वर्षौंदेखि मधेसी शब्द सीमान्तकृतको पर्याय बनेको थियो, त्यसले अझ कति वर्षसम्म निरन्तरता पाउने हो ?
विराटनगरका एक बुज्रुक प्राध्यापकले अस्ति मलाई फोन गरे। फोनमा आक्रोशसँगै संवेदनशीलताको समिश्रण थियो। उनले अर्ती दिइरहेका थिए, ‘तपाईंका हरेक पोस्ट गम्भीरताका साथ पढ्छु। तर तिनले मेरो बुढेसकालमा खुसी प्रदान गर्नुभन्दा दुःखी तुल्याउँछ। तर जतिसुकै चित्त दुखे पनि नपढी छोड्दिनँ। किनकि त्यसमा थुप्रै अन्य जानकारी पनि हुन्छन्। तर, जतिबेला पनि तराई—मधेसको कुरा मात्र किन कोट्ट्याइरहनु हुन्छ ?’ विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा प्राध्यापन गर्दाका बखत उनी अभिभावक सरह थिए। हामी प्रगतिशील समूहमा थियौं। सुखदुःखका कुरा बाँट्थ्यौं। त्यसैले उनले प्रस्ट रूपमा आफ्नो मनको कुरा पोखेको हुन सक्छ।
वास्तवमा अन्नपूर्ण पोस्ट्को आफ्नो नियमित स्तम्भ ‘तराई—मधेस’ बाट केही महिनाका लागि विराम लिएपछि फेसबुक पोस्टबाहेक अर्का कुनै भरपर्दो माध्यम थिएन मसँग। त्यसैले प्रत्येक दिन पोस्ट गर्दा तराई मधेसलाई नै प्राथमिकतामा राख्थें। यस अर्थमा प्राध्यापकको गुनासो आउनु स्वाभाविक थियो। किनकि प्राध्यापनकालमा मुलुकलाई जसरी बुझेको थिएँ, त्यो वर्षौंवर्षको संगतबाट उहाँलाई थाहा थियो। यस्तो अवस्थामा नियमित रूपमा मधेसको सन्दर्भमा मात्र लेख्नु कतै साम्प्रदायिकतावादले काखी च्यापेको हो कि भन्ने उनको आशंका हुनसक्छ।
स्वाभाविक पनि हो, एकताका मधेस शब्द उच्चारण गर्नेबित्तिकै सीमान्तकृतको आरोप लगाइन्थ्यो। भारतसँग जोडिन्थ्यो। धोती, मर्सिया इन्डियन भनिन्थ्यो। त्यसको कतिपय अवशेष अद्यावधि कायम भए पनि धेरै अर्थमा त्यसले समाधानको बाटो पहिल्याइसकेको छ। सुखद पक्ष के भने पञ्चायतकालमा यस प्रकारको सोच घनिभूत रूपमा भए पनि ८२ बर्से प्राध्यापकमा भने कहिल्यै दृष्टिगोचर भएन। सायद यही कारणले होला भारतबाट पठनपाठनमा आएका प्राध्यापकहरू मात्र होइन, मधेसी प्राध्यापकहरू पनि उनलाई औधी माया गर्थे।
तराई—मधेसको उठान
अहिले पृथ्वीनारायण शाहको ३००औंं जन्मजयन्तीको अवसरमा व्यापक चर्चा भइरहेको तथ्य के हो भने उनी राष्ट्रिय एकताका प्रतीक हुन् कि होइनन्। एउटा पक्षले यस प्रकारको विचारलाई पक्षपोषण गरेको छ भने अर्को पक्षले विरोध गरिरहेका छन्। तराई—मधेसको प्रष्ट दृष्टिकोण छ उनी एक विजेता थिए। सामन्तवादको जगजगीमा जसरी ५२ वटा राज्यलाई उनी र उनका दोस्रो र तेस्रो पुस्ताका सन्ततिले संरचनात्मक आयातकार एउटा मुलुकको आकार दिए, त्यो भौगोलिक एकीकरण थियो, राष्ट्रिय एकीकरण होइन। राष्ट्रिय एकीकरण भएको भए मल्लकालीन उपत्यकामा राज्यभाषाको हैसियत पाएका नेपाल भाषा (नेवार भाषा) र मैथिली भाषालाई समूल नष्ट गर्ने दुस्साहस उनले गर्ने थिएनन्। त्यसैले पृथ्वीनारायणले एकल राष्ट्रिय राज्य बनाए, बहुराष्ट्रिय राज्य बनाएनन्।
यस सन्दर्भमा एकीकरणका पक्षधरहरूले एउटा के तर्क दिन सक्छन् भने त्यतिबेला राष्ट्रिय राज्यको अवधारणा नै थिएन। उत्तर प्रष्ट छ। त्यतिबेला नभए पनि उनका सन्ततिहरूले पनि अढाई सय वर्षमा त्यो सोचलाई किन अवलम्बन गरेनन् ? कतिसम्म भने नेपाल अधिराज्य रहँदासम्म यसको गन्ध पनि भेटिँदैन। एकल जात, एकल भाषा, एकल भेष र एकल धर्मले वर्चस्व प्राप्त गरेको देखिन्छ। अहिलेको गणतान्त्रिक संविधानले छुने प्रयास त अवश्य गरेको छ तर मूर्तरूप भने धारण गरेको देखिन्न। त्यसैले रेशमलाल चौधरीको विद्रोह अढाई सय वर्षको एकात्मक केन्द्रीकृत, राजतन्त्रात्मक सामन्तवादी राज्य प्रणालीको जगमा निर्मित वर्तमान संविधानको पनि भण्डाफोर गर्दछ। जसरी दसवर्षे जनयुद्धको पूरक हो, २०६३ सालको २३ दिने माघे मधेस विद्रोह। त्यस्तै थारू विद्रोहले त्यसलाई भरपूर सैद्धान्तिक तथा वैचारिक आधार दिएको छ।
तराई—मधेसमा मधेसीय दृष्टिकोणको उत्पादन सन् १९५० को दशकबाट भएको थियो। यसले मधेसवादको रूप धेरैपछि मात्र ग्रहण गरेको हो।
यद्यपि गणतान्त्रिक नेपालमा पनि पञ्चायतकालीन जस्तै ऐन र कानुनको खोल ओढेर सत्ताका पिपासुहरू सांसद रेशमलाल चौधरीलाई कालकोठरीमा बन्द गरेका छन्। तर अब त्यो दिन टाढा छैन, जतिबेला तराई—मधेसका जनताले सांसद चौधरीको नेतृत्वमा गठित राजनीतिक शक्तिलाई एउटा अब्बल दर्जाको पार्टीको रूपमा स्थापित गर्नेछन्। थारुवानलाई राष्ट्रिय राज्यको अवधारणा अनुरूप मूर्तरूप दिन कुनै कसर बाँकी राख्ने छैन। प्राध्यापक मित्रलाई लागेको होला, रेशमलालको जेल सजाय जायज हो, तर वास्तविकता त्यो होइन। रेशमलालले राज्यसँग विद्रोह गरेको हो जो विश्वका प्रत्येक देशवासीको मौलिक हक हो भन्ने कुरा संयुक्त राष्ट्रसंघको बडापत्रमा लेखिएको छ। कुनै पनि शान्तिपूर्ण आन्दोलन विद्रोहको रूप धारण गरेपछि त्यो हिंसात्मक हुनु आमधारणा हो भन्ने कुरा वर्तमान सत्ताका साझेदार दलका प्रत्येक कर्ताधर्तालाई थाहा छ।
प्रथम राष्ट्रपतिको प्रसंग
प्राध्यापक मित्रले बडो गर्वका साथ मुलुकका प्रथम राष्ट्रपति डा. रामवरण यादवको नाम कोट्ट्याएका थिए। मधेसी समुदायबाट सर्वोच्च पदमा पुगिसकेका डा. यादवको लवाइखुवाइ, बोलाइ र ओढाइबाट उनी प्रभावित भएकाले डा. यादवको उनी प्रशंसा पनि गरे। डा. यादव मूलतः एउटा चिकित्सक भएकाले राज्यसत्तालाई बुझ्ने उनको ढंग प्राविधिक नै थियो। त्यसैले एकताका मैले भनेको कुरा उनले मानेनन्।
उनलाई भनेको थिएँ भने जनकपुरमा लगाउने आफ्नो मधेसी पोसाक लगाएर टुँडिखेलमा नेपाली सेनाको सलामी लिनु होस्। यसले केही फरक पार्दैन। मधेसीहरूको शिर उँचो हुन्छ। बहुराष्ट्रिय राज्यको अवधारणाले नेपालको जग बलियो बनाउँछ। तर उनले त्यो यथार्थपरक सोचलाई बहुसांस्कृतिक नेपाली समाजसँग हातेमालो गर्न रुचाएनन्। बरु त्यसको केही महिनापश्चात् काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा नेपाली भाषामा आफ्नो मन्तव्य राखे। यसले गर्दा देशविदेशबाट आएका आगन्तुकहरूको चित्त दुख्यो। नेपालको इतिहासमा पहिलो पटक कुनै मैथिलीभाषी सर्वाेच्च पदमा पुगेकाले भारतीय भूमिमा अवस्थित मिथिलाञ्चल पनि औधी रमाएको थियो। राष्ट्रपतिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण पनि त्यही कारणले गरिएको थियो। तर, उनले नेपाली भाषा रोजेपछि भारतीय मैथिलीभाषीमाथि मात्र होइन, आफ्नै मुलुकको मैथिलीभाषीमाथि बज्रपात भयो। सम्मेलन खल्लो भएको थियो।
त्यसैले बुजु्रक प्राध्यापक मित्रलाई के भनेको थिएँ भने पदमा पुग्दैमा आफ्नो आधारभूत अधिकारको सबै मेसो थाहा हुने कुरा होइन। पञ्चायतकालमा पनि कतिपय निकायका सर्वोच्च पदमा मधेसी नपुगेका होइनन्। तर आफ्नो हकमा एउटा सिन्को पनि भाँच्न सकेनन्। कतिसम्म भने बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पनि विमलेन्द्र निधिलगायत मिथिलाञ्चलका घाघडान नेताहरू मन्त्री भएकै हुन्। मातृका यादव मात्र नेपालको इतिहासमा पहिलो व्यक्ति भए, जसले आफ्नो मातृभाषा मैथिलीमा मन्त्री पदको शपथ लिए। यो सोच, विचार र दृष्टिकोणको प्रश्न हो।
तराई—मधेसमा मधेसीय दृष्टिकोणको उत्पादन सन् १९५० को दशकबाट भएको थियो। यसले मधेसवादको रूप धेरैपछि मात्र ग्रहण गरेको हो। खासगरी माओवादीद्वारा सञ्चालित जनयुद्धले मधेसी शब्दलाई पहाडको फेदीसम्म पुर्याएपछि हिमाल, पहाड र तराईमा यसले व्यापकता लिएको हो। जसको पूरक २०६३ सालको माघे मधेस जनविद्रोह बन्यो। होइन भने नेपाल सद्भावना पार्टीको नयाँ दिल्ली लिंकले कहिल्यै पनि यो शब्दलाई नेपालीय परिवेशमा स्थापित हुन दिने थिएनन्। वर्षांैवर्षदेखि मधेसी शब्द जसरी सीमान्तकृतको पर्यायवाची बनेको थियो, त्यसले अझ कति वर्षसम्म निरन्तरता पाउने हो ? कुनै ठेगान थिएन। यद्यपि शब्दलाई जीवन्तता प्रदान गर्न सद्भावना पार्टीको अहम् भूमिकालाई नकार्न भने सकिँदैन।
प्राध्यापक मित्रको के तर्क थियो भने तराई—मधेसको भाषा, संस्कृति, विहार र उत्तर प्रदेशसँग मिलेकाले उनीहरूको सोचमा पहाडी समुदायभन्दा प्रचूर मात्रामा भारतीय प्रभाव छ। हो, यो सत्य हो। अर्को यथार्थ के छ भने जबसम्म मधेस शब्द पहाड उक्लेनन् तबसम्म संस्थागत रूप भने लिन सकेको थिएन। यो तथ्यलाई मधेस शब्दले प्राप्त गरेको संस्थागत रूपबाट नै पुष्टि गर्न सकिन्छ। होइन भने २०६२÷६३ को आन्दोलनताका सातदलीय मोर्चामा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) पनि थिए। मोर्चाको प्रेस विज्ञप्तिमा मधेस शब्दप्रति नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा कोइरालाको ठूलो आपत्ति थियो। धेरै छलफलपश्चात् उनले स्वीकृति प्रदान गरे। अहिले नेपाली कांग्रेसको विधानमा नै रहेको १६५ सदस्यीय केन्द्रीय समितिमा मधेसका लागि ९ वटा सिट आरक्षित गरिएको छ। अर्थात्, प्राध्यापक मित्रमा मधेससम्बन्धी रहेको आशंकाको निवारण भइसकेको हुनुपर्छ।
अन्त्यमा, अग्रज प्राध्यापक भक्तराज आचार्य, जसले विराटनगरमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाहेक कहिल्यै दायाँबायाँ हेर्न मन पराएनन्। उनका लागि क्याम्पस नै सबैथोक थियो। मेरा लागि क्याम्पसबाहेक विराटनगरको गलीकुचीमा घटित तमाम घटना सरोकारको विषय हुन्थे। मैले विज्ञान विषयको प्राध्यापन गर्दा पनि समाजको रंगमा रंगिने अभ्यास विराटनगरले नै सिकाएको हो।
२०४३ सालमा पञ्चायती व्यवस्थाले रजत महोत्सव मनाइरहँदा रोडशेष चोकमा स्थापित रजतजयन्ती स्तम्भमा भ्रष्टाचार भयो भन्दा तत्कालीन उपप्रधानपञ्च हालको सिनेकर्मी उद्धव पौडेलबाट थप्पड पनि खाइयो। पत्रकारिता गरिरहँदा क्याम्पसको जागिरलाई हातमा लिँदै २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल पनि गइयो। प्राध्यापक मित्र आचार्य स्वयं पनि मेरा यी सम्पूर्ण क्रियाकलापका प्रत्यक्ष साक्षी हुन्। त्यसैले मप्रति उनको चासो छ। माया छ। ममता छ। तपाईंजस्तो बुज्रुकले हामीजस्ता ६० काटेकाहरूलाई दिएको अनमोल सल्लाहले लेखनीका लागि नेपालको अखण्डता र सार्वभामिकताको सधैं रक्षा गर्ने प्रेरणा दिइरहोस् ! - अन्नपूर्णर्ण पोष्टबाट ।