नोकरशाही र मिलीजुली पुँजीवाद नेपाललाई आर्थिक रूपमा सुल्टो बाटामा हिँडाउन दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवादसँग संघर्ष गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्ने बाटो समात्नु जरुरी छ ।

    • आश्विन २१, २०७८
    • ६८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    अन्तर्राष्ट्रिय कर्पोरेट एजेन्सीका उत्पादनहरूको आयात, निर्यात र विनिमयका कारण पैदा हुने नाफामा आधारित पुँजी दलाल पुँजी हो । जुन पुँजी देशभित्र पुनर्लगानीमा प्रयोग हुँदैन, त्यो नै दलाल पुँजी हो । राज्य संयन्त्रका विभिन्न अंगमा लाभको पदमा पुगेका वा नपुगेकाहरूले पुगेकाहरूको पहुँच प्रयोग गरेर बिनालगानी आर्जन गरेको पुँजी (जुन कानुनी र नैतिक दृष्टिकोणले देशभित्र पुनर्लगानी वैधानिक रूपले हुन सम्भव छैन) नोकरशाही पुँजी हो ।

    दलाल र नोकरशाही पुँजीलाई खराब किन भनिन्छ भने यसबाट अर्थतन्त्रको चक्रलाई चलायमान बनाउन उत्पादन र फुनरत्पादनका क्षेत्रमा कुनै सकारात्मक योगदान हुँदैन । त्यस्तै, आफूनिकट पुँजीपतिहरूलाई राज्यबाट विशेष सेवासुविधा दिने एवम् उनीहरूसँग मिलेर नाजायज लाभ उठाउने प्रवृत्ति र व्यवहार नै मिलीजुली पुँजीवाद हो ।

    कतिपय पुँजीवादी अर्थशास्त्रीहरू दलाल तथा नोकरशाही पुँजी नहुने तर्क गर्छन् । पश्चिमा पुँजीवादी अर्थशास्त्रीहरू दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवाद एसियाली भेरियन्ट मात्र हो भन्छन् । अल्पविकसित देशहरूमा दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवाद एउटा प्रमुख समस्याका रूपमा रहिआएको छ । नेपालको अर्थराजनीतिमा दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवाद हावी भइरहेको छ । नेपालको अर्थतन्त्रको चाबी यिनै पुँजीपतिहरूका हातमा छ । जुद्धशमशेरको पालादेखि अर्थात् पुँजीवादको प्रारम्भिक चरणदेखि कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको एकल बहुमतको सरकारसम्मले दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवादलाई नै संरक्षण गर्दै आएका छन् ।

    ओली सरकारमा उच्च तहका नेताहरूसँग नजिकको सम्बन्ध बनाएका केही व्यापारी पछिल्लो चरणमा मुख्य चर्चामा रहे । यती समूहले दरबार मार्गमा नेपाल ट्रस्टका नाममा रहेको राज्यको जग्गा डेढ अर्ब रुपैयाँमै लिजमा लिन सफल भयो । उक्त जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्बभन्दा बढी अनियमितता गरेको भेटिएको समाचार प्रकाशित भयो । त्यस्तै, ओम्नी समूहलाई सरकारले तेइस हजार कम्प्युटर ल्याउने ठेक्का दिन टेन्डर सूचनासमेत संशोधन गरिएको र डेढ अर्बको सामग्रीलाई साढे तीन अर्बमा किन्न खोजिएको समाचार आयो । यी दुइटा घटना मिलीजुली पुँजीवादी अर्थनीतिका प्रमुख उदाहरण हुन् । सत्ता र प्रतिपक्षबीच दलाल तथा नोकरशाही पुँजीवादलाई संरक्षण गर्ने विषयमा कुनै भेद छैन, बरु प्रतिस्पर्धा चलिरहेको छ ।

    नेपालमा दलाल तथा नोकरशाही पुँजीको एकअर्कामा अन्तरघुलन यसरी हुँदै गइरहेको छ, यिनीहरूबीचको भेद मेटिँदै गएको छ । दलाल पुँजीपति वर्गले आफ्नो हैसियत विस्तार गर्न नोकरशाही पुँजीपति वर्गसँग साँठगाँठ गरी उसलाई प्रयोग गर्ने एवम् नोकरशाही पुँजीपतिले आफूसँग केन्द्रित भएको नोकरशाही पुँजी व्यवस्थापन र विस्तार गर्न दलाल पुँजीपति वर्गसँग मिलेमतो गर्ने परिपाटी विस्तार हुँदै गएको छ । नेपालमा दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवादको शृंखला विकसित भइरहेको छ । यही कारण एउटा उच्च तहको नेता वा प्रशासकको मृत्यु भयो भने देशमा नयाँ अर्बपतिको जन्म भइहाल्नेसम्मको परिस्थिति निर्माण भएको छ । राज्यको नीति निर्माण तह र पार्टीका नीतिहरू तय गर्नमा समेत दलाल नोकरशाही पुँजीपतिहरू हावी हुन थालेका छन् ।

     

    मिलीजुली पुँजीवादको विस्तारका लागि दलाल तथा नोकरशाही पुँजीपति वर्गले पार्टी, सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवम् सञ्चार माध्यमको समेत प्रयोग गर्ने गरेको छ । मिलीजुली पुँजीवादको पछिल्लो उदाहरणलाई हेर्दा कुनै एक सरकारले मात्र यो प्रवृत्तिको विकास गरेको रहेछ भन्ने भ्रम पैदा हुन सक्छ । तर, यसको विकासको ऐतिहासिक शृंखला छ ।

    नेपालमा आफू आसपासका पुँजीपतिहरूलाई पोस्ने मिलीजुली पुँजीवाद सामन्तवादी प्रणालीको विकास भएदेखि नै सुरु भएको हो । जहानियाँ राणा शासनकालमा राणाहरूसँग विशेष सम्बन्ध भएका व्यापारीहरूले मात्र आयात तथा निर्यातको काम गर्न पाउँथे । भन्सार र राजस्व उठाउन पनि त्यति बेला आफूले पत्याएका व्यापारीहरूलाई नै दिने गरिन्थ्यो । त्यसै बेलादेखि नोकरशाही पुँजीले दलाल पुँजीसँग साँठगाँठ गर्न सुरु गरेको हो । त्यसबखत नेपालमा पुँजीपति वर्गको खासै विकास भइनसकेका कारण राणाहरूले भारतीय सामन्त र दलाल तथा नोकरशाही पुँजीपतिहरूलाई नेपालमा ल्याएका थिए । २००७ सालदेखि २०१७ सालसम्मको अवधि राजनीतिक रूपमा संक्रमणकाल रह्यो । त्यस अवधिमा पनि यो प्रवृत्ति रोकिएन । ३० वर्षे पञ्चायतकालमा दरबार र दरबार वरिपरिकाले आफूकहाँ नोकरशाही पुँजी केन्द्रित गर्ने र त्यसको संरक्षण गर्न भारतीय व्यापारीहरूको समेत सहयोग लिने गरेको देखिन्छ । २०४६ सालपछि उदारीकरण र निजीकरणका नाममा यो प्रवृत्ति झनै विस्तारित भएको छ ।

    दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवादले उत्पादन बढाउने गरी पुनर्लगानी गर्दैन । यसले देशमा रोजगारी सृजना गर्दैन, देशको उत्पादन बढाउन कृषि र उद्योगजस्ता उत्पादनका क्षेत्रमा लगानी गर्दैन । यस्तो पुँजीले सजिला र अवैद्यानिक तरिकाहरूमर्फत अकुत सम्पत्ति सृजना गर्नुलाई पहिलो प्राथमिकतामा राख्छ । त्यसकारण नेपालमा औद्योगिकीकरण र तीव्र विकास नहुनुमा दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवाद नै प्रमुख रूपमा जिम्मेवार छ । तीव्र विकास गर्नका लागि तीव्र औद्योगिकीकरणको आवश्यकता पर्छ । तीव्र औद्योगिकीकरण गर्न राष्ट्रिय औद्योगिक पुँजी र औद्योगिक पुँजीपति वर्गको विकास हुनुपर्छ । नेपाली अर्थतन्त्रको सुल्टो बाटो यही नै हो ।

    नेपाललाई आर्थिक रूपमा सुल्टो बाटामा हिँडाउन दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवादसँग संघर्ष गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्ने बाटो समात्नु जरुरी छ । यो बाटो हिँड्न जति ढिलो हुन्छ, त्यति नै बरबादी मात्र हात लाग्छ । दलाल तथा नोकरशाही पुँजीपति वर्गको पुच्छर समाती वैतरणी तर्न खोजेर समृद्धि र समाजवादमा पुगिँदैन । त्यसका लागि उत्पादन वृद्धि गर्न लगानी र पुनर्लगानी गर्दै राष्ट्रिय औद्योगिक फुँजीको निर्माण र विकास गर्नु जररी हुन्छ ।

    नेपालको अर्थराजनीतिमा दलाल नोकरशाही पुँजीवाद हावी भएकै कारण नेपालले आफ्नो उत्पादन सामर्थ्य विस्तार गर्न सकेन । उत्पादन सामर्थ्य कमजोर भएकै कारण नेपालको परनिर्भरता र व्यापार घाटा निरन्तर बढ्दो छ । थोरै दुःख र थोरै लगानीमा छिटो धनी हुने दलाल नोकरशाही पुँजीपति वर्ग र त्यसको संरक्षण गर्ने राज्यको नीतिका कारण उत्पादन क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । कृषि र औद्योगिकजस्ता उत्पादन क्षेत्रहरू तहसनहस भएका छन् ।

    नेपालका सन्दर्भमा उत्पादक क्षेत्रको विकास गर्ने प्रश्न दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवादविरुद्ध संघर्षको प्रश्न पनि हो भन्ने तथ्यलाई आत्मसात् गर्न जति ढिलाइ गरिन्छ, नोक्सानी त्यति नै हुने निश्चित छ । राज्यले उत्पादन क्षेत्रमा लगानी गर्ने र लगानी गर्न अभिप्रेरित गर्ने नीति लिन आवश्यक छ । राज्यले राष्ट्रिय औद्योगिक पुँजी निर्माण गर्ने नीति नलिँदासम्म समृद्धि र समाजवादको सपना पूरा हुनेछैन ।                                                                    कान्तिपुर अनलाईनबाट ।

    hiro kodasi mela  10x12

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल