्ब निक्षेप सङ्कलन गरेर ४८ खर्ब ७९ अर्ब रुपैयाँ लगानी गरेका छन् । एक वर्षमा १० अर्ब रुपैयाँले निक्षेप बढ्दै गर्दा यता सोही बराबरको लगानी घट्नुले बैंकहरूको व्यवसायमा चिन्ता थपेको छ । यसले बजारमा लगानीको वातावरण नभएको मात्र नभई पछिल्लो समय बैंकमाथिको जनविश्वास, प्रतिफलको सुनिश्चितता र ब्याजदरको नकारात्मक प्रभावलाई समेत लिन सकिन्छ ।

    उसो त पछिल्लो समय बैंकको खराब कर्जाको दर बढ्दै गर्दा यता लगानी समेत खुम्चिँदा बैंकहरूको व्यवसाय, भविष्य (प्रतिफल) माथि नै सङ्कट देखा परेको नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुङ्गानाले बताए ।


    ‘बैंकहरूले यति कमाए, उति कमाए भनेर ओ हो !... भन्ने चलन छ । वास्तमा बैंकहरू पीडा छन् । दिनानुदिन घट्दो अवस्थामा रहेको प्रतिफलकै कारण बैंकप्रति लगानीकर्ताहरूको आकर्षण घट्दै गइरहेको छ’ ढुङ्गानाले भने, ‘पछिल्लो समय धमाधम बैंकरहरू प्रमोटर सेयर बेचेर बाहिरिरहनु यसैको कारण हो ।’

    बैंकहरूमाथि जबरजस्ती लगानीको क्षेत्र निर्धारण गरिदिँदा समस्या आएको तर्क गर्दै ढुङ्गानाले भने, ‘बैंकहरूको लगानी नउठ्नुमा केन्द्रीय बैंकको नीति पनि कहीँ न कहीँ जिम्मेवार छ । प्राथमिकताको क्षेत्र तोकेर फलानो क्षेत्रमा अनिवार्य यति लगानी गर, नत्र... भनियो । बैंकहरूले ठुलो लगानी कृषिमा हाले अहिले त्यहीँ लगानी फसेको छ,’ ढुङ्गानाले भने ।

    आर्थिक मन्दीको प्रभाव उत्पादनमूलक क्षेत्र कृषि, ऊर्जा, पर्यटन तथा एसएमइज् क्षेत्रमा नै गरिएको लगानी नउठ्दा समस्या आएको उनको भनाइ छ ।

    केन्द्रीय बैंकका अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले गरेको कर्जा लगानीमध्ये सबैभन्दा बढी खराब कर्जा फाइनान्स कम्पनीहरूको छ । समीक्षा अवधिमा यी कम्पनीहरूले ९२ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्दा ७ अर्ब ५१ करोड रुपैयाँ (८.१९ प्रतिशत) खराब कर्जामा दर्ज भएका छन् ।

    यसै गरी विकास बैंकहरूको ४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कर्जा लगानीमा १५ अर्ब ६४ करोड अर्थात् ३.४० प्रतिशत लगानी खराब कर्जामा रूपान्तरण भएको छ भने यसै अवधिमा ४२ खर्ब ९८ अर्ब रुपैयाँ माथिको कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको खराब कर्जा १ खर्ब ३८ अर्ब रुपैयाँ (३.२३ प्रतिशत) माथि पुगेको छ ।

    यस्तो खराब कर्जा असुलीमा धितो (कोल्याटर) लिलामी गर्न खोज्दासमेत गाकी (खरिदकर्ता) पाउन नसकेपछि बैंकहरू समस्यामा परेका छन् ।

    कहाँ जाँदैछ बैंकको पैसा ?

    केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको अधिक कर्जा लगानी होलसेल तथा रिटेल व्यवसायको क्षेत्रमा गएको छ । समीक्षा अवधिमा कुल लगानीको झन्डै २३ प्रतिशत अर्थात् ९ खर्ब ८२ अर्बभन्दा बढी कर्जा लगानी यो क्षेत्रमा गएको देखिन्छ । आर्थिक शिथिलताका बिच उपभोग्य बजार नै समस्यामा फसेका बेला यही क्षेत्रको दबाब अझ बढी बैङ्किङ क्षेत्रमा परेको देखिन्छ । यद्यपि अघिल्लो वर्षको तुलनामा बैंकहरूले यो क्षेत्रमा ०.४७ प्रतिशतले कर्जा घटाएको देखिन्छ ।

    यस्तै घरायसी प्रयोजन (कन्जम्सन) कर्जामा कुल कर्जाको १८.६९ प्रतिशत अर्थात् ९ खर्ब १२ अर्ब रुपैयाँ बढी प्रवाह भएको छ । यसले पनि खराब कर्जाको दर बढाउन मद्दत गरेको देखिन्छ ।

    अर्कोतर्फ बैंकर्सहरूले आरोप नै लगाएको प्राथमिकता प्राप्त क्षेत्र कृषिमा यस अवधिमा १० खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी लगानी गएको देखिन्छ । आर्थिक मन्दीका बिच यही क्षेत्रमा गएको अधिकांश कर्जा फिर्ता नहुँदा समस्या आएको सिइओ ढुङ्गानाको भनाइ छ ।

    यस्तै समीक्षा अवधिमा ऊर्जा तथा जलस्रोतको क्षेत्रमा २ खर्ब ९१ अर्ब रुपैयाँ, बैंक, वित्त, बिमा तथा रियल स्टेट क्षेत्रमा ३ खर्ब ५१ अर्ब रुपैयाँ, होटल तथा रेस्टुरेन्टको क्षेत्रमा २ खर्ब ६ अर्ब रुपैयाँ, कन्ट्रक्सन (निर्माण) क्षेत्रमा २ खर्ब ८ अर्ब रुपैयाँ र यातायात तथा सञ्चारको क्षेत्रमा ९८ अर्ब रुपैयाँ बराबरको लगानी भएको केन्द्रीय बैंकले जनाएको छ ।

    घरजग्गा, गाडी र सेयर धितोतर्फको कर्जा घट्यो

    तर यसै अवधिमा यता हायर पर्चेज लोन अर्थात् घरजग्गा तथा सवारी साधनतर्फको बैंकहरूको कर्जा लगानी भने २ प्रतिशतभन्दा माथिले घट्न पुगेको छ । केन्द्रीय बैंकका अनुसार वैशाख मसान्तसम्म हायर पर्चेज लोन शीर्षकमा जम्मा ३६ अर्ब ५५ करोड रुपैयाँ बराबरको मात्र लगानी भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यो शीर्षकमा ३७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कर्जा लगानी भएको थियो ।

    यसैगरी समीक्षा अवधिमा सेयर धितो कर्जा अर्थात् मार्जिन प्रकृतिको कर्जा लगानीमा समेत ०.८९ प्रतिशतले गिरावट आएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको वैशाख मसान्तसम्म सेयर धितोकर्जामा ३७ अर्ब ६४ करोड रुपैयाँ बराबरको लगानी भएकोमा यस वर्ष ३७ अर्ब ३१ करोड रुपैयाँ लगानी भएको छ । खासगरी सेयर धितो कर्जामा राष्ट्र बैंकको १२ करोडको नीतिका कारण यो क्षेत्र प्रभावित भएको लगानीकर्ताहरूको आरोप छ ।

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल