श्यामल अधिकारी
आज नेपाली पत्रकारिताको आदिपत्र गोरखापत्रको वार्षिकोत्सवको दिन हो । निरन्तरताका एक सय २० वर्ष पार गरेकोमा गोरखापत्रबाटै उदाएको समग्र नेपाली पत्रकारिताले उसलाई बधाई दिनुपर्छ । आफ्नो जीवनकालमा गरेका सत्कर्मबाटै कोही कोही कालान्तरसम्म स्मरणयोग्य हुन्छन् । राणा प्रधानमन्त्री भएर पनि देवशमशेर र चन्द्रशमशेरजस्ता क्रूर शासकको छोरीज्वाइँ भएर पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह गोरखापत्रकै कारण नेपालको इतिहासमा चिरस्मरणीय पात्र रहेका छन् ।
यसै छेको पारेर नेपाली पत्रकारिताको हालचालबारे छलफल गर्नु सान्दर्भिक हुन्छ । अझ भर्खरै नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको केन्द्रीय नेतृत्वको निर्वाचन भएको छ । हामीले देख्यौँ, यस पटकको निर्वाचन औधी कौतूहलपूर्ण थियो । किनभने राजनीतिक दलहरूले पत्रकारहरूलाई सत्ता र प्रतिपक्षमा बाँडेर अनि दलीय हैसियतमा गठबन्धन बनाएर चुनाव लडेको देखियो । यसबाट लोकतान्त्रिक संविधान निर्माताहरू स्वयं पत्रकारहरू समेत स्वतन्त्र पत्रकारितामा विश्वास गर्दैनन् वा पत्रकारितालाई सिद्धान्ततः राज्यको चौंथो अङ्ग भन्ने गरे पनि प्रकारान्तरले पत्रकार आफ्ना कार्यकर्ता रहनुपर्छ र तिनले आफ्नो दल वा दलभित्रका स्वार्थसमूहको एजेण्डा बोक्नुपर्छ भन्ने मनशायले काम गरिरहेको निष्कर्ष निस्कन्छ । यस अँध्यारो पाटोलाई सँगै राखेर नेपाली पत्रकारिताको विकासलाई हेर्नुपर्छ र त्यसो गर्दा कुनै बेला पत्रकारिताको स्वतन्त्रताले सिङ्गो मानवता, राष्ट्र र समाजलाई कसरी चेतनासम्पन्न बनाउन मद्दत गर्छ भन्ने विश्वास बलियो हुनेछ ।
जतिसुकै सिद्धान्त प्रतिपादन गरे तापनि विश्वभरका आमसञ्चार क्षेत्रका विद्वान्हरूले पत्रकारिताका साझा अनिवार्य गुणहरू खुट्याएका छन् । पत्रकारिताले सत्यको उद्घाटन गर्छ, त्यसले सही कुरा दिन्छ, त्यो वस्तुवादी हुनुपर्छ, त्यो पक्षपातरहित हुनुपर्छ, त्यो अकलुषित अथवा स्वच्छ रहनुपर्छ र अन्ततः त्यो जनउत्तरदायी हुनैपर्छ । जस्तोसुकै अभ्यास गरे पनि हाम्रो पत्रकारिताका धुरन्धर पण्डितहरू, प्रोफेसरहरू, सम्पादकहरू र आमसञ्चार जगतका लगानीकर्ताहरूले यसलाई अस्वीकार
गर्न सकेका छैनन् ।
पत्रकारिताले सत्यको उद्घाटन गर्छ भन्ने मान्यतालाई हामी सबैले स्वीकार गरेका छौँ । त्यसो भए केले गर्दा हाम्रो पत्रकारिताले एउटै घटनामा अनेकौँ विरोधाभासी ‘सत्य’ हरू प्रस्तुत गर्छ, प्रष्ट छ, एउटै घटनालाई हेर्ने पत्रकारहरूका (वा माध्यमका मालिकहरूका) आ–आफ्ना दृष्टिकोण छन् र ती सार्वजनिक हितभन्दा तिनका व्यावसायिक स्वार्थको बचाउको शिकार हुने गरेका छन् । विश्वविद्यालयका पत्रकारिता वा समाजशास्त्र विभाग वा प्रेस काउन्सिलजस्ता निकायले चाहे भने अनुसन्धान गर्दा सत्य कुन स्वार्थको शिकार भएको हुन्छ भन्ने पत्ता लगाउन सक्छन् ।
पत्रकारिताले सही सूचना दिन्छ भन्ने विश्वव्यापी मान्यता छ । सहीपन तथ्य र तथ्याङ्कहरूबाट मात्र पुष्टि गर्न सकिने विषय हो । दुर्भाग्यवश, हामीकहाँ दलीय वा कुनै खास वैचारिक पक्षधरताको रक्षा गर्ने हेतुले तयार गरिएका सूचना, समाचार वा विचारमा तथ्यको अंश एकदमै न्यून भएको हामी देखिरहेका छौँ । सरकारको आलोचना गर्दा पनि तथ्यमाथि व्यक्ति वा सम्बद्ध संस्थाका वैचारिक भावुकता सवार भएको देखिन्छ । उदाहरणका लागि ट्रान्स्परेन्सी इन्टरनेसनलको नेपाल शाखामार्फत केही समयअघि नेपालमा भ्रष्टाचारसम्बन्धी प्रकाशित प्रतिवेदनको विश्वसनीयता र सहीपनमाथि पर्याप्त प्रश्न उठेका थिए । र, नेपाल सरकारले आधिकारिक रूपमै त्यसको खण्डन गर्नुपरेको थियो । यसले मिडियामा अहं स्थान पायो । तर सरकारका भ्रष्टाचार निवारणका प्रयासहरू के के थिए, ती पर्याप्त थिए वा थिएनन्, तिनका कानुनी आधारहरू पर्याप्त र बलिया कि थिएनन्, तिनले के काम गरे, केकस्ता विधि र प्रक्रिया अवलम्बन गरिएको छ, भ्रष्टाचारमा लिप्त व्यक्तिहरूलाई मुद्दा चलाउने र कानुनसम्मत ढङ्गले दण्डित गर्ने प्रक्रिया तीव्र भएर भ्रष्टाचारका घटना र मुद्दाको सङ्ख्या बढेका कारण यस्तो देखिएको हो वा साँच्चिकै राज्यको उदासीनताका कारण दण्डहीनताले प्रश्रय पाएर भ्रष्टाचार बढेको देखिएको हो भन्ने स्पष्ट गर्नमा हाम्रा मिडियाले चासो देखाएको पाइएन ।
कुनै खास राजनीतिक अभीष्ट पूरा गर्नका लागि तथ्य तथ्याङ्कलाई यसरी गलत ढङ्गले सिर्जना र व्याख्या गर्ने काम यो मात्रै एउटा होइन, खोजी हेरे धेरै पाइने छन् । अनुसन्धानका लागि गरिने सर्वेक्षणका स्थापित विधि र मान्यतालाई उल्लङ्घन गरेर सञ्चालकहरूका नियतवश प्रस्तुत गरिएका यस्ता निष्कर्षहरूको सहीपनको परीक्षण नै नगरी मिडियाहरूले नेपालमा भ्रष्टाचारको अनधिकृत र गलत तस्बिर प्रस्तुत गर्नाले मिडियाकै सहीपनमाथि आशङ्का उत्पन्न हुनु स्वाभाविकै ठहर्छ ।
पत्रकारिता वस्तुवादी हुनुपर्छ भन्ने मान्यतालाई हाम्रो पत्रकारिताले उति ख्याल गरिरहेको पाइँदैन । हुन पनि कोठामा बसेर सिर्जना गरिएका वा कसैलाई वदनाम गर्न लक्ष्यित समाचारमा त्यस्तो ठोस वस्तुवादिता नदेखिनु स्वाभाविकै हो । अझ हामीकहाँ केसम्म देखिन्छ भने कुनै खास राजनीतिक प्रश्नमा कुनै खास राजनीतिक पात्रले बोलिसकेपछि, परिस्थिति अलिकति दायाँ बायाँ हुनासाथ भरे वा भोलिपल्ट आफूले नबोलेको भनेर खण्डन आउँछ र हामी पत्याइदिन्छौँ । विकास निर्माणका कार्यहरूका रिपोर्टमा देखिने अवस्तुवादिताको तस्बिर त झन् कहालीलाग्दो छ । विकास निर्माणका काममा पर्याप्त भ्रष्टाचार र ढिलासुस्ती हुने गरेका घटना तपाईं हामीले भोगिरहेका छौँ । तर हाम्रा मिडियाले त्यसलाई राजनीतिक वा व्यापारिक चस्माले हेरेको देखिनु उदेकलाग्दो कुरा हो । त्यस्ता घटनाको यथार्थ र सत्य उद्घाटन गर्दा मनोगत ढङ्गले वा सर्सर्ती कसैले कुनै स्वार्थवश भनिदिएकै आधारमा सम्बद्ध सरोकारवालाहरूका भनाइसम्म नराखी भ्रष्टाचारको आरोप लगाइएका समाचारको साक्षात्कार गर्दै हामी विश्वास गरिरहेका छौँ । कुनै पनि ठूला साना ठेक्का टेण्डरका डकुमेण्ट हुन्छन्, स्थापित खर्च प्रणाली हुन्छ, सामग्री र संरचनाको गुणस्तर तोकिएको हुन्छ । त्यस्ता डकुमेण्टको खोजी र अध्ययन नगरीकनै समाचारमा भ्रष्टाचारको अभियोग लगाइएको देखिन्छ र संलग्न कुनै पनि अधिकारी वा सरोकारवाला पक्ष रातारात भ्रष्टाचारी भनिन सक्छ । उसले भ्रष्टाचार गरेको होइन भन्ने होइन, तर कसरी के के आधारमा भ्रष्टाचार ग¥यो भन्नेतर्फ पत्रकारको ध्यान गयो भने उसले यसरी कसैमाथि निराधार अभियोग लगाउन सक्तैन । यसका लागि मिडियाकर्मीले खोज अनुसन्धानका मान्यताहरूको पालन गर्नुपर्ने हुन्छ । तर हरेक क्षण ‘स्कूप’ को खोजीमा लागेको मिडियाकर्मीका लागि यो सम्भव हुँदैन ।
खोजी, अनुसन्धान एक लामो र जोखिमपूर्ण प्रक्रिया हो । कुनै खास दलीय राजनीतिक अभीष्ट राखेर पत्रकारिता गर्नेले यस्तो झन्झटिलो जोखिम उठाउन सक्तैन । फलस्व रूप हाम्रो पत्रकारिता अवस्तुवादिताको शिकार हुन पुग्छ । हाम्रा पत्रकार कुनै न कुनै राजनीतिक दलसँग कुनै न कुनै भूमिकासहित टाँसिएका कारण उसको उक्लने भ¥याङ वस्तुवादी पत्रकारिताले होइन, नेताले तयार गरिदिएको हुन्छ । माथि उक्लने त्यस लालसाले पनि उसलाई वस्तुवादी पत्रकारिता गर्न अनुमति दिँदैन । पत्रकारितामा चाटुकारिता हावी हुने प्राथमिक खुड्किलो यही नै हो ।
पक्षपातरहितता पत्रकारिताको सर्वमान्य गुण हो अर्थात् रिपोर्टमा कुनै भूमिकामा रहेका व्यक्ति वा संस्थाहरूप्रति पत्रकार पक्षपातरहित हुन सक्नु पत्रकारको आधारभूत गुण हो । सामाजिक, आर्थिक, राजनीतिक सम्बन्धका कारण कतै ढल्केर गरिने पत्रकारिताले सत्यको उद्घाटन गर्न सक्तैन, बरु सत्यलाई विवादित तुल्याइदिन्छ । तर हामी पक्षपाती पत्रकारिताबाट अत्यधिक पीडित छौँ । हामीकहाँको पत्रकारिताका ब्रोडसिटहरूका मुख्य समाचारहरू, विशेष रिपोर्टहरू, विचार पृष्ठ, अझ पाठकका चिठीसम्म पनि कम्पनी मालिकका निश्चित राजनीतिक आर्थिक ध्येयको चरम दबाबमा रचना गरिएका देखिन्छन् । सम्पादक आफ्नो दृष्टिकोणको स्वामी हुन सकेको छैन, ऊ मालिकले चाहेसम्मको कर्मचारी भएर बसेको छ र, आश्चर्यको कुरा के छ भने राज्यलाई, विद्यार्थीलाई र आम जनतालाई समेत स्वतन्त्र पत्रकारिता वा पत्रकारका स्वतन्त्रताबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिने अब्बल गुरु पनि उही नै बनाइएको हुन्छ । अरू पत्रकारको रोल मोडल पनि उही नै हो, जसले भूलवश नै किन नहोस्, पक्षपातरहित सामग्री ल्याएको छ भने त्यो ‘टेक्स्ट’लाई अन्तिम समयमा पनि हस्तक्षेप गरेर ‘पक्षपातसहित’ बनाउन सक्ने शक्तिशाली व्यक्ति हो सम्पादक । नत्र न काठमाडौँमा दुई चार वर्षमै बङ्गला ठडिन्छ, न त उसका हातमा कारको स्टेयरिङ नै हुन्छ ।
स्थापित मान्यताअनु रूप पत्रकारिता अकलुषित अथवा स्वच्छ रहनुपर्छ र अन्ततः त्यो जनउत्तरदायी हुनैपर्छ । यसमा, प्रिय पाठकवर्ग, तपाईं के भन्नुहुन्छ ? यो मान्यता हाम्रो सन्दर्भमा लभ्य वा अलभ्य के होला ? स्पष्ट छ, अहिलेकै अवस्थामा यस्तो रहनु या त असम्भवप्रायः छ, अन्यथा बढीभन्दा यस्तो पत्रकार बढी जोखिममा छ । कोही बाँकी नै छन् त रु जब कलुषित पुरस्कृत हुँदै जान्छ, जब उसले कलुषित पत्रकारिताको अभ्यासका कारण व्यापक सामाजिक मान्यता पाउँदै जान्छ, जब राज्यको उच्च तहमा पुगेर उसले हामीलाई कुरो के हो, ‘देखाइदिन्छ’, तब अकलुषित वा स्वच्छ पत्रकारिता अलि टाढाको विषय बन्न जान्छ । तथापि स्वच्छ पत्रकारिताको पक्षमा आलाप–विलाप गर्न हामीले छोडिहाल्न मिल्दैन । यद्यपि हाम्रो, यो समयको सबैभन्दा ठूलो लक्ष्य प्राप्त गर्न लामै समय कुर्नुपर्छ ।
अन्ततः पत्रकारिता जनउत्तरदायी हुनैपर्छ । यो अर्को विश्वव्यापी मान्यता हो । विश्वकै सन्दर्भमा अलि कान्छो भएकोले होला, हाम्रो पत्रकारिताले बहुधा जनउत्तरदायी व्यवहार देखाउन पाएको छैन । हामीले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको तीन दशक मात्र पुगेको छ । दलीय फन्दाबाट मुक्त हुन कति दशक कुर्नुपर्ने हो, हामीलाई थाहा छैन । तथापि सानै भए पनि प्रयास जारी छन्, थोरै भए पनि प्रकाशको बिन्दु देखिएकै छ । पत्रकारिता जनउत्तरदायी हुन उसले सङ्कलन गरेका, सम्पादन गरेका, छापेका वा प्रसारण गरेका समाचार वा विचार सामग्री तथ्यगत हुनुपर्छ, पक्षपातरहित र अकलुषित हुनुपर्छ । त्यसो हुन, पत्रकार स्वयं र उसका संस्थाको हात सर्वोपरि हुन्छ भन्ने कुरालाई ध्यानमा राख्ता पनि त्यतातिर लाग्ने प्रेरणा जीवित रहन्छ । विशुद्ध जागिरे वा व्यापारिक घरानाको पत्रकारितालाई स्वच्छ र जनउत्तरदायी बनाउनु फलामको च्युरा चपाउनुजस्तै हो तर राज्यका नियमनकारी निकाय प्रभावकारी भए भने तिनलाई पनि केही मात्रामा जनउत्तरदायी बनाउन सकिन्छ ।
सन् २०२० मा भारतीय लोकतन्त्रमा मात्रै पत्रकारिताका क्षेत्रमा सबैभन्दा बढी ठूला हनन र दमनका घटना भए, ८४ वटा । हामीले अमेरिकी लोकतन्त्रका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र फक्स न्यूजलगायतका अमेरिकी मिडिया ९फेसबुकजस्तो सामाजिक प्लाटफर्मसमेत० बीचको रोचक द्वन्द्वको स्मरण गरिरहेकै छौँ । अहिलेको नेपालमा त्यस्ता दमन वा हननका घटना नहुनु हाम्रो पत्रकारिताको स्वास्थ्यका लागि सन्तोषको विषय हो । आज परेको पत्रकारिता दिवसले हामीलाई जनउत्तरदायी पत्रकारिताको बाटोमा अघि बढिरहन मद्दत गरोस् ।