कृष्णप्रसाद भुसाल
अग्लो खुट्टा, लामो घाँटी र आकर्षक शारीरिक बनावट हुने सारस चरा समूहमा संसारमा १५ प्रजाति छन् । सिमसार र यसवरपरका क्षेत्रमा बस्न रुचाउने सारस समूहका चार प्रजातिमात्र नेपालमा पाइन्छन् । यीमध्ये सारसमात्र नेपालको रैथाने पन्छी हो, जुन तराईमा चितवन पश्चिमका जिल्लामा पाइन्छ ।
कालो टाउके सारस, लक्ष्मण सारस र क¥याङकुरुङ सारस भने नेपालमा जाडोयाममा बसाइँ–सराइ गरी आउने प्रजाति हुन् । लक्ष्मण र क¥याङकुरुङ सारस हिउँदे आगन्तुक तथा बटुवा पन्छी हुन्, जुन उत्तरी ध्र्रुवमा हिमपातको सुरुवातसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा बर्सेनि रूस र मङ्गोलिया क्षेत्रबाट नेपालको बाटो हँुदै भारत, श्रीलङ्का र पाकिस्तानतिर जाने गर्छन् । मालचरी पनि भनिने क¥याङकुरुङ सारसको असोज महिनामा गरिने गणनामा बर्सेनि करिब १५ देखि २० हजारको कालीगण्डकीको आकाश हुँदै नेपाल भित्रिने नेपाल पन्छी संरक्षण सङ्घले जनाएको छ । कालो टाउके सारस नेपालको अन्य क्षेत्रमा आक्कलझुक्कल देखिने फिरन्ते प्रजाति हो । जसको नेपालमा हुम्लाको लिमी उपत्यकामा मात्र प्रजनन अभिलेख गरिएको छ ।
हालै मात्र आईयूसीएनको रातो सूचीमा संवेदनशीलबाट सुधारोन्मुख संरक्षण अवस्थामा राखिएको कालो टाउके सारसको अवस्था नेपालमा भने अज्ञात छ । लक्ष्मण सारस हिउँदे आगन्तुक बटुवा पन्छी हो, जुन हालका वर्षमा नारायणी नदी र आसपासको क्षेत्रमा बर्सेनि करिब ५० को सङ्ख्यामा आउँछन् । संसारमा सबैभन्दा उचाइमा उड्ने चराका प्रजातिमा दोस्रो स्थानमा रहेको लक्ष्मण सारस करिब दस हजार मिटर माथिबाट हिमाल नाघी नेपाल भित्रने बताइन्छ ।
यी चार प्रजातिमध्ये संरक्षण अवस्थाका हिसाबले नेपालमा गुँड बनाई बच्चा कोरल्ने सारस बढी सङ्कटमा छन्, जसलाई आईयूसीएनको रातो सूचीको संवेदनशील प्रजातिमा राखेको छ । खुला सिमसार क्षेत्र, धानखेत, पोखरी र तालआसपासका क्षेत्रमा बच्चा कोरल्ने सारस मुख्यतया सिमसार विनाशले सङ्कटमा पर्दै छन् । पछिल्ला वर्षहरूमा सिमसार क्षेत्र नासिँदै जाँदा त्यसको प्रत्यक्ष वा परोक्ष असर हाम्रो कृषि उत्पादन, जीविकोपार्जन सँगै सारसजस्ता दुर्लभ चरामा पनि परेको छ । खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीका साथै ढल तथा प्लास्टिक र सिसाजन्य नसड्ने पदार्थको सिमसारमा विसर्जनले पनि सारसको वासस्थान बिग्रँदो छ । बाह्य तथा मिचाहा प्रजातिको सङ्कक्रमणले सिमसार गम्भीर सङ्कटमा परिरहँदा यसको असर सारसमा नपर्ने कुरै भएन । जनसङ्ख्या वृद्धिसँगै बढ्दो सहरीकरण, सडक, बाँध निर्माण र पर्यावरणीय असरको मूल्याङ्कन र न्यूनीकरणविना सञ्चालित कलकारखानाले सारसको बासस्थान खण्डीकरण र नष्ट गरिरहेका छन् । बासस्थान विनाशसँगै अण्डा चोर्ने र सिकार गर्ने कार्यले पनि सारसलाई अप्ठ्यारोमा पारिरहेको छ । अवैज्ञानिक ढङ्गबाट विस्तार गरिएका विद्युत् तार हालका दिनमा ठूलो चुनौती बनेका छन् । सारसको मुख्य वासस्थान क्षेत्र लुम्बिनी र यस आसपासको क्षेत्रमा मात्र बर्सेनि करिब पाँचदेखि दस सारस विद्युतीय तारमा ठोक्किएर र करेन्ट लागेर मरिरहेका छन् । यसले जीवित सानो सङ्ख्यामा रहेका सारसलाई झन् सङ्कटमा पारिरहेको छ ।
नेपालमा सारसको अनुमानित सङ्ख्या ४५० देखि ७०० सम्म गरिए पनि हिमाली प्रकृतिले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सर्वेक्षण गरी गत महिना सार्वजनिक गरेको प्रतिवेदनमा ४४२ उल्लेख छ । सो सङ्ख्याको करिब ९७ प्रतिशत दुई जिल्ला रूपन्देही र कपिलवस्तुमा पाइएको हिमाली प्रकृतिले जनाएको छ, जुन महŒवपूर्ण चरा तथा जैविक विविधता क्षेत्र पनि हो । आजीवन जोडी बनाई बस्ने सारस नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित पन्छी पनि हो । सिमसार क्षेत्रको स्वस्थताको प्रतीक सारसले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै बालीनालीका लागि हानिकारक शङ्खेकीरा र अन्य साना जीवलाई खाई हाम्रो अन्न उत्पादनमा सहयोग गर्छ । बाघ, चितुवाजस्ता जनावर नजिक आउँदा कराएर सारसले ती जनावरको आक्रमणबाट बच्न सूचना प्रवाह गर्छन् । सारसको बयान र महŒव हिन्दु र बौद्ध धर्मगन्थ्रमा पनि गरेको पाइन्छ । लुम्बिनी आसपासका क्षेत्रमा सारसको वासस्थान र उच्च घनत्व छ, जसलाई बौद्ध दर्शनसँग जोडेर पनि हेरिन्छ ।
सारसको वासस्थान संरक्षित क्षेत्रबाहिर मूलतः निजी कृषि भूमि, सार्वजनिक वन र सिमसार क्षेत्रमा अवस्थित छन् । त्यसैले संरक्षणका लागि स्थानीयको सक्रियता, जनसहभागिता र अपनत्व आवश्यक छ । दुर्लभ सारस र तिनको वासस्थान संरक्षणका लागि स्थानीय सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक नेतृत्व, सामुदायिक वन, संरक्षणकर्मीलगायत सबैको हातेमालो जरुरी छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाले सारसलाई नगर पन्छी घोषणा गरी संरक्षण र वासस्थान व्यवस्थापनको काम गरिरहेको छ, जुन सराहनीय छ । लुम्बिनी सारस सेन्च्युरीले सारस संरक्षण शिक्षा प्रवाह गर्न महŒवपूर्ण भुमिका निर्वाह गरेको छ ।
सारसको घना वासस्थान र आवतजावत हुने क्षेत्रमा विद्युत् विस्तार नगरी वैकल्पिक क्षेत्र वा जमिनमुनिबाट प्रसारण लाइन लैजानु जरुरी छ । सारसलाई मार्ने वा अण्डा नष्ट गर्ने वा व्यापार गर्नेलाई पाँच सयदेखि एक लाख रुपियाँसम्म जरिवाना वा तीन महिनादेखि दुई वर्षसम्म कैद अथवा दुवै सजाय हुने कानुनी प्रावधान भएको हँुदा यस्ता कार्यलाई बन्द गरिनुपर्छ । लोपोन्मुख सारस हेर्न विदेशी र स्वदेशी पर्यटकको पनि आगमन हुने हँुदा यसको संरक्षणले पर्यापर्यटन प्रवद्र्धन गरी आयआर्जन गर्न सकिन्छ । प्रजनन समयमा देखिने सारसको विशेष आकर्षक नृत्य हेर्न र तस्बिर खिच्न थुप्रै चराप्रेमी लालायित हुन्छन् । बसाइँ–सराइ गरी आउने लक्ष्मण र क(याङकुरुङ सारसको आगमनको बेला आकाशमा देखिने सुन्दर ताँती र आवाजले जोकसैलाई मोहित पार्छ । यसर्थ, सारस र यसको वासस्थान संरक्षण पर्यावरणीय सन्तुलनमात्र नभई, पर्यटन प्रवद्र्धनसँग पनि जोडिन सक्छ । (लेखक पन्छीविज्ञ हुनुहुन्छ ।) गोरखापत्र अनलाईनबाट