• टीकाराम आचार्य

निर्दिष्ट उद्देश्य प्राप्तिका लागि मानवीय एवं भौतिक स्रोत/साधनको समुचित परिचालन र व्यवस्थापन गर्ने कार्य नै प्रशासन हो । प्रशासनले योजना, सङ्गठन, नियन्त्रण र समन्वयजस्ता व्यवस्थापकीय प्रक्रियाको कार्यान्वयनमार्फत अन्य कार्य सम्पादन गराउँछ । सङ्गठनका गतिविधिको प्रभावकारी व्यवस्थापन र साधनको मितव्ययी प्रयोगसँग सम्बन्धित छ प्रशासन । सरकारी वा सामूहिक हित प्रवद्र्धन तथा निर्देशित, सार्वजनिक उद्देश्य प्राप्तिका लागि मानवीय स्रोत र साधनको समुचित परिचालन, निर्देशन, समन्वय, सञ्चालन एवं व्यवस्थापन गर्न सरकारद्वारा सञ्चालित संयन्त्र नै सार्वजनिक प्रशासन हो । सार्वजनिक प्रशासन सिद्धान्तको व्याख्यात्मक टिप्पणीको सुरुवात सन् १८८७ मा अमेरिकी पूर्वराष्ट्रपति उड्रो विल्सनबाट भएको हो । उहाँले सार्वजनिक प्रशासनलाई सार्वजनिक कानुनको विस्तृत एवं व्यवस्थित कार्यान्वयन हो र प्रत्येक कानुनको कार्यान्वयन गर्नु प्रशासनको अपरिहार्य कार्य हो भनी परिभाषित गर्नुभएको छ । त्यसपछि विभिन्न विद्वान्ले आआफ्नो तर्क प्रस्तुत गर्दै सार्वजनिक प्रशासनलाई विभिन्न तवरबाट परिभाषित गरेका छन् ।

सार्वजनिक हित र कल्याणका निमित्त सार्वजनिक कानुनको प्रयोग गरी सरकार र अन्य शासकीय साझेदार पात्रमार्फत कार्यसञ्चालन, नियमन र प्रवद्र्धन गरिने विधिसम्मत प्रशासनलाई सार्वजनिक प्रशासन भनिन्छ । सार्वजनिक प्रशासनले एकातिर नागरिकसामु सरकारको सार्थक उपस्थितिको बोध गराउँछ भने अर्कोतिर नागरिकका चाहना, आवश्यकता र जनगुनासा सरकारसमक्ष प्रस्तुत गरिदिन्छ । सरकारको कार्यकारी अङ्गका साथै शासन सञ्चालनमा सरकारको सहयोगी संयन्त्रका रूपमा रहेको सार्वजनिक प्रशासन मानिसको जन्मपूर्वदेखि मृत्युप्रयन्तका गतिविधिसँग सम्बन्धित छ । यसको विकास मानव सभ्यताको प्रारम्भदेखि भएको पाइन्छ । यस्तो अवस्थामा सार्वजनिक प्रशासन र यसका संयन्त्र सञ्चालन गर्ने मानवीय संरचनामा सदाचार र नैतिकताको व्यावहारिक प्रयोग हुनु अपरिहार्य हुन्छ ।

सदाचार शब्द आचार शब्दमा सत् उपसर्ग लागेर बनेको छ जसको अर्थ असल वा राम्रो आचरण, व्यवहार वा कार्य भन्ने हुन्छ । यस अर्थमा सदाचारी व्यक्ति भन्नाले शुभ आचरण, राम्रो चालचलन वा शिष्ट व्यवहार भएको व्यक्ति भन्ने बुझिन्छ । त्यस्तैगरी नीति शब्दमा इक प्रत्यय मिलेर नैतिक शब्द बनेको छ । जसले समाजमा स्थापित मानक नीति नियम वा कानुनको ढाँचाको परिधिमा रहेर मानिसले प्रस्तुत गर्ने नैतिक व्यवहार नै नैतिकता हो । नैतिकताले मानिसलाई सही र गलत कार्य छुट्याइ सही कार्य वा व्यवहारलाई मात्र अङ्गीकार गर्न उद्दत गराउँछ । यस अर्थमा नैतिकता विवेकपूर्ण सचेतना हो । साथै असल जीवन कसरी जिउने ? आफ्ना कर्तव्य र अधिकार के हुन् ? के गर्नु ठीक के गर्नु बेठीक हो ? के असल र के खराब हो ? भन्नेजस्ता प्रश्नको उत्तर प्रदान गर्छ । कुनै पनि सङ्गठन मानव संसाधनद्वारा सञ्चालित हुन्छ । त्यसको सञ्चालकमा सदाचारिता र नैतिकता
अपरिहार्य हुन्छ ।

नेपालको सन्दर्भमा सम्पूर्ण ऐन नियम र बन्दोबस्तमा सोहीअनुरूपको संयोजन हुन पनि आवश्यक छ । यति हुँदाहुँदै पनि राजनीतिक नेतृत्वमा नीतिको प्रबन्ध गर्ने कौशलता र प्रशासकीय नेतृत्वमा शासकीय व्यवस्थापन गर्ने कौशलता नभएमा शासकीय प्रबन्धले सन्तुलन गुमाउन सक्छ । त्यतिबेला पूर्ण सूचनासम्बन्धी जानकार, राष्ट्रप्रति बफादार, उच्च नैतिकता भएका नागरिकले नै चुनावबाट हुने छनोटमार्फत विवेकको प्रयोग गरी सन्तुलन ल्याउनुपर्ने हुन्छ । हाम्रो समाजमा अधिकांश मानिस सदाचार, नैतिकताका आधार स्तम्भमा अडिग रहेर स्थापित मानकअनुरूपका वैधानिक र सर्वमान्य कार्यभन्दा पनि क्षणिक फाइदा र अनुचित आचरणमा लिप्त भई सोही प्रकारको प्रवृत्तिमै रमाउने गरेको पाइन्छ । शक्तिशाली र प्रभावशाली मानिस नातापाता खोज्दै घरमा पुग्छन् र कतिपयमा लेनदेन पनि हुनसक्छ भन्ने जनगुनासो पनि छ ।

यस प्रकार अनुचित काम गर्ने र अपराध गर्नेको मति कुनै न कुनै ढङ्गले प्रशासन, प्रहरी र नेताहरूसँग सम्बन्ध हुन पुग्छ । अपराधीले अपराध नियन्त्रण गर्नेको सहयोग र समन्वयमा अपराधबाट बच्न नेतासमक्ष पुग्ने सम्पर्क सूत्र पहिल्याएका पनि हुन्छन् भन्ने सुनिन्छ । बदलिँदो परिवेश र परिस्थितिअनुरूप शासकीय र प्रशासनिक संयन्त्रलाई परिवर्तन गर्न सकिएन र परिवर्तनलाई आत्मसात् गर्न सकिएन भने सङ्गठनको अस्तित्व र औचित्यतामाथि प्रश्न उठ्ने गर्छ । फलस्वरूप सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको अभाव महसुस हुन्छ । शासन, प्रशासन र विकासमा सदाचार र नैतिकता अपरिहार्य तìवका रूपमा स्थापित रहन्छ । सदाचार र नैतिकता देखिनेभन्दा अनुभूति गरिने विषय भएकाले जबसम्म शासन सञ्चालनमा जनसहभागिता, पारदर्शिता, जबाफदेही, कानुनी शासन आदि–इत्यादि कायम हुनुपर्छ ।

लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन् त्यसैले राष्ट्र र जनताको बृहत्तर हित सुशासनको माध्यमबाट मात्र सम्भव हन्छ । जुन मुलुकमा जनताको सर्वोत्तम हित गरिन्छ त्यहाँ नै असल शासन वा सदाचार र नैतिकतायुक्त सार्वजनिक प्रशासनको जन्म हुन्छ । सामान्य अर्थमा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकता भन्नाले असल शासन, उत्तम शासन, सुधारिएको शासन भन्ने बुझिन्छ । सदाचार र नैतिकता भनेकोे राजनीतिक रूपमा प्रजातान्त्रीकरण, आर्थिक रूपमा उदारीकरण, सामाजिक रूपमा समावेशीकरण, प्रशासनिक रूपमा सुदृढीकरण, शासकीय शक्तिको विकेन्द्रीकरण, भ्रष्टाचारजन्य कार्यको न्यूनीकरण, औद्योगिक क्षेत्रको विश्वव्यापीकरण, जनसहभागिता, पारदर्शिता, जबाफदेहिता, वैधानिकता आदि पक्ष झल्किएको शासन व्यवस्था हो । त्यसैले प्रशासनमा सदाचार र नैतिकताको उच्च भूमिका रहन्छ । शासन व्यवस्थाका सम्पूर्ण आयामलाई सुधारका एजेन्डामा समावेश गरी राज्य प्रणालीलाई बढी कानुनसम्मत, विकेन्द्रित तथा सहभागितामूलक, पारदर्शी र जबाफदेही बनाउने प्रयास गरिन्छ त्यो नै नैतिकता र सदाचारयुक्त प्रशासनिक संस्कार हो । सदाचार र नैतिकतालाई लोकतन्त्रको आधारशिला पनि मानिन्छ ।

राज्यको नीति नियम तथा कानुन कार्यान्वयन गर्ने राज्यको स्थायी संयन्त्र सार्वजनिक प्रशासन हो । उपलब्ध स्रोत, साधन र अवसरको समानुपातिक वितरण भई जनताको निरन्तर समृद्धि भएमा मात्र प्रशासनमा सुशासनको जन्म हुन्छ । यही उच्चतम अवस्था रहेमा मात्र सार्वजनिक प्रशासन संयन्त्रमा सदाचार र नैतिकताको दियो बल्छ । सदाचार र नैतिकतालाई प्रशासनिक, कानुनी, राजनीतिक, आर्थिक, व्यवस्थापकीय, नैतिक आदि आयामबाट विश्लेषण गरिन्छ । नेपालको सार्वजनिक प्रशासनमा सदाचार र नैतिकता प्रवद्र्धन गर्न विभिन्न कालखण्ड विभिन्न दस्तावेज तर्जुमा नभएका पनि होइनन् तर केही जिम्मेवार व्यक्ति आर्थिक, राजनीतिक, सांस्कृतिक र व्यावहारिक दम्भ प्रस्तुत गर्नेतर्फ तल्लीन हुँदा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको सूचक खस्कँदो छ ।

राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिकवान, पेसागत रूपमा व्यावसायिक प्रशासन निर्माण गर्न सकेमा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकता कायम रहन्छ । सदाचार र नैतिकतालाई अनेकौँ सामाजिक विकृतिको एकमुष्ट उपचार मानिन्छ । सदाचारी र नैतिकवान प्रशासनले सत्य, निष्ठा, मर्यादा, मानवीयता र मिहिनेतलाई जीवन ठान्दछ । जसबाट प्रशासन सञ्चालनमा कानुनको शासन, नागरिक सम्मान, सक्षम न्याय प्रणाली, दिगो शासन प्रणाली, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा सरकार र शासनको वैधता कायम राख्नमा उल्लेखनीय भूमिका खेल्छ ।

सार्वजनिक प्रशासन विज्ञ, व्यावसायिक, क्षमतावान व्यक्तिहरूको समूह तथा स्थायी संयन्त्र भएकाले सार्वजनिक नीति निर्माण र कार्यान्वयनमा सार्वजनिक प्रशासन संयन्त्रको अहं भूमिका रहन्छ । जसले राज्यका तर्फबाट नियमित तथा आकस्मिक सेवा प्रवाह गर्ने भएकाले सरकार र जनताबीचको सम्बन्ध प्रगाढ बनाउँदै सरकारको दिगोपनाको सुनिश्चिता निर्माणको आधार स्तम्भका रूपमा सार्वजनिक प्रशासन रहन्छ । विश्वव्यापीकरणको बदलिँदो परिवेशभित्र सार्वजनिक प्रशासनलाई उदार पारदर्शी तथा जनताले महसुस गर्ने गरी विकासको प्रतिफल जनस्तरसम्म पु¥याउन सकेमा सार्वजनिक प्रशासन संयन्त्रमा सदाचार र नैतिकताको बास्ना छर्दथ्यो । कमजोर विधिको शासन, प्रक्रियामुखी कार्यढाँचा, अधिकारको केन्द्रीकृत, राजनीतिक हस्तक्षेप, विकास प्रशासनको दीर्घकालीन नीतिको अभावजस्ता पक्षको कमीले गर्दा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको अवस्था कमजोर नै देखिन्छ, जसले गर्दा दण्डहीनता, भ्रष्टाचार, असमानता, सामाजिक न्याय र समन्यायको कमीजस्ता नकारात्मक पक्ष मौलाउने गर्छन् । बदलिँदो परिवेशलाई आत्मसात् गर्दै राजनीतिक स्थायित्व कायम गरी दृढ इच्छाशक्तिका साथ कर्मचारीतन्त्रले कार्य गर्दै दीर्घकालीन सोचमा आधारित नीति नियम तथा रणनीति तर्जुमा गरी सोको व्यावहारिक कार्यान्वयन गर्न सकेमा प्रशासनमा सदाचार र नैतिकता स्थापित हुन्छ ।                                                                                     -गोरखापत्र अनलाईनबाट ।