डा. कुन्दन अर्याल
विभिन्न आमसञ्चार माध्यम (मिडिया) हरूमा दिनहुँ आउने शीर्षकभन्दा पर पनि समाचारहरू छन् । प्रत्येक क्षण संसारका विभिन्न भूभागका गतिविधि वा घटनाक्रममध्येबाट केही सीमित शीर्षक मिडियामा आउने गर्छन् । समाज समाचारको विशाल खानी हो । तर मिडियाको पनि बाध्यता हुन्छ, सीमित समय र स्थानमा सबैभन्दा महìवपूर्ण र सान्दर्भिक विषयलाई समेट्नुपर्ने हुन्छ । मिडियाका तर्कहरू अनेक छन् । विश्वभरका पत्रकारको वर्षौंको अभ्यास र पत्रकारिताका अध्येताहरूको अनुसन्धानात्मक निचोडले बताएको पनि यही हो– सबै घटना वा प्रवृत्तिमा समाचार बन्न सक्दैनन् । घटना वा विषयमा समाचार बन्न सक्ने गुण हुनुपर्छ । तर यो सैद्धान्तिक मान्यता पनि व्यवहारमा भने बेलाबेला नराम्रोसँग तोडमोड भएको देखिन्छ । त्यसैले आम रूपमा हेर्दा नेपाली मिडियाले समाजका कैयौँ विषयवस्तुलाई दिनुपर्ने जति स्थान र समय दिएको छ कि छैन भन्ने विषय विमर्शका लागि सान्दर्भिक छ ।
सय वर्षदेखि पत्रकारहरूका माझ एउटा शब्दावली प्रचलनमा छ, न्यूज भ्यालू अर्थात् कुनै विषय वा घटनाको समाचार बन्न सक्ने गुण । विद्यालय, विश्वविद्यालय वा प्रशिक्षणमा समाचारका विषयमा पढाइने प्रारम्भिक पाठमै पर्छ न्यूज भ्यालू । तर न्यूज भ्यालू खुट्टयाउने विषय पत्रकारिताकमा निर्विवाद छैन । यस विषयमा पत्रकारहरूलाई प्रभाव पार्ने आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरू पर्याप्त छन् । समाचारको गुण पहिचान गर्ने विषयलाई सहज रूपमा बताउन मान्छेले कुकुरलाई टोक्यो भने समाचार बन्छ पनि भनियो । कुनै पनि घटनाको नयाँ–नौलो पक्ष समाचार बन्छ भनियो । अस्वाभाविक र आकस्मिक घटना वा द्वन्द्वलार्ई प्राथमिकता दिनुपर्छ भन्ने तर्क पनि अघि सारियो । बीसौँ शताब्दीको सुरुवातका वर्षसम्म पनि मिडियाको विकासका दृष्टिले अग्रपङ्क्तिमै रहेका देशमा समेत खराब घटना वा खबर नै राम्रो समाचार बन्छ भन्ने धारणा व्याप्त थियो । समाचार बन्ने गुणका लागि नयाँ–नौलोका अतिरिक्त निकटता, मानव अभिरुचि अनि विशिष्ट र महìवपूर्णजस्ता गुणहरू पनि आवश्यक हुन्छ भनेर सूत्रबद्ध गरिएका छन् । कुनै बेला गति, कुनै बेला आकार र कुनै सन्दर्र्भमा निरन्तरता वा लगातारको प्रयत्नलाई पनि समाचार बन्न सक्ने गुणका रूपमा परिभाषित गरिएका छन् । तर व्यवहारमा आजसम्म पनि यो विषयमा त्यति सजिलै मतैक्य कायम हुने गरेको छैन । त्यसैले समाचारको परिभाषा बताउँदै जाँदा, अन्त्यमा जे सम्पादकको निधोबमोजिम प्रस्तुत गरिन्छ त्यही विषय समाचार हो भनेर विवाद टुङ्ग्याउने चलन पनि छ ।
विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजन वा अनलाइन न्यूज पोर्टलमा विभिन्न विषयले फरक–फरक ढङ्गमा महत्व पाएको अर्थात् विभिन्न मिडियाले विविध विषयलाई समाचारका रूपमा प्रस्तुत गरेको देखिन्छ । त्यसैले सिद्धान्तमा समाचारलाई न्युज भ्यालुका आधारमा परिभाषित गर्न खोजिए पनि अभ्यासमा व्यापक विविधता देखिँदै आएको छ । समयक्रममा व्यक्तिको मर्यादा, मानवअधिकारलगायत व्यक्तिको अधिकारको वृत्त फराकिलो बन्दै जाने क्रममा न्युज भ्यालु पनि विस्तारित हुँदै गएको छ । विगतमा सामान्य ठह¥याइएका कतिपय सामाजिक व्यवहार, भेदभाव समयक्रममा दण्डनीय व्यवहारका रूपमा परिभाषित भएका छन् । अभिव्यक्ति र व्यवहारमा संवेदशीलता अपनाउनुपर्ने विषयहरू तय भएका छन् । आज घरेलु हिंसालगायत कतिपय सामाजिक कुरीतिलाई कानुनले प्रतिबन्धित गरेको छ । कानुनको पालना नहुनु अस्वाभाविक विषय हो । त्यसैले त्यस्ता अस्वाभाविक क्रियाकलाप न्युज भ्यालु हुन् ।
नेपालमा वि.सं. १९५८ मै ‘गोर्खापत्र’ को प्रकाशन गर्दा पण्डित नरदेव पाण्डेलाई दिइएको लिखित निर्देशनमा, ‘तपसीलबमोजिम उर्दि सवाल गरी बक्स्याको छ, सोबमोजिमको रीत पु¥याइ कामकाज गर’ भन्ने उल्लेख गरिएको थियो । उक्त लिखतमा समाचार के हो ? के होइन भन्ने विषयमा बताउन खोजिएको छ । उदाहरणका लागि उक्त लिखतको एउटा बुँदामा भनिएको थियो, दुनियाँलाई हुन्या इस्तीहार नटासिने कुरा र नयाँ जारी भयाको ऐनको कुरा, कलकत्ताको र याहाँको दर भाउ । नेपालको सन्दर्भमा न्युज भ्यालुलाई सूत्रबद्ध गर्न खोजिएको त्यो पहिलो प्रयास थियो । त्यसयता संसारमा नयाँ–नौलो वा अस्वाभाविक पक्षहरूलाई अन्य पक्षहरूसँग समेत दाँजेर समाचारको महìव आकलन गर्नुपर्छ भन्ने सोच विकसित भइसकेको छ । तर जति धेरै आमसञ्चार माध्यम भए पनि समाजको चेतनाअनुकूल समाचार के हो भन्ने निधो उस्तै–उस्तै ढङ्गले गरेको देखिन्छ ।
सामान्यतः समाचार उही–उही नै हुने भएकोले न्युज भ्यालुलाई पत्रकारहरूले करिब करिब एकै प्रकारले बुझेका हुन्छन् भन्न पनि सकिन्छ । तर न्युज भ्यालु वा कुन समाचारलाई प्राथमिकता दिने भन्ने विषय मिडिया र पत्रकारको सामाजिकीकरण, आइडियोलोजी (वैचारिक अवधारणा) र आर्थिक तथा अन्य कारणहरूबाट पनि तय हुने गरेको प्रष्टै छ । कुन घटना र विषयको न्युज भ्यालु धेरै छ र कुनको कम छ भन्ने विषयमा भने मतैक्य कायम हुने गरेको छैन । बहुलवादी मिडियाको विशेषता नै यही हो । जागरुक पाठक वा मिडियाका उपभोक्ताले विभिन्न माध्यममा आएका उही विषयका समाचारबाटै खास तथ्यमा पुग्ने कोसिस गर्छन् । न्युज भ्यालु समाचारलाई चिन्ने र छनौट गर्ने पत्रकारहरूको प्रारम्भिक काम हो भने तयार गरिएका समाचारलाई आफ्नो रुचि वा सोचअनुसार प्राथमिकताका साथ सार्वजनिकीकारण गर्ने अर्को चरणको काम हो ।
बीसौँ शताब्दीको मध्यपछि विकसित मिडियाको सामाजिक उत्तरदायित्वको सिद्धान्तले विद्यमान राजनीतिक प्रणालीको सुसञ्चालनका लागि सूचनाको प्रसार गरिनुपर्ने कुरामा जोड दिन्छ । आमजनतालाई देशमा कानुनबमोजिम गरिएका व्यवस्था वा उनीहरूका अधिकारका बारेमा बताउनु मिडियाको दायित्व हो । सामाजिक सुरक्षा वा विभिन्न समुदायलाई गरिएको छात्रवृत्तिको व्यवस्था व्यवहारमा कतिसम्म रूपान्तरित भएका छन् रु दुर्गम स्थानहरूमा नीतिगत व्यवस्थाको व्यावहारिक अवस्था कस्तो छ ? कानुन बहालीको अवस्था कस्तो छ ? आममानिसले कानुन प्रदत्त अधिकारहरू उपभोग गर्न पाएका छन् कि छैनन् ? यस्ता कैयन विषयवस्तु हुन सक्छन्, जसले मिडियालाई समाजका विविध विषयवस्तुसँग जोड्छन् । विषयवस्तुको दायरा फराकिलो भयो भने मात्र आजको आर्थिक–सामाजिक र राजनीतिक सन्दर्भका नौला विषयमा न्युज भ्यालुको निष्पक्ष रूपमा खोजी हुन थाल्छ । तर त्यस्तो हुन नसकेको अवस्थामा समाचारको दायरा सङ्कुचित हुन पुग्छ ।
भर्खरै गरिएको एक अध्ययनमा नेपाली मिडियामा आउने बालबालिका उल्लेख गरिएका सामग्रीमध्ये दुई प्रतिशत मात्र सारभूत रूपमा बालबालिकामा केन्द्रित रहेको निष्कर्ष प्रस्तुत गरिएको छ । आकार र पार्न सक्ने प्रभावको परिमाण पनि समाचार हो भने १४ वर्ष मुनिकालाई मात्र समेट्दा पनि नेपालको जनसङ्ख्याको झण्डै २९ प्रतिशत हिस्सा बन्न पुग्ने बालबालिकाका बारेमा किन यति कम समाचार बनेका होलान् ? १० वर्षअघि गरिएको एक अध्ययनमा नेपाली अखबारहरूका दलितसम्बन्धी सामग्रीको परिमाण एक प्रतिशतभन्दा निकै कम देखिएको थियो । अहिले केही बढेको छ । तर झण्डै २० प्रतिशतको हाराहारीमा रहेको जनसङ्ख्याको अनुपातमा त्यस समुदायसम्बन्धी समाचार निकै कम देखिन्छ । सरकारी, गैरसरकारी वा जनस्तरमा संविधानले प्रत्याभूत गरेको आधारभूत शिक्षाको अधिकारको बहालीका लागि प्रयासहरू भएका छन् । तर भर्खरै गरिएको एक अध्ययनमा अधिकांश पत्रपत्रिकामा शिक्षासम्बन्धी समाचारको परिमाण दश प्रतिशतको हाराहारीमा देखिएको छ ।
कुनै समाचारलाई प्रस्तुत गर्दा दिइने प्राथमिकतालाई पत्रकारिताको भाषामा प्राइमिङ भन्ने गरिन्छ । कुनै अभियानलाई सघाउने क्रममा पत्रकारहरू कुनै विषयलाई खुब प्राइमिङ गर्छन् । खासगरी कुनै खास ‘एजेण्डा सेट’ गर्न चाहेको बखत त्यस्तो प्राइमिङ गरिन्छ । भनिन्छ, जति प्राइमिङ ग¥यो, पाठक, स्रोता वा दर्शकले त्यस विषयलाई त्यत्तिकै महìवका साथ ग्रहण गर्छन् । कुन–कुन विषयमा न्युज भ्यालु छन्, कुन–कुनमा छैनन् र ती डस्टबिनमा मिल्क्याइन लायक छन् अनि कुन–कुन विषयलाई हेडलाइनमा उल्लेख गर्न जरुरी छ भन्ने तय गर्ने कार्य नै गेटकिपिङ हो । आदर्शका दृष्टिले अथवा सैद्धान्तिक रूपमा भन्ने हो भने गेटकिपिङ कुनै पनि आमसञ्चार माध्यमको स्तर कायम गर्ने अपरिहार्य प्रक्रिया हो । छाप्न वा प्रसारण गर्न अनुपयुक्त सामग्रीलाई काँटछाँट वा अस्वीकृत गरेरै आमसञ्चार माध्यमले आफ्नो भरोसायोग्य र जिम्मेवार छवि कायम गर्न सक्छन् । तर व्यवहारमा न्युज भ्यालुको पूर्णतः बेवास्ता अनि निहित स्वार्थका लागि खास–खास विषयमा प्राइमिङ गर्ने मनसायका साथ गरिने गेटकिपिङका कारण माध्यम विश्वसनीय बन्न सक्दैन ।
विभिन्न अध्ययनबाट देखिएको छ, समाचारका विषयवस्तु चयन गर्दा वस्तुनिष्ठता र न्यूज भ्यालूलाई ध्यान दिने मिडियाहरू नै लोकप्रिय हुन्छन् । त्यति मात्र होइन, समाचारको प्राथमिकता उचित ढङ्गले निर्धारण गर्न सक्ने मिडिया नै उपभोक्ताको नजरमा सम्मानित हुन्छन् । विषयवस्तुको विविधताले मिडियालाई समाजको नयाँ–नयाँ तहमा पु¥याउँछ । फलतः उपभोक्ताको पङ्क्ति फराकिलो बन्दै जान्छ । अनि उपभोक्ताको कोणबाट हेर्दा त्यस्ता विविधतायुक्त मिडिया जीवनका लागि उपयोगी हुन्छन् । त्यस्ता मिडियाबाट उपभोक्ताहरूले विविध विषयका जानकारी, ज्ञान र जीवनउपयोगी सूचना प्राप्त गर्छन् । आदर्श मिडियाले समाजको निगरानी गरिरहेको हुन्छ भने जागरुक समाजले पनि मिडियाको तर्कको मिहिन विश्लेषण गरिरहेको हुन्छ ।
(लेखक त्रिविको पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।) गोरखापत्र अनलाईनबाट