कोरोना महामारी सबैको सोचभन्दा बाहिरको विषय थियो । यसबाट विकसित या शक्तिशाली भनिनेदेखि कम विकसित भनिएका देशका जनतासम्म एकैनासले प्रभावित भए । रोग र मृत्युले धनी, गरिब, शक्तिशाली र निर्बल भनी भेद गर्दो रहेनछ । आफूले चिने–जानेका धेरै मित्रको मृत्युको कारक कोरोना बनेको खबरले केही समय दुःखित बनाए पनि त्यसले मानिसको दिनचर्यामा फरक पारिरहने गर्दो रहेनछ ।
आफूलाई पर्दा सबैको सहानुभूति चाहनेहरू पनि अर्काको दुःख र पीडा आफैंलाई परेसरह नठान्ने रहेछन्, जुन मानिसको स्वार्थी स्वभावलाई दर्साउने एउटा उदाहरण हो । मानिस स्वार्थप्रेरित नभए त संसारमा आदिमकालदेखि रहँदै आएको आर्थिक–सामाजिक विषमता, जातीय भेद या छुत–अछुत, गरिब–धनी नभई विश्वव्यवस्था समानतामा अडेको हुने थियो । कविशिरोमणि लेखनाथ पौड्यालले ‘तरुण तपस्वी’ मा वर्णन गरेको मानिसको स्वभाव यथार्थपरक छ । कवि लेख्छन्, ‘म खाऊँ मै लाऊँ, सुखसयल वा मोज म गरूँ / म नाचूँ मै गाऊँ अरू सब मरून् दुर्बलहरू / भनी दाह्रा धस्ने अबुझ शठ देखी छक परी / चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ।’ कोरोना खोपको वितरणमा समेत आफ्ना र पराईको भेद गरी आफ्ना नातागोता र निकटस्थलाई खोप सुलभ गराउने र अरू सर्वसाधारणचाहिँ सरकारी नियमअनुसार चल्नुपर्ने यो कस्तो समाजवाद हो ?
कोरोनाले हामी सबैको जीवनमा ठूलो असर पारेको छ । मानिसले चाहेजसरी हिँडडुल गर्न पाएका छैनन् । बन्दीजस्तो भई व्यवहार गर्नुपर्ने बाध्यता छ । मुलुकहरूको आर्थिक अवस्था झन् जटिल बन्दै गएको छ । गरिबीको मात्रा बढ्ने र रोजगारी घट्ने अवस्थाले अभावग्रस्त बनेका जनताले राहत कसरी पाउलान्, भन्न सकिँदैन । रोजगारी सृजना गर्न सरकार असफल भइरहेछ । नेपालजस्तो देशका लागि त मानवीय समस्या विकराल हुने सम्भावना बढ्ने देखिन्छ । सरकारले मितव्ययिताको नीति राम्ररी अवलम्बन नगरी परम्परावादी शैलीमै शासन चलाए आउने दिनहरू झन् कठिन हुनेछन् । समाज परिवर्तन र आर्थिक समानताका लागि सरकार र अन्य राजनीतिक दल सक्रिय हुनुपर्छ । विशेष गरी दलित र अन्य असहाय वर्ग या जातिको सशक्तीकरण र समावेशीकरण गरी संविधानको यथार्थ रूपमा पालना गर्नुपर्छ । होइन भने लोकतन्त्र नक्कली अभ्यासमा मात्र सीमित रहनेछ ।
मेरो व्यक्तिगत दिनचर्यामा कोरोनाले सकारात्मक नै प्रभाव पार्यो । मैले विश्वइतिहास फेरि एक पटक पढ्ने र बुझ्ने अवसर पाएँ । चीन र भारतको प्राचीन सभ्यताको व्यापकता र आपसी सद्भाव उल्लेख गर्न लायक छन् । चंगेज खाँले दिल्ली–चढाइ गरेपछि एकै चोटि सन् १९६२ मा छोटो समयका लागि सीमायुद्ध भएको र त्यसपछि छिटपुट घटनाबाहेक व्यापक युद्ध नभएकाले भविष्यमा पनि यी दुई एसियाली राष्ट्र शान्ति कायम गरिराख्न सक्षम हुनेछन् भन्न सकिन्छ ।
गान्धीले ‘ईश्वर अल्लाह तेरो नाम’ भन्दा र अछुतलाई हरिजन भन्दा भारतलाई हिन्दु राष्ट्र घोषणा या जात प्रथाको वकालत गर्नुपरेन । उनी वास्तविक रूपमा धर्मनिरपेक्ष राज्यको प्रकृतिको वकालत गर्थे । राधाकृष्णन सत्यलाई ईश्वर मान्थे । सद्गुरुको प्रवचन या अन्तर्वार्ता होस् वा ओशोको व्याख्या, ती सबैमा नयाँपन पाइन्छ । सद्गुरुले शिवको व्याख्या आफ्नै किसिमले गरेका छन् । बुद्ध, गान्धी, विवेकानन्द, अरविन्दो आदिका विचारमा अतिरञ्जना पाइँदैन । नेपाली सभ्यतामा पनि अनौठो मिश्रण पाइन्छ, यो समन्वयकारी र फराकिलो छ ।
नेपालमा भारतको नरम शक्ति — जसलाई जोसेफ ने ‘सफ्ट पावर’ भन्छन् — को प्रभाव धेरै छ । भारतीय सिनेमा, गीत र समान सभ्यताका अन्य आयामले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सधैं मद्दत गरेका छन् । नेपालमा कुनै सिनेमा नबन्दा र संगीत पनि त्यति विकसित नभएका बखत भारत एक मात्र मनोरञ्जनको स्रोत थियो र आजपर्यन्त छँदै छ । मैले दिलीप कुमारको भूमिका भएको ‘शहीद’ सिनेमा जोगबनीमा हेरेको सम्झना अझै ताजै छ । नेपालका हुनेखाने परिवारका कतिपय सदस्य या युवा ‘शोले’ हेर्न नेपाल वायुसेवा निगमको हवाइजहाजमा बेलुकी दिल्ली गई अर्को दिन फर्किन्थे । भाषा र अन्य कारणले भारतसितको सांस्कृतिक सम्बन्ध कायम गर्न सधैं मद्दत मिलेको छ । आज पनि भारतीय टेली सिरियल, सिनेमा, नृत्य र अन्य प्रोग्राम सधैं लोकप्रिय भएका छन् । ‘इन्डियन आइडल’ हेर्न धेरै नेपाली उत्सुक हुन्छन् । संगीतले सबैको मन छुने भएकाले संगीतप्रेमीहरू यस्ता कुरा छुटाउँदैनन् ।
मैले यसपल्टको ‘इन्डियन आइडल’ सुरुदेखि हेर्दै आएको छु । दिनमा दुई–तीन घण्टा यस्तै संगीत सुन्दै–हेर्दै आएको छु । यसपल्टको आइडलमा पवनदीप राजन र अरुणिता कान्जीलालको जोडी अति लोकप्रिय छ । म पवनदीपको ठूलो फ्यान भएको छु । उसको सादगी, स्वभाव र गायन सबै मिलेको छ । उसको बोलीलाई धर्मेन्द्रले रेशमी आवाज भनेका छन् भने भारतीय सिनेमाका धेरै हस्ती उसका प्रशंसक भएका छन् । पवनदीपका फ्यान त पवनदीप र अरुणिताको बिहे नै भएको हेर्न चाहन्छन् । उमेरले असी नाघिसकेको म जस्तालाई यस्तो गायनले जीवन रसिलो पार्न मद्दत गरेको छ । पवनदीपप्रति बढी झुकाव हुनुमा उसको नेपालसितको सामीप्य पनि हो । पवन उत्तराखण्डको चम्पावत जिल्लाको बासिन्दा हो र उसको कुमाउनी भाषा नेपालीसित धेरै मिल्छ । उसले नेपाली गीत पनि गाएको छ । आज पवनदीप धेरैको हृदयमा पुगेको छ ।
पहिले प्रशान्त तामाङलाई जिताउन नेपालीहरूले भोट हालेका थिए । यसपल्ट पवनदीप आफैं अति लोकप्रिय भएकाले जित्ने सम्भावना बढी छ । तर पवनदीपको बुझाइमा जित्नु मात्र ठूलो कुरा होइन । उसका लागि कोही प्रतिस्पर्धी नभई सबै साथी हुन् र भोलि सबै मिली अघि बढ्ने सोच बनाएका छन् । पवनदीपजस्तै सोचाइ गायिका शायली काम्बलेको पनि छ । पवनदीपले गजलको लाइन बिर्सिंदा उसले स्टेजबाहिरबाट गाएर उसको सहयोग गरेकी थिई । प्रतिस्पर्धीहरूमा यस्तो सहयोग विरलै पाइन्छ । राजनीतिमा यस्तै सहयोगात्मक भावना विकास भए कति राम्रो हुन्थ्यो !
लकडाउनका कारण घर बस्नुपर्दा मजस्तो चुलबुले स्वभावको मानिसलाई अप्ठ्यारो त पर्दो रहेछ तर साथसाथै जीवनलाई नयाँ किसिमले व्यवस्थापन गर्ने कलाको विकास पनि हुँदो रहेछ । पुस्तक पढ्ने र संगीतमा रमाउने बानी भएको म जस्तालाई एउटा युवकसरह रोमाञ्चित हुने मन बनाउन सक्ता पनि समय काट्न गाह्रो पर्दो रहेनछ । रमाउन सकिने अनेक पक्षलाई आत्मसात् गर्दा जीवन सधैं रसिलो हुन्छ । धैर्यले मानिसलाई अझ परिपक्व र चिन्तक बनाउँदो रहेछ र परिवर्तन आफैंभित्र विकसित हुँदो रहेछ । राजनीतिक उथलपुथल, दलहरूका नेताहरूको स्वार्थका लागि मारामार, संविधान र कानुनको आफ्नै स्वार्थअनुरूप व्याख्या र घात–प्रतिघातको सूक्ष्म अवलोकन र निष्कर्षका लागि स्वचिन्तन बढ्दो
रहेछ । राजनीतिक लोकप्रियतावादको आयु कति छोटो हुँदो रहेछ भन्ने पनि खड्गप्रसाद शर्मा ओलीको राजनीतिले सिद्ध गरेको छ । अबको राजनीति कता जाला र लोकतन्त्रको भविष्य के होला भन्ने प्रश्न आउनु स्वाभाविकै हो तर जनता सचेत र लोकतन्त्रप्रति प्रतिबद्ध छन् भन्ने आधार पनि विकसित घटनाले प्रमाणित गर्दै लगेका छन् । कस्तो लोकतन्त्र भन्ने प्रश्नको चाहिँ अब सही जवाफ चाहिएको छ । चुनिएका जनप्रतिनिधिहरू, खास गरी सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैली, क्षमता; जनता रिझाउन सक्ने कार्यक्रमको सही कार्यान्वयन; सर्वसाधारणले स्वच्छ शासनको अनुभव गर्न सक्ने तन्त्रको विकास हुने भयो कि भएन भन्ने पक्षहरू लोकतन्त्रका मापदण्ड हुन् ।
लोकतन्त्रका केही आधारभूत मान्यता परिपालन भए शासकीय स्वरूपको ग्राह्यता स्वतः सिद्ध हुन्छ । जनताले सोझै छानेको राष्ट्रपति या आज नेपालले तय गरेको व्यवस्थामा अन्तर रहनेछैन, चुनिएको नेताले संविधानको अक्षर र भावनाको पालना गरेदेखि । पूर्ण वा अर्ध राष्ट्रपतीय प्रणालीले स्थापित संस्था कसरी भताभुंग पार्न र लोकतन्त्रको उपहास गर्न सक्छ, ट्रम्पको सन्दर्भ ताजै छ । त्यसैले पात्र र व्यवस्थाबीच गहिरो सम्बन्ध छ । देशको राजनीतिक–सामाजिक पृष्ठभूमि, राजनीतिकर्मीको अभिमुखीकरण र न्यूनतम मूल्यमान्यताप्रतिको समर्पण एवं अठोटले मात्र लोकतन्त्रलाई सही अर्थ दिन सक्छ । मैले यस दौरान आफ्ना केही पूर्वधारणा बदली परिवर्तन र लोकतन्त्रका सन्दर्भमा व्यवस्थाभन्दा पनि पात्रहरू बढी सार्थक हुन्छन् भन्ने निष्कर्ष निकालेको छु ।
कोरोनाले आतंकित नहुने तर नयाँ किसिमले बाँच्ने उपाय सिक्नुपर्ने पाठ पढाएको छ । अब आफैंले आफ्नो रक्षा गर्न सिक्नुपर्ने, लापरबाही गर्न नहुने ज्ञान पनि दिएको छ । कोरोनाकै कारण विश्व अर्थतन्त्र प्रभावित भएको छ, साना र कम विकसित देशका जनतालाई रोजीरोटीको समस्या चर्किन थालेको छ । नेपाल–भारत सीमामा देखिने नेपालीहरूको ताँती र घरभित्रको बेरोजगारीले हताश बनाएको छ । भनिएको दुईतिहाइ र बलियो सरकारका नेता आफ्नै गुणगानमा रमाई जनताका आधारभूत समस्यालाई बेवास्ता गरिएको पाइँदा लोकतन्त्रको उपहास भएको पाइयो । अब देउवा सरकार कसरी प्रस्तुत हुन्छ, हेर्न बाँकी छ ।
कान्तिपपुर अनलाईनबाट ।