लालबहादुर भुजेल

मानव समय–सापेक्ष आफ्नो मनोहर छटा बदली पृथ्वीमा निहित अनेकौँ प्राणी जगत्लाई हर्षोल्लास, आनन्द, हाँसो, विधि–व्यवहार, आस्था–विश्वास, मूल्य–मान्यता, चाल–चलन, रीतिरिवाज कायम गर्न तल्लीन देखिन्छन् । त्यस अनमोल, अलौकिक, अपार गतिशील समयको नियमानुकूल परिवर्तनलाई हामीले वसन्त, गृष्म, वर्षा, शरद, हेमन्त र शिशिर नामले ऋतुको नामाकरण गरेका छौँ । यही मन्द, सुगन्ध हावा, शीतल, हराभरा, चित्ताकर्षक दृश्यहरूले ओतप्रोत भएको शरद मौसममा नै अधिकांश नेपालीले मनाउने देशकै ठूला चाडहरूमध्ये दसैँ–तिहार पर्छन् । रोजगारीको बाध्यताले मुग्लान पसेका वा अध्ययन र कामकाजको सिलसिलामा विदेश वा स्वदेशकै विभिन्न स्थानमा गएका नेपालीलाई आफन्तजनहरूसँग भेटघाट गराउने अपूर्व अवसर नै दसैँ हो । यो चाडको धार्मिक तथा साँस्कृतिक महŒव हुँदाहुँदै पनि सामाजिक गरिमा अधिक छ ।
वर्षैपिच्छे आइरहने चाडबाडले आ–आफ्नो विशेषता, महŒव राख्छन् । तर, हरेकपटक फरक स्वाद, भोगाइ तथा पृथक परिस्थितिको अनुभूति गराउँछन् । ती चाड विशेषमा क्रियाकलाप, मौलिकता, साँस्कृतिक मूल्य–मान्यता, परम्परा र विविधता प्रायः उस्तै भए पनि उमेर र अवस्थानुसार मनाइने यी चाडले उमङ्ग, उत्साह र गहिरो छाप स्मृतिपटलमा कहिल्यै नमेटिने र नभेटिनेगरी छोडेका हुन्छन् । मानिस क्रमशः बुढ्यौलीमा पदार्पण गर्दै जानेक्रममा, बाल्यावस्था, युवावस्था र प्रौढ अवस्थामा मनाएका चाडबाडको अनुभूति एकदमै फरक हुन्छन् । घरपरिवार–व्यवहारले थिचिएपछि मानिसले बाल्यकाललाई स्वर्णकालको मीठो स्मरण गर्न थाल्छ । हामी बाल्यावस्थामा हुँदा, किसानी परिवारमा बाह्रै महिना घर–गृहस्थी, खेतिपाती, पशुपालनमा लाग्नुपर्ने दिनचर्या हुन्थ्यो । बिछोडिएकाहरूको मिलनबिन्दु नै यही चाड थियो । घरमा फर्कनेहरूको लर्को लाग्थ्यो ।
सञ्चारमाध्यम, प्रविधिको विकास भएको थिएन । मनोरञ्जनका साधनहरूको अभाव थियो । यातायातको कठिनाइले जनजीवन कष्टकर थियो । तर, इच्छा, जाँगर, उत्साह, उमङ्ग थियो । ‘ज्युदाका जन्ती, मर्दाका मलामी’ हुन्थे । एक–अर्कामा दुःख–सुखमा, मेला–पर्म, सहयोग र सद्भाव थियो । समाजसेवाका पवित्र हिमायतीहरू थिए । बाटो, पोखरी, पाटीपौवा, चौतारी स्वःस्फूर्त रूपमा निःशुल्क मर्मत–सम्भार हुन्थ्यो । पिङको आवश्यक सामग्री गह्रुँगा काँचा काठ, उकाली–ओराली, भीर नभनी जनश्रमदानबाटै ल्याएर जडान गरिन्थ्यो । यो याममा वनमा कटुस प्रशस्त पाइन्छ । विशेषप्रकारको घैया धानको चिउरा ढिकीमा कुटेपछि गाउँ नै बसाउँथ्यो र दसैँ आएको आभास हुन्छ । सालको ‘खोटो’ रातभरि पकाएर घरको झ्याल–ढोका, खाँबा रङ्ग्याइन्थ्यो । आकर्षक, मनोरम चित्र–वित्रित्र बनाइन्थ्यो । सेतो कमेरोले घर पोतिन्थ्यो । दसैँमा नयाँ लुगा लगाई पिङ खेल्ने, मान्यजनसँग टीको थाप्दै दक्षिणा जम्मा गर्ने र मासु–भात खाने रहर हुन्थ्यो । स्वर्गीय आनन्द र सन्तुष्टि मिल्थ्यो ।
युवावस्था हुँदै पौढ अवस्थामा आइपुग्दा यो हिन्दुहरूको महान् चाडलाई आफ्नो गच्छेअनुसार निरन्तर मनाउने गरिन्छ । हाम्रा परम्परा र संस्कृतिको जगेर्नाले मात्र देश र जनताको पहिचान बन्दोरहेछ । हीरा र मोतीले मात्र राष्ट्र धनधान्य हुँदोरहेनछ । असोज शुक्ल पक्षमा पर्ने नवरात्रमा, नौ दिनसम्म माता दुर्गा भवानी तथा विभिन्न शक्तिपीठहरूको उपासनापश्चात्, अग्रजहरूको हातबाट टीका र जमरा लगाई आशीर्वाद र प्रसाद लिने प्रचलन छ । जसले गर्दा, सुख–शान्ति र दीर्घायु हुन्छ भन्ने परम्परादेखिको सोच छ । एक–आपसमा मनमुटाव त्यागेर माया, प्रेम साट्ने मौका हो यो । गरिबीको रेखामुनि अधिकांश जनता रहेको हाम्रो मुलुकमा, मीठो–मसिनो खाने र राम्रो लगाउन, दसैँ नै कुर्नुपर्ने अवस्था अझै विद्यमान छ । वृद्धवृद्धाहरूमा वर्षको एक दिन भुइँ छोड्नुपर्छ भन्ने मान्यता रहिआएको छ । यस वर्ष कोभिड–१९ को महामारीले अनुजभन्दा अग्रज पुस्ता बढी प्रभावित भई थलिएका छन् । टीका थापेर आशीर्वाद ग्रहण गर्ने नाममा ज्येष्ठ पुस्ता जोखिमको सिकार भए भने को जिम्मेवार हुन्छ रु अग्रजप्रतिको आदरभावको नाममा जघन्य घात र अपराध हुनेछ । सरकारी उर्दीलाई बेवास्ता नगरी कर्तव्यका रूपमा मनन गरेमा, सबैको कल्याण हुनेछ । शक्तिको उपासनाका लागि मठ–मन्दिर धाएर भीडभाड गर्न जरुरी छैन । मन–मन्दिर नै पर्याप्त छ । अहिलेको जटिल अवस्थामा जो जहाँ छौँ, त्यही बसेर पनि मान्यजनको सदाशयता, असीम स्नेह अनवरत प्राप्त गरिरहेकै हुन्छौँ । ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनू’ उक्ति मनन गरौँ । जिउ रहे घिउ पिउन पाइन्छ ।

                                                                                                           गोरखापत्र अनलाईनबाट