खुला विश्वविद्यालय वास्तवमा दूरदराजका, कामकाज तथा भौगलिक कारण तथा चाहँदा चाहँदै पनि उच्च शिक्षामा पहुँच नपुगेका विद्यार्थीका लागि नै स्थापना गरिएको हो । रोजगारीमूलक तथा सीपमूलक लगायत विभिन्न किसिमका शिक्षा विश्वविद्यालयले दिन्छ । यो सिलसिलामा विश्वविद्यालयले अहिलेसम्म तीनवटा संकायमा अध्यापन गराइरहेको छ । म्यानेजमेन्ट एन्ड ल, सोसल साइन्स एन्ड एजुकेसन, साइन्स, हेल्थ एन्ड टेक्नोलोजी गरी तीनवटा संकायमा पढाइ हुन्छ- ब्याचलर्सदेखि मास्टर, एमफिल र पीएचडी कार्यक्रम सञ्चालनमा छन् ।

वास्तवमा विश्व विद्यालयले पहुँच दिनका लागि हामीहरूले अहिले आएका नयाँ-नयाँ ढङ्ग, सिकाइ प्रविधि उपलब्ध गराएर शिक्षा दिनुपर्ने हो । तर‚ अहिलेसम्म खुला विश्वविद्यालयले खुला कार्यक्रमहरू सञ्चालनमा ल्याएका छैनन् । अहिले जति कार्यक्रम सञ्चालन भएको छ; त्यो सबै दूर शिक्षामा आधारित छ ।

जहाँसम्म महँगो भन्ने कुरा उठेको छ । धेरै महँगो भएको छ जस्तो लाग्दैन । हाम्रो विश्वविद्यालयमा एमबीएको पढाइ २ लाख ५० हजार रुपैयाँमा हुन्छ । त्यहि एमबीए त्रिभुवन विश्वविद्यालय वा काठमाडौं विश्वविद्यालयसँग तुलना गर्नुभयो भने ५ लाखको हाराहारीमा पर्छ । त्यसको तुलनामा हाम्रो सस्तो छ । निजी क्षेत्रमा त १० लाख पनि पर्न सक्छ । शुल्कसँगै गुणस्तरको पनि कुरा गर्नुपर्छ । एमबीए नै त १ लाखको पनि पाउँछ नि !कस्तो डिग्री र कस्तो गुणस्तर दिने भन्ने कुरा आउँछ ।

सरकारले सहयोग गरेमा विश्वविद्यालयबाट प्रदान गरिने सबै शिक्षा निःशुल्क रुपमा प्रदान गर्छौं । सरकारले त्यो गर्न सक्छ कि सक्दैन भन्ने कुरा नै प्रमुख हो किनभने अहिलेसम्म विद्यालयलाई चाहिने आर्थिक सहयोग सरकारले दिन सकेको अवस्था छैन ।

वास्तवमा सार्वजनिक शिक्षाको सबलीकरण हुनुपर्ने सबैले महसुस गरेका छन् । सबलीकरण हुनुपर्नेमा दुई मत छैन । शिक्षा भन्ने कुरा पहिला घरबाट सुरु हुन्छ । आफ्ना बच्चालाई सुरुमा बा-आमाले के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने ज्ञान; संस्कृति, म‍ूल्य-मान्यताबारे सिकाइ र अन्य सकारात्मक कुरामा जोड दिनुपर्छ । जसबाट असल घरको निर्माण भएपछि समाज र राष्ट्र पनि असल हुन्छ । सार्वजनिक शिक्षाको विषयमा पनि सबैभन्दा पहिला सबल शिक्षकको आवश्यकता पर्छ । ज्ञान दिने व्यक्ति भएकाले विद्यालयमा शिक्षक नियुक्ति गर्ने बेलामा ध्यान दिनुपर्छ । राजनीतिक आधारमा पनि आउनुभएन । ‘मेरोटीक्रेसी’लाई हामीले एडप्ट गरेका छौं कि छैनौं भन्ने कुरा हुन्छ । सक्षम शिक्षकले नै विद्यार्थीलाई राम्रो ज्ञान दिन सके असल जनशक्ति उत्पादन हुन्छ ।

शिक्षकसँगै शिक्षकको क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्छ । शिक्षकलाई पनि ट्रेनिङ, एक्सपोजरको आवश्यकता पर्छ । शैक्षिक संस्थाको नेतृत्व लिने तथा प्रधानाध्यापकहरूले नारायणप्रसाद सिग्देलबाट धेरै कुरा सिक्नुपर्छ । हाम्रा शिक्षकहरूमा कमिटमेन्ट र डेडिकेसनको पनि कमी भएको देखिन्छ । त्यसलाई परिपूर्ति गर्नुपर्छ । त्यसकारण यो परिवारबाटै सुरु हुनुपर्छ । हामीले गलत काम गर्नहुन्न भन्ने कुरा परिवारमै सिकाएपछि त्यो प्रोफेसनमा पनि लागू हुन आउँछ । प्रपर मनिटरिङ र इभ्यालुएसन सिस्टम पनि हुनुपर्छ । यो देखावटीका लागि मात्र हुनु भएन । कमजोरी भइरहेको छ भने कसरी सुधार्ने र विकास गर्ने भनेर रिवार्ड र पनिसमेन्टको पनि व्यवस्था गर्नुपर्छ । राम्रो काम गर्नेलाई पनि पुरस्कृत गर्नुपर्छ भने नराम्रो गर्नेलाई जरिवानाको व्यवस्था गर्नुपर्छ । सबै मानिसले आफूसँग एउटा ‘बीज’ लिएर आएका हुन्छन्‚ त्यसैले ‘राइट म्यान इन राइट जब’ भन्न खोजेको हो ।

सामान्यतया शिक्षामा बजेट १०/११ प्रतिशत‚ त्यो पनि तलबका लागि मात्रै छ । हामीलाई एजुकेटिङ प्रोसेसमा बजेट हुनुपर्‍यो‚ जुन केजरीवालको कुरामा पनि आइसकेको छ । शिक्षा दिने प्रकृयामा लगानी गर्नुपर्छ । हाम्रा शिक्षकहरूलाई कार्यशालामा लगेर तालिम दिने, ल्याबको व्यवस्था गर्ने हो कि मेटिरियलको व्यवस्था गर्ने हो; त्यसबारे ध्यान दिनुपर्छ ।

कान्तिपुर अनलाईनबाट ।