दिनेश कुमार थापा (लेखक शिक्षण तथा अनुसन्धानमा संलग्न हुनुहन्छ ) 

विद्यालयमा स्वाभाविक रूपमा सघन जनसङ्ख्या हुने भएकाले विद्यालय बन्द गरेर कोभिड–१९ प्रकोपको प्रसारणमा कमी ल्याउन सकिन्छ भन्ने विचार सान्दर्भिक छ । सघन रूपमा बालबालिकाको उपस्थिति हुनाले विद्यालयमा शैक्षिक गतिविधिहरू सञ्चालन गरिरहँदा कोभिड–१९ प्रकोपको समयमा आवश्यक पर्ने सामाजिक दूरी कायम गर्न, विद्यार्थी–विद्यार्थीबीच तथा शिक्षक–विद्यार्थीबीचको शारीरिक, सामाजिक दूरी कायम गर्न समस्या पर्दछ । हाम्रा प्रायःजसो विद्यालयमा यस्तो दूरी कायम गरी पठनपाठन सञ्चालन गर्ने अवस्था छैन ।
डब्ल्यूएचओको भनाइमा नोबेल कोरोना भाइरस भीडभाड रहेको अवस्थामा मानिसकोे श्वास तथा हावामा बढी सङ्क्रमणयुक्त हुन्छ । बन्द कोठाहरूमा भाइरसले सङ्क्रमण गर्ने दर उच्च राख्दछ । विद्यालयमा कुनै बालबालिका वा शिक्षकमा सङ्क्रमण भएमा बालबालिका एक–अर्कोलाई, शिक्षकहरू तथा परिवारका सदस्यहरूबाट पूरै समाजमा सङ्क्रमण फैलाउने सम्भावना उच्च रहन्छ । तथापि, विद्यार्थीको सिकाइ तथा सामाजिक विकासका लागि विद्यालय सञ्चालन गर्नुभन्दा अन्य विकल्प भने सर्वोत्तम हुनै सक्दैन ।

केही अन्तर्राष्ट्रिय सन्दर्भ


संसारका धेरै देशहरूले कोभिड–१९ प्रकोपको समयमा आफ्ना विद्यालय, कलेज र विश्वविद्यालय बन्द गरेका छन् । बेलायतले अप्रिलदेखि स्कुल बन्द ग¥यो । संयुक्त राज्य अमेरिकामा प्रायः स्कुलले ब्लेन्डेड ९मिश्रित० कक्षा बनाएका छन्, जहाँ बिद्यार्थीले केही दिन कक्षा कोठामा र केही दिन अनलाइनबाट कक्षा लिइरहेका छन् । कोभिड–१९ सङ्क्रमण फैलिएको लगभग एक महिनापछि नर्वे र डेनमार्कमा अप्रिलमा विद्यालय पुनः सञ्चालन गरियो । विद्यार्थीको स्वास्थ्यमा अत्यन्त चासो राख्ने, धेरै सामाजिक दूरी हुने किसिमका वर्गाकार कक्षाकोठा बनाउने, सबैले अनिवार्य मास्क लगाउनेजस्ता उपायहरू अपनाइयोे । समुदायस्तरमा पनि सङ्क्रमण दर न्यून भएकाले विद्यालय खोल्दैमा कुनै पनि समस्या देखिएन । इजरायलमा विद्यालय सञ्चालन भएको एक हप्तामा विद्यालयबाटै सङ्क्रमण उच्च दरमा फैलिएको पाइएपछि विद्यालयलाई पुनः बन्द गरियो । अस्ट्रेलियामा शिक्षण संस्थाहरू आंशिक रूपमा बन्द छन् । कोरोना भाइरसको सुरुवात देखिएको चीनमा धेरै समयसम्म विद्यालय पूर्ण रूपमा बन्द गरिए । भारतमा गत मार्चबाट बन्दाबन्दी सुरु भएदेखि नै शिक्षण संस्थाहरू पूर्ण रूपमा बन्द छन् । बङ्गलादेशले मार्चदेखि सबै शिक्षण संस्थाहरू बन्द गरेको छ । त्यहाँका सार्वजनिक परीक्षा र विश्वविद्यालयका परीक्षा पनि स्थगित छन् । सीमित स्रोतको बाबजुद पनि त्यहाँका शैक्षिक संस्थाले इन्टरनेट, फेसबुक, रेडियो र टेलिभिजनजस्ता वैकल्पिक कक्षा प्रभावकारी रूपमा चलाएका छन् ।

नेपालको अवस्था
नेपालमा मार्च १ देखि नै विद्यालय तथा सबै शैक्षिक संस्थाहरूमा औपचारिक शिक्षण सिकाइ क्रियाकलापहरू स्थगित छन् । पूर्वप्राथमिक, आधारभूत र माध्यमिक शिक्षामा गरी करिब ८० लाख विद्यार्थी वर्तमान अवस्थामा प्रत्यक्ष रूपमा प्रभावित छन् । शैक्षिक संस्थाहरूमा शिक्षण प्रक्रिया, सिकाइ क्रियाकलाप तथा विद्यार्थी मूल्याङ्कनमा प्रत्यक्ष प्रभाव परेको छ ।
कोभिड–१९ प्रकोपका कारणले शैक्षिक संस्थाहरू बन्द रहेको अवस्थामा पनि विद्यार्थीको सिकाइलाई जारी राख्नका लागि हाम्रोमा केही उपाय अवलम्बन गरिएका छन् । सरकारी तवरबाट रेडियो, टेलिभिजनको माध्यमबाट सिकाइ पाठहरू प्रसारण भइरहेका छन् । निजीस्तरबाट पनि शैक्षिक संस्थाहरूले टेलिभिजनको माध्यमबाट सिकाइ पाठहरू प्रसारण गरेका छन् । केही विद्यालयले विद्यार्थीको घरदैलोमा गएर सिकाइ सहयोग पनि गरिरहेका छन् । टोलटोलमा बालबालिका जम्मा गरी सिकाइ सहयोग गर्ने, टेलिफोनको माध्यमबाट सिकाइलाई सहयोग गर्ने, वैकल्पिक दिनहरूमा केही कक्षाका विद्यार्थीलाई विद्यालयमा उपस्थित गराई सिकाइ परामर्श गर्ने, साप्ताहिक रूपमा गृहकार्य प्रदान गर्ने जस्ता वैकल्पिक उपायहरू अवलम्बन गरिएका छन् । सम्भव हुने अवस्थामा अनलाइन कक्षाहरू पनि सञ्चालन भएका छन् । तथापि, यस्ता कार्यबाट लक्षित विद्यार्थीले के–कति मात्रामा सिक्न सके तथा कत्तिको प्रभावकारी भए भन्नेबारेमा चाहिँ लेखाजोखा भएको छैन ।

महामारीको प्रभाव
कोभिड–१९ महामारीले संसारभरका ९१ प्रतिशतभन्दा बढी विद्यार्थीलाई असर गरेको छ । नेपालमा पनि प्रभाव उस्तै छ । विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको छ । केही बालबालिकामा यसले मानसिक समस्या पनि निम्त्याएको छ । शिक्षामात्र नभई, धेरै बालबालिकाको पोषण र हेरचाहमा समस्या निम्तिएको छ । आर्थिक उपार्जन गर्न दैनिक ज्यालादारी गर्नुपर्ने परिवार र पिछडिएका पृष्ठभूमिबाट आएका बालबालिका कोभिड–१९ महामारीबाट बढी प्रभावित भएका छन् । यस्ता बालबालिकाको सिकाइमा अभिभावकको प्रत्यक्ष सहयोग कमैमात्र प्राप्त हुने हुनाले विद्यालय बन्द रहँदा उनीहरूको सिकाइ सबैभन्दा बढी प्रभावित छ । त्यस्तैगरी, शिक्षकको प्रत्यक्ष सहयोगको बढी आवश्यक पर्ने प्राविधिक र व्यावसायिक विषय अध्ययन गर्ने विद्यार्थी पनि धेरै प्रभावित भएका छन् ।
लामो समयसम्म विद्यालयको पठनपाठन बन्द हुँदा बालबालिका सामाजिक रूपमा एक्लो महसुस हुने, यौन दुव्र्यवहारको सिकार हुन सक्ने, लागूपदार्थको कुलतमा फस्न सक्ने तथा डिप्रेसनको समस्यामा पर्नसक्ने हुन सक्छन् । विद्यालय बन्द रहँदा विद्यार्थी, शिक्षक तथा परिवारमा मात्रै प्रभाव नपरी यसको भविष्यसम्म सामाजिक र आर्थिक दुष्प्रभावहरू पर्न सक्छन् ।

आगामी बाटाहरू
महामारी अन्त्यको आशासँगै तमाम अभिभावक आफ्ना बालबालिकालाई विद्यालयमा पठाउन आतुर छन् । विद्यार्थी साथीभाइसँगै बसेर पठनपाठनलाई अगाडि बढाई आफ्नो भविष्य निर्माण गर्ने चिन्तामा छन् । निश्चय नै शिक्षक विद्यालय कसरी पुनःसञ्चालन गर्ने, विद्यार्थीमा भएको शैक्षिक क्षतिलाई कसरी कमी गर्ने र कसरी विद्यार्थीलाई कक्षाको मूलधारमा समावेश गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउने भन्नेबारे चिन्तित छन् ।
यो अवस्थामा हामीसँग विद्यालय जतिसक्दो चाँडो खोल्नुको प्रभावकारी विकल्प छैन । विद्यालय नियमित तालिकामा मात्र नभई, वैकल्पिक तालिकामा पनि खोल्न सकिन्छ ।

विद्यालयमा कक्षाकोठाभित्र मात्रै क्रियाकलापलाई सीमित नराखी कक्षाकोठाबाहिरका स्थलहरूलाई पनि प्रयोग गर्न सकिन्छ । तथापि साबुनपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क अनिवार्य गर्नेजस्ता सावधानीको राम्ररी व्यावस्थापन गरेरमात्रै विद्यालय खोल्नुपर्ने हुन्छ ।
हाम्रो सन्दर्भमा अनलाइन शिक्षाका लागि तत्काल उपयुक्त पूर्वाधार र पहुँचमा कमी छ । अभिभावक र विद्यार्थीसँग अनलाइन सुविधाको पहुँचमा ठूलो अन्तर छ । भर्खरै राष्ट्रिय दैनिकमा प्रकाशित एउटा सर्वेक्षणअनुसार केन्द्रीय राजधानी रहेको बागमती प्रदेशमा पनि इन्टरनेटको पहुँच भएका विद्यार्थी ३० प्रतिशतमात्र रहेको तथ्यले अनलाइन शिक्षण हाम्रो सन्दर्भमा तत्कालका लागि सबैको पहुँचमा देखिएको छैन ।

पाठ्यक्रम पनि अनलाइन शिक्षणका लागि तयार गरिएको छैन । बहुसङ्ख्यक शिक्षक अनलाइन प्रविधिमार्फत पढाउन सक्षम छैनन् । यसर्थ, विद्यालयको पठनपाठन बन्द रहेको अवस्थामा रेडियो र टेलिभिजनमार्फत गरिने सिकाइ सहयोग नै बहुसङ्ख्यक विद्यार्थीको पहुँचमा पुग्ने हुँदा बढी उपयुक्त देखिन्छ । तथापि, भविष्यमा विद्यालयमा सूचना प्रविधिको पूर्वाधार विकासका लागि लगानीको प्रबन्ध तथा सूचना– प्रविधिको पहुँचमा व्यापक विस्तार गरी मिश्रित अनलाइन ढाँचामा शिक्षण–सिकाइ अगाडि बढाउनुपर्दछ ।

सिकाइ क्षति तथा भविष्यको चिन्तामा रहेका विद्यार्थी तथा उनीहरूका अभिभावकहरूलाई सिकाइका विविध विकल्प तथा कार्यक्रमहरूका बारेमा परामर्श गर्ने कार्य विद्यालय तथा शैक्षिक निकायहरूको दायित्व हो । यसका लागि विद्यार्थी र अभिभावकसँग तत्कालै सञ्चार–सम्पर्क गरी अभिभावक तथा विद्यार्थीलाई परामर्श कार्यक्रम अगाडि बढाइनुुपर्दछ । विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिनका लागि पाठ्यक्रमलाई छोट्याएर आधारभूत विषयवस्तुहरूमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेर पनि सम्पूर्ण विद्यार्थीलाई अध्ययन गर्ने वातावरण निर्माण गरिनुुपर्दछ ।
(लेखक शिक्षण तथा अनुसन्धानमा संलग्न हुनुहन्छ )
गोरखापत्र अनलाईबाट