नवराज रिजाल
हरेक व्यक्तिको जीवनमा ऊ बाँचेको समाज वा पारिवारिक अगुवाका सोच, चिन्तन, विचार र दृष्टिकोणको स्पष्ट छाप रहन्छ । अग्रजले आत्मसात् गरेका बाटोबाटै घरपरिवार वा समाजका अन्य सदस्य पाइला अगाडि बढाउँछन् । सुझाव, सल्लाह, परामर्श र विश्वास बोकेर गन्तव्य छोट्याउँछन् ।
उनीहरूलाई आत्मसात् गर्दा हिँड्न सहज, सफ्ठेरो र सरल पनि हुन्छ । आफैँ बाटो बनाएर हिँड्नेभन्दा अरूलाई आदर्श मानेर हिँड्नेको सङ्ख्या हाम्रोमा मात्र हैन, संसारका हरेक समाजमा हुन्छ । अगुवाका छनोट दूरदर्शी, परिपक्व र अग्रगामी भए पछाडि लाग्नेहरू निश्चित स्थानसम्म सहजै पुग्छन् । गन्तव्य पुगेपछि मात्र सकारात्मक यथार्थको बोध हुन्छ । अन्यथा ती बीचैमा अलमलिनुपर्छ । अलमलिनुको अर्थ गन्तव्य पुग्न नसक्नु वा जीवनको वास्तविकता नभेट्टाउनु हो ।
उद्देश्य र लक्ष्य नबोकी हिँड्दैमा मात्र गन्तव्य भेट्न सकिँदैन । त्यसरी हिँड्नेहरू बाटोमा कति अलपत्र परेका भेटिन्छन् कति । त्यस्ताहरू आज मात्र हैन, अस्ति र हिजैदेखि त्यही अवस्थामा छन् । हिँड्ने काम कहिल्यै सकिँदैन, निरन्तर चलिरहन्छ । लक्ष्यमा पुग्न सही अगुवाको आवश्यकता पर्छ । बाटो जान्ने जानकारको पछाडि लाग्न सकिएमात्र आजलाई आँखामा राखेर भोलि अनि पर्सिको उपयुक्त योजना बनाउन सकिन्छ । अन्यथा त्यो सम्भव छैन । उपयुक्त योजना, सोच, चिन्तन, दृष्टिकोण तथा भविश्यद्रष्टा अगुवा पाएकामात्र आजसम्म अगाडि पुगेका हुन् ।
परिवार मुली वा समाज अगुवाका छनोट उपयुक्त नभए पछ्याउनेले सधैँ विफलता भोगिरहनुपर्छ । यसका निम्ति एक जुनी पनि अपुग हुन सक्छ । अर्थात् सपना केवल सपनाका रूपमा मात्र रहन्छन् । ती कहिल्यै विपनामा परिणत हुन सक्दैनन् । यस्ता उदाहरण खोज्दै जाने हो भने संसारैभर मनग्गे भेटिन्छन् ।
इतिहास पल्टाउँदा अगुवाका अदूरदर्शी चिन्तन र सोचका कारण कैयौँ परिवार, समाज र देश विघटनमा परेका उदाहरण भेट्न सकिन्छ । ती आफूमात्र डुबेका छैनन्, अरूलाई पनि उठ्नै नसक्नेगरी डुबाएका छन् । यसर्थ, सही अगुवाको छनोट नै आजको आवश्यकता हो ।
यसो भनौँ– परिवार, समाज वा देश सबै प्रगतिको मियो अगुवा नै हो । संसारले गरेका प्रगति, उन्नति र विकासमा उनीहरूकै हात र साथ छ । इतिहास आत्मसात् गर्दै वर्तमान पढेर भविष्यको योजना बनाएकै कारण परिवर्तन सम्भव भएका हुन् । यस्ता सम्भावना हरेक कालखण्डमा देख्न र बुझ्न पाइन्छ । मूलतः यी सबैको जगमा सकारात्मक सोचको ठूलो भूमिका छ । त्यसले बाटो देखाउँदै गन्तव्यमा पुग्न प्रेरित गर्छ । जबसम्म मनमा, चिन्तनमा, विचारमा, विश्वासमा र अठोटमा यसको विकास हुँदैन तबसम्म यता कसैको ध्यान जाँदैन । सकारात्मक बन्न नसक्नेहरू जीवनका कुनै पनि क्षण वा पलमा सुखी र खुसी भएर रम्न रमाउन पनि सक्दैनन् ।
मानवजीवनका हरेक कर्मका अगाडि सकारात्मक सोचको ठूलो भूमिका रहन्छ । त्यस्ता सोचले गरिएका काम युगौँयुगसम्म जीवन्त हुन्छन् । नकारात्मक सोच वा चिन्तन बोकेर गरिएका काम कहिल्यै सफल हुँदैनन् । ती केही क्षण वा समयका लागि सफल जस्ता देखिए पनि अन्ततः परिणाम नकारात्मक नै हुन्छ । यसबाट पुष्टि हुन्छ, सहज र सरल जीवनका निम्ति नकारात्मकता विनाशतिरको यात्रा हो । यो यात्रा गर्नेहरू कहिल्यै यथार्थको गन्तव्यमा पुग्दैनन् वा पुगे पनि स्थिर रहँदैनन् ।
पुर्खाका सकारात्मक सोच र चिन्तनकै कारण हामी विश्वसामु शिर ठाडो बनाउँदै उभिन सफल भएका हौँ । उनीहरूले सुख–दुःख, खुसी र घरपरिवार त्यागेर बलिदान गरेकाले हामी अग्ला र सग्ला बनेका हौँ । अन्यथा के वा कस्तो हुने थियो कल्पनामात्र गर्न सकिन्छ यसै भन्न सकिँदैन ।
कृतघ्न नबन्ने हो भने सकारात्मक कर्म गरेर पुर्खाले हामी सबैलाई ऋणी बनाएका छन् । त्यो ऋणबाट मुक्तिका लागि सबैले यथास्थानबाट योगदान गर्नु आवश्यक छ । योगदान यो वा त्यो भन्ने हुँदैन । सकारात्मक सोचले जुनसुकै तह र तप्काका नागरिकले त्यो गर्न सक्छ । कर्म नै असल योगदान हो ।
उनीहरूले देखाएका सुरता, वीरता, त्याग, समर्पण, कर्तव्यपरायणता र माटोप्रतिको निष्ठाले हाम्रो शिर सगरमाथाझैँ अग्लिएको हो । हामीले विगतदेखि वर्तमानसम्म कसैको दासता स्वीकार्नुपरेको छैन । यो पुर्खाका सकारात्मक सोच र चिन्तनको प्रतिफल हो । उनीहरूभित्र सकारात्मक सोच नभएको भए आफू र आफ्नो परिवार तथा आफन्त भुलेर भावी पिँढीलाई देश दिन मरिमेट्दैनथे । आज हामी त्यो बाटोबाट क्रमशः विचलित बन्न लागेको हो कि भन्ने आभास हुन्छ । आफूलाई जान्ने–सुन्ने र टाठो–बाठो देखाउन अनावश्यक हर्कत गर्ने मनसुवा उम्रन खोजिरहेका छन् । अर्थात् मन मस्तिष्क विगतबाट टाढा बन्न थालेको छ । वर्तमान बाँच्ने नाममा जे–जस्तो गर्न र बन्न पनि अग्रसर बनिरहेछौँ । यो सकारात्मक यात्रा र यथार्थ बाटो हुन सक्दैन । अहिले राम्रो देखिए पनि भविष्यमा आउने परिणाम पक्का नकारात्मक हुनेछ ।
तसर्थ, बेलैमा हाम्रो ध्यान यता सोझिनु आवश्यक छ । निश्चित छ– नसोझिए हाम्रो बाटो अग्रगामी हैन पश्चगामी हुन्छ । त्यसो नभए त्यसले पु¥याउने ठाउँ भनेकै निराशा, कुण्ठा र वितृष्णामात्र हो । सधैँ अग्रगामी सोच र सकारात्मक चिन्तन बोक्ने पुर्खाका सन्तान हामी त्यो बाटो परित्याग गर्दै क्षणिकता वा लघुताभासतिर उन्मुख हुन खोजिरहेछौँ । सामूहिकता र सामाजिकता मनमस्तिष्कबाट विस्थापनको बाटो हिँड्न अग्रसर बनिरहेछन् । अराजकता र विशृङ्खलता हाबी बन्न खोजिरहेको देख्न सक्छ ।
वर्तमानमा हाम्रा चिन्तन नकारात्मकता समाएर हिँड्ने प्रयासमा छन् । हरेक मनमस्तिष्क गालीगलौजले भरिएको छ । विश्वास चुहिँदै गएको प्रतीत हुन्छ । आलोचना, हिंसा, प्रतिशोध र विचार शून्यताले सबैतिर स्थान पाउँदै गएको छ । यो कुनै हालतमा सकारात्मक पाटो हुन सक्दैन । हत्या, हिंसा, द्वन्द्व, प्रतिशोध र कुण्ठा नकारात्मक चिन्तन हुन् । यसले कसैलाई अगाडि बढाउँदैन । यसलाई आत्मसात् गर्न खोज्नेहरू जति हिँडे पनि कहीँ पुग्दैनन् । अर्थात् जहाँको त्यहीँ हुन्छन् । जेको त्यही हुन्छन् र जस्ताको त्यस्तै हुन्छन् । किनकि नकारात्मकता जीवनको एउटा भुलभुलैयामात्र हो । त्यसलाई आत्मसात् गर्नेहरू जहिले पनि पछिको पछि पर्छन् र जीवनको बाटोबाट छुट्ने सम्भावना रहन्छ ।
सकारात्मकताले सधैँ अगाडि बढ्न सिकाउँछ । विश्वासको बाटोबाट कर्मपथमा हिँडिरहन र उद्देश्य तथा लक्ष्यमा लागिरहन सिकाउँछ । आस्था र विश्वास बोकेर निरन्तर पाइला चालिरहन प्रेरित गर्छ । जीवनलाई निराशा र कुण्ठाको बाटोबाट हैन, यथार्थको पाटोबाट बढ्न प्रेरित गर्छ । वास्तविक सन्दर्भ र परिप्रेक्ष्य पनि हो । जीवनको सबल पक्ष भनेकै सकरात्मकता हो । यसले सुख र सन्तोष दुवै दिन्छ । यसको अभावमा कोही पनि सफल यात्राका सहयात्री बन्न सक्दैनन् । सफल नबन्नु जीवनको सग्लो बाटो हुन सक्दैन । जीवनलाई आत्मसात् गर्दै अगाडि बढ्नु सकारात्मक चिन्तन हो । जीवनका प्रत्येक पललाई सकारात्मक मोड दिन सके हामीले कहिल्यै बेखुस हुनुपर्दैन । गोरखापत्र अनलाईनबाट