- संजीव गिरी
यसै महिना सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गर्ने विषयमा अधिकांश वायुसेवा सञ्चालकहरू अझै टुङ्गोमा पुग्न नसकेको अधिकारीहरूले बताएका छन्।
जजीराले सातै दिन विमान उडाउने योजना पनि बनाएको अधिकारीहरू बताउँछन्।
तर त्यसबाहेक अन्य वायुसेवा सञ्चालकहरू भने अझै "पर्ख र हेर" कै रणनीतिमा छन्।
एशियाली विकास ब्याङ्कको ऋण एवम् ओपेक फन्ड र नेपाल सरकार सहितको लगानीमा करिब साढे नौ अर्ब रुपैयाँ खर्च गरेर उक्त विमानस्थल निर्माण गरिएको हो।
के छ अवस्था?
अधिकारीहरूका अनुसार भैरहवास्थित विमानस्थलबाट सेवा सुरु गर्न वायुसेवा सञ्चालकहरू इच्छुक रहे पनि त्यसबारे सम्झौता हुन सकेको छैन।
जजीराबाहेक एअर अरेबियाले जुन १५ तारिखको छेकोमा उडान सुरु गर्ने योजना बनाएको जनाएको थियो।
तर औपचारिक रूपमा उसले उडान सञ्चालनको प्रक्रिया अघि बढाइसकेको छैन।
फ्लाइ दुबई र सलाम एअरले पनि उडानका लागि चासो व्यक्त गरेको भए पनि प्रारम्भिक छलफल धेरै अघि बढ्न सकेको छैन।
विदेशी कम्पनी र नेपालकै निजी क्षेत्रले प्रवर्धन गरेको कम्पनी मात्रै नभएर अहिलेसम्म नेपाल वायुसेवा निगमले समेत भैरहवाबाट उडान थाल्ने विषयमा ठोस पहल सुरु गरेको छैन।
सहप्रवक्ता ज्ञानबहादुर अर्यालका अनुसार भैरहवाबाट उडान सुरु गर्नका लागि निगमले अहिले खाका तयार पार्ने प्रक्रिया सुरु गर्न लागेको छ।
अहिले राष्ट्रिय ध्वजावाहकले चार विमानमार्फत् आठ देशका १० वटा गन्तव्यमा उडान गरिरहेको छ।
निगमका विमानले यी गन्तव्यमा सातामा झन्डै १०० उडान गर्दै आएका छन्।
"पर्यटकीय दृष्टिकोणबाट हेर्दा बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्त्व बोकेका ठाउँ भएकाले जापान, थाईल्यान्डजस्ता स्थानका केही उडानलाई भैरहवाबाट गर्ने कि भन्ने सामान्य छलफलको तहमा छ," अर्यालले भने।
"श्रम गन्तव्यका लागि पनि त्यो पायक पर्ने ठाउँ नै हो।''
हाल निगमका विमानले ब्याङ्ककमा साताको पाँच अनि जापानमा तीनवटा उडान गर्दै आएका छन्।
नयाँ विमानस्थलमा कम्पनीहरूलाई आकर्षण गर्नका लागि सरकारले विभिन्न छुटको समेत व्यवस्था गरेको छ।
तर त्यसले पनि सेवा प्रदायकहरूलाई औपचारिक प्रक्रिया अघि बढाउनका लागि प्रेरित भने गर्न सकेको छैन।
के छन् सुविधा?
अधिकारीहरूका अनुसार भैरहवाबाट उडान गर्दा एअरलाइन्सले प्रतिउडान १,००,००० रुपैयाँ सम्मको छुट प्राप्त गरेका छन्।
सरकारले उपलब्ध गराएको सहुलियत अनि उडान प्रवर्धन गर्नका लागि जजीराले यात्रुलाई उपलब्ध गराएको छुटका कारण हाल भैरहवा विमानस्थलबाट कुवेतको हवाईयात्रा गर्दा काठमाण्डूभन्दा झन्डै ८,००० रुपैयाँ सस्तो परेको अधिकारीहरू बताउँछन्।
त्यसले कुवेत हुँदै जजीराले उडान भर्ने ४५ वटा गन्तव्यमा जाने यात्रुहरू लाभान्वित भएका छन्।
जजीरा एअरलाइन्सबाट भैरहवा-कुवेत उडानमा पछिल्ला केही दिनमा औसतमा १५० यात्रु र कुवेत-भैरहवा उडानमा ११५ को हाराहारीमा यात्रु रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।
नयाँ विमानस्थलका लागि उक्त सङ्ख्या उत्साहजनक रहेको बताइन्छ।
तर उक्त सङ्ख्या र थप उडान गर्ने जजीराको योजनाकै भरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बजार आकलन गर्न सकिने अवस्था भने नरहेको निगमका अधिकारीहरूको भनाइ छ।
"निगमले ग्राउन्ड ह्यान्ड्लिङमार्फत् आफ्नो उपस्थिति जनाइसकेको छ। हाम्रो कार्यालय, टोली त्यहाँ छ। तर उडानकै विषयमा भने उच्च नेतृत्वले निर्णय लिन बाँकी नै छ," अर्यालले भने।
अधिकारीहरूका अनुसार अहिले तौलका हिसाबले न्यारो बडी विमानलाई ल्यान्डिङ शुल्क, पार्किङ शुल्क, कम्युनिकेशन एन्ड न्याभिगेशन शुल्क र सेक्युरिटी शुल्क शतप्रतिशत छुट दिइएको छ।
"नयाँ विमानस्थल सेवा शुल्क नियमावली २०७८ गत जेठ १४ देखि लागु भएको छ। त्यसकारण उक्त मितिबाट एक वर्षसम्म वायुसेवा सञ्चालकहरूले छुट पाउने छन्," साहले भने।
सरकारले उपलब्ध गराएको छुट अझै बढ्न सक्ने आकलनका कारण पनि कतिपय वायुसेवा कम्पनीले अहिले नै सेवा सुरु गर्न नचाहेको हुन सक्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरू बताउँछन्।
जजीराले समेत उडानमा घाटा बेहोरिरहेको भन्दै ग्राउन्ड ह्यान्ड्लिङमार्फत् नेपाल वायुसेवा निगमले उठाउँदै आएको शुल्कमा छुटको आवश्यकता औँल्याएको बताइन्छ।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्ण भने हवाईसेवा सञ्चालकहरू त्यस्तो अपेक्षाकै कारण रोकिएको ठान्दैनन्।
उनी भन्छन्, "उनीहरूको लागि यो रकम नगण्य हो। बजार भएपछि जहाँ पनि जान्छ, जस्तो सुकैमा पनि जान्छ।"
कारण के हुन्?
वायुसेवा सञ्चालकहरूले भैरहवास्थित नयाँ विमानस्थलमा धेरै चासो नदेखाउनुको एउटा कारण काठमाण्डूबाटै सहज रूपमा यात्रु पाउनु पनि रहेको अधिकारीहरू बताउँछन्।
त्यसबाहेक नयाँ गन्तव्यबाट उडान थाल्न थुप्रै प्राविधिक पक्ष पनि छिचोल्नुपर्ने हुन्छ।
कुनै पनि विमान सञ्चालकले उडान सुरु गर्नका लागि एअर सर्भिस अग्रीमन्ट (एएसए) आवश्यक हुन्छ।
नयाँ विमानस्थल भएकोले हाल नेपालसँग अन्य राष्ट्रले गरेको एएसएमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समावेश छैन।
"यो नेपालको इच्छाले मात्रै हुने कुरा होइन। द्विपक्षीय विषय भएकाले अब हुने संशोधनहरू अनुसार बढ्दै जान्छ," प्राधिकरणका प्रवक्ता कर्णले भने।
एएसएमा विमानस्थल थप नभएसम्म भारत सहितका कैयौँ गन्तव्यमा भैरहवाबाट उडान गर्न नसकिने अवस्था रहेको उनी बताउँछन्।
विद्यमान प्रावधानअनुरूप यूएईका विमानस्थलहरूले भने उडान थाल्न सक्ने अवस्था रहेको सरकारी भनाइ छ।
तर वायुसेवा सञ्चालकहरूले गन्तव्य, बजार र विमान सङ्ख्याको अध्ययन गरिरहेकाले उडान सुरु हुन नसकेको हुनसक्ने अनुमान कर्णको छ।
त्यस्तै जहाजको फ्लाइट म्यानेज्मन्ट सिस्टममा नयाँ विमानस्थलको सिस्टम हाल्नुपर्ने प्रक्रिया पनि पार गर्नुपर्ने हुन्छ।
त्यसबाहेक वायुसेवा सञ्चालकहरूसँग रहेका विमान सङ्ख्याले पनि नयाँ गन्तव्यबाट उडान थाल्ने विषयको निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्छ।
अन्तर्राष्ट्रिय रूपमा कोभिड महामारी सुरु भएपश्चात् नेपालमा आउने कतिपय विमानको सेवा प्रभावित भएकोले पनि नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा अपेक्षाकृत रूपमा वायुसेवा सञ्चालकहरूको ध्यानाकर्षित हुन नसकेको अधिकारीहरू बताउँछन्।
अहिले धेरै मानिसको आवतजावत हुने कोरिया र चीनजस्ता गन्तव्यमा हवाईसेवाको सहज उपलब्धता नरहेको बताइन्छ।
श्रमिकहरू काठमाण्डू पुग्नैपर्ने बाध्यताले पारेको समस्या
साहका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल दोहोर्याएर विदेश जान चाहनेहरूले मात्रै उडान गर्न पाइरहेका छन्। यो नयाँ विमानस्थलमा वायुसेवा प्रदायकहरूले चासो नदेखाउनुको कारण त्यो पनि एउटा रहेको जानकारहरूको बुझाइ छ।
"श्रम स्वीकृति लिएर पहिलो पटक विदेश जान चाहना भएका मानिसहरूले जान पाइरहेका छैनन्," उनले भने।
केही समयअघि श्रममन्त्रीले मन्त्रालयको कार्यालय असार १ गतेबाट भैरहवामा खोल्ने वाचा गरेका छन्। त्यसो भएमा वायुसेवा सञ्चालक पनि आकर्षित हुने अधिकारीहरूले अपेक्षा गरेका छन्।
हाल अनलाइन सेवामार्फत् नै श्रमस्वीकृति लिन सकिने हुँदा सर्वसाधारणहरू काठमाण्डू पुग्नुपर्ने बाध्यता छैन।
तर पनि विविध कारणले मध्यपूर्व लगायतका गन्तव्यमा श्रमका लागि जान चाहने सर्वसाधारण काठमाण्डू पुग्नैपर्ने अवस्था छ।
अहिले देशमा ८६० वटा म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभागमा दर्ता रहेकामा झन्डै ९५ प्रतिशत काठमाण्डूमा केन्द्रित रहेको अधिकारीहरू बताउँछन्।
त्यस्तै स्वास्थ्य परीक्षण गर्ने अधिकांश केन्द्रहरू पनि काठमाण्डूमै छन्।
"अभिमुखीकरण कार्यक्रम नगरी विदेश जान नपाइने नियम छ। त्यो हाल काठमाण्डूमा मात्रै हुन्छ। त्यो पनि प्रदेशमा गर्नुपर्ने हुन्छ। परीक्षार्थीको बायोमेट्रिक हस्ताक्षर हाम्रो प्रणालीसँग लिङ्क हुन्छ," श्रमिकले काठमाण्डू नआई सुविधा प्राप्त गर्ने अवस्था सिर्जना गर्न यस्ता विभिन्न पाटामा काम गर्न जरुरी रहेको र त्यसतर्फ आफूहरू केन्द्रित रहेको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता थानेश्वर भुसालले भने। बीबीसीनेपालीसेवाबाट।