विनायकप्रसाद धिताल

र्वीय संस्कृतिको मान्यताअनुसार होली चाड पौराणिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक तथा प्रकृतिसँग गहिरो सम्बन्ध राख्छ । रङ्गको चाड, मानिसले जीवनमा हासिल गर्ने प्रत्येक खुसियाली र विजयोत्सवसँग अझ बढी सम्बन्ध राख्छ । यो चाड सद्भाव र भ्रातृत्वको चाडले हामीलाई “सत्यमेव जयते” को सन्देश दिन्छ । सत्यमेव जयतेको अर्थ हो, जुनसुकै व्यक्ति जतिसुकै उच्च ओहदामा पुग्ने अवसर पाए पनि सत्कर्ममा प्रयोग गर्न सकेन भने उसले अन्ततः दुःखदायी दुष्परिणाम भोग्नुपर्छ । अनैतिक कार्य, सम्पत्ति बल तुजुकको अहङ्कारले मानिसलाई विनाशको बाटोतर्फ धकेल्छ ।
नेपालमा होलीको थालनी गोपालराज वंशावलीअनुसार मल्लकालमा मल्ल राजाहरूले, शाहकालमा शाह राजाहरूले होली मनाइएका तिथिहरू फागुन महिनाको पूर्णिमा उल्लेख गरे पनि गोपालराज वंशावलीअनुसार भक्तपुरको मालती चोकस्थित ६७ हरफको शिलालेखमा कुँदिएको “श्रीमानदेब पोष्य पूर्णमयी होली कृतम् तेन शान्ति भवती” वाक्यले पौषशुल्क पूर्णिमामा होली खेल्न थालनी गरेको इतिहासकारहरूको भनाइ पाइन्छ । मल्ल, शाहकालमा यो चाड राजाहरू नाचगान, उल्लाससाथ मनाउने गरेको चित्त नबुझाउने, विशेष भक्तपुर क्षेत्रका साहसिला युवकयुवतीले “जुजुयाह होली मयजुला मयला” अर्थात् “राजहरूले मात्र रमाइलो गर्ने, हामीलाई छैन” भन्ने व्यङ्ग्य प्रहार गरेपछि राजदरबार र प्रतिष्ठित ठाउँमा खेलिने होली सबै वर्ग र समुदायले काठमाडौँ उपत्यकालगायत पहाड–तराईमा साझा चाडका रूपमा विकसित भएको पाइन्छ ।
भक्तपुरको अर्को प्रसङ्गमा भक्तपुरका नेवार समुदायका युवकयुवतीले वैवाहिक सम्बन्ध प्रगाढ बनाउने उपायमा होली खेल्न थाले । विवाहयोग्य युवती साग, मुलाको माला घरका मुख्य व्यक्तिको मञ्जुरीमा घरको माझतलाको झ्यालमा झुन्ड्याएर माला नजिकै बस्ने र विवाहयोग्य युवकले सडकमा होली खेल्नेक्रममा “झ्याले चोंगु टुकमा वहे ल्यासे जितमा” अर्थात् झ्यालमा झुन्ड्याइएको साग मुलाको माला र नजिकै बसेकी केटीसँग मैले विवाह गर्न पाउनैपर्छ, विवाह नभएमा भात खान्न भन्ने अडानका गीत गाउन थाले । फागु सकिएपछि उनै केटीसँग “फगुया डुले तँ चायाला ल्यासे” अर्थात् फागुको हुलमा बोलेकोमा तिमी रिसायौ कि भनी दुुःख मानेजस्तो गर्ने चलन भएको भनिन्छ । तर, खासमा विवाहयोग्य केटाकेटीले दाम्पत्य सम्बन्धमा गाँसिन फागु चाड नै माध्यम भएको किंवदन्ती उल्लेख तथा चलन भएको पाइन्छ ।
होलीलाई वसन्त उत्सवसँग पनि लिइन्छ । वसन्त पञ्चमीबाट वसन्त ऋतु सुरु भई बोटबिरुवामा नयाँ पालुवा पलाउने, कतै रङ्गीचङ्गी फूल फुल्ने, कोइली चरीहरूको मीठो–मीठो आवाज सुनिने, प्राकृतिक सौन्दर्यले सहृदयी मानवीय जीवनलाई प्रफुल्ल र प्रियजनका मनमा प्रेम बर्साउने ऋतु वसन्त हो । सबैका लागि त्यसमा पनि कवि, कलाकार, चित्रकार साहित्यकारका निमित्त रसिलो ऋतु हो–वसन्त ।
वास्तवमा वसन्त ऋतु र होली चाडबीचमा जुन तादात्म्य पाइन्छ, त्यसले प्रवाह गर्ने सन्देश पनि यौटै हो‐ जीवन रङ्गीन वासन्ती छ, मात्र प्रेमले मलजल गर्न जान्नुपर्छ । होलीजस्तै रङ्गको चाड नेपाल र भारतमा मात्र होइन, अन्य मुलुकमा पनि विशेष सद्भावना, प्रेम प्रदर्शन, हँसिमजाक गर्ने सिलसिलामा मनाउने गरिएको पाइन्छ ।
रूसमा हास्यचाडका रूपमा, बेल्जियममा हाँसोठट्टाका रूपमा, आ–आफ्नो जुत्ता बालेर मनाउँछन् । थाइल्यान्डमा पानीको पूजा–अर्चना गरी बौद्ध मठका भिक्षुलाई किताब आदि दान र सुगान्धित जल परम्परामा सेचन गरी मनाउँछन् । हङ्गेरीमा विशेष चिनजान भएका युवकयुवतीबीच भरपुर रङ्गपानी छेपाछेप गरी मनाउँछन् । जापान, सुमात्रा आदि देशमा नाचगानकोे साथै नयाँ अन्न उब्जाइएको उपलक्ष्यमा रङ्गको चाड मनाउँछन् । बेलायतको लेस्टर सहरमा होली परेडको आयोजना गरेर परम्परमा अँगालो हाल्दै अबिरको टीका लगाइदिई खुसियाली मनाउँछन् । इटालीमा नेपाल भारतको “होली” जस्तै चाडको नाम “रेडिका” नाममा विभिन्न ठाउँमा दाउरा विशेषका काठपात बालेर स्थानीयदेवी “पलोरा”लाई प्रसन्न गराउँदा शान्ति मिल्ने विश्वास राखिन्छ । स्वीट्जरल्यान्डमा होलीजस्तै चाड तीन दिनसम्म हर्षोल्लाससाथ मनाइन्छ । जर्मनीमा रङ्गीनपानी छेपाछेप गरेर नाचगान गरी मनाइन्छ । तसर्थ, होली चाडलाई अन्य मनोरञ्जन हाँसीमजाक, सत्यको जयको साथै विश्वव्यापी रङ्गीन चाडमा पनि लिन सकिन्छ ।
कुनै कालखण्डमा काठमाडौँ उपत्यकामा अभद्र र उत्ताउलोपाराले होली खेल्ने प्रचलन थियो । तर, केही वर्षयता उत्ताउलो स्थिति हुन नदिने प्रहरी प्रशासनको तदारुकतास्वरूप तथा घरका अभिभावकसमेत सचेत हुन थालेकाले स्थिति केही हदसम्म नियन्त्रणमा आएको छ । आजकाल धेरैजसो व्यक्ति कुनै निर्दिष्ट स्थानमा होली खेल्न इच्छुकलाई निम्ता गरी अबिर दलेर, पानी छेपेर खानाका परिकार खाँदै मनोरञ्जन गर्ने चलन चल्न थालेको छ ।