आधुनिक नेपालको राजनीतिक इतिहासमा राणा प्रधानमन्त्री वा राजाहरूपछि सर्वाधिक चर्चामा रहेका व्यक्तित्व हुन्, पूर्वप्रधानमन्त्री तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला। कोइराला नेपालको राजनीतिमा प्रजातान्त्रिक समाजवादी चिन्तक तथा प्रयोक्ता मानिन्छन्। राजनीतिको केन्द्रमा उनी पछिका अरू कसैले भोलिका दिनमा उनलाई उछिने पनि साहित्यका कारण उनको नम्बर माथि नै पर्ने सम्भावना छ। राजनीति र साहित्यमा पनि नाम जोडिएका अर्का पूर्वप्रधानमन्त्री हुन्, लोकेन्द्रबहादुर चन्द।
नेपाली साहित्यमा कोइरालाको चर्चा कम तर व्यक्तित्व प्रभावशाली मानिन्छ। उनका उपन्यासहरूमा तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदि आइन्, हिटलर र यहुदी, बाबु, आमा र छोरा हुन्। कथा संग्रहहरूमा दोषी चश्मा र श्वेतभैरवी हुन् भने जीवनी आफ्नो कथा र जेल जर्नल रहेका छन्। यस बाहेकका आफ्नो कथा, जेल जर्नल, जेल डायरी लगायत उनका फुटकर लेखहरूको संकलन र कविताहरू पनि प्रकाशित छन्। बीपीका कविताको बारेमा भने कमैलाई मात्र जानकारी छ। सात वाहन प्रकाशनको सुख नामक कृति विधागत रूपमा कुनै मौलिक कृति हो वा अनुवाद यकिन हुन सकेन। नेपाली साहित्यमा मनोवैज्ञानिक कथा र यौन विश्लेषणको सूक्ष्म चित्रणमा उनको विशिष्ट योगदान छ।
बीपी कोइरालाको राजनीति जीवन सरल रेखामा हिँडेको भए आज उनको स्थान र नेपालको राजनीति कुन अवस्थामा हुन्थ्यो अनुमान गर्न सकिन्न। २००७ सालको क्रान्तिपछिको कोइरालाको अधिकांश समय दरबार र अन्तरपार्टी विवादमा बित्यो। उनको राजनीतिक जीवनले २०१५ सालको नेपालको पहिलो आमनिर्वाचनपछिको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा १८ महिनामा जुन उचाई प्राप्त गरेको थियो, त्यसको विस्तार हुन पाएन। राजा महेन्द्रको कोपभाजनमा परेका बीपीले आठ वर्ष काराबास, आठ वर्ष प्रवास र त्यसपछिका केही वर्ष स्वास्थ्य उपचार र २०३६ सालको जनमत संग्रहका लागि बिताए।
बीपी कोइरालाको निधनपछिको ६–७ वर्षपछि नै नेपालको राजनीतिले अर्कै मोड लियो। २०४६ को जनान्दोलनपछि स्थापित संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था नै उनको राजनीतिक आदर्श र उद्देश्य थियो। २०६०/६१ पछिको लोकतान्त्रिक गणतन्त्र उनको राजनीतिक लक्ष्य थिएन। अहिले पनि नेपाली कांग्रेसको एक धार र उनका सच्चा अनुयायीको दाबी गर्ने एउटा समूह बीपीको लक्ष्य संवैधानिक राजतन्त्र र हिन्दू राज्य नै भएको मत सार्वजनिक गरिरहेकै छन्। यसमा कहिलेकाँही नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका बीपीपुत्र शशांकको नाम पनि जोडिन्छ।
नेपालको राष्ट्रियता र संवैधानिक राजतन्त्रको अन्तरसम्बन्धको वकालत गर्दै आएता पनि उनले तीन–तीन पुस्ताका राजाहरूको प्रताडना÷वक्रदृष्टिका साथै कठोर जेल सजाय भोग्दै आए। उनी नेपालको राजनीतिमा जीवित छउञ्जेल राजतन्त्रको छायाँमा नै ओझेल परे अर्थात् उनको उपस्थिति र भूमिकालाई राजतन्त्रले अगाडि बढ्न दिएन। निधनको आधा दशक अर्थात् २०४६ को परिवर्तनपछि भने नेपालको राजनीतिमा उनको उपस्थिति उदाहरणीय र आदर्श राजनेताका रूपमा स्थापित भयो। यसपछि उनका नाममा सार्वजनिक स्थानमा सालिकहरू निर्माण र संघ–संस्था–प्रतिष्ठान, सडक र चौक आदि स्थापना हुने क्रम बढ्यो। कोइरालाका नाममा स्थापित संघ–संस्था आदिमा चितवन जिल्ला भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल र सुनसुरी जिल्लाको धरानस्थित बीपी कोइराला विज्ञान अध्ययन प्रतिष्ठान (मेडिकल कलेज) उल्लेख छन्।
२०६०/६१ पछिको लोकतान्त्रिक गणतन्त्र बीपीको राजनीतिक लक्ष्य थिएन। अहिले पनि नेपाली कांग्रेसको एक धार र उनका सच्चा अनुयायीको दाबी गर्ने एउटा समूह बीपीको लक्ष्य संवैधानिक राजतन्त्र र हिन्दू राज्य नै भएको मत सार्वजनिक गरिरहेकै छन्।
दुवै संस्थानहरूमा चिकित्सा शास्त्रका विभिन्न विधा (मेडिकल डाक्टर र नर्स) को अध्यापन हुन्छ। यी दुवै अस्पताल र कलेज नेपालको मात्र नभएर भारतका लागि समेत स्तरीय मानिन्छन्। यसबाहेक काठमाडौं सुन्दरीजलस्थित जेल (सैनिक क्वाटर) जहाँ बीपी कोइराला समेतलाई लामो समय बन्दी बनाइएको थियो। केही वर्षयता यसलाई बीपी कोइराला संग्रहालयका रूपमा स्थापना गरिएको छ। यस संग्रहालयलाई कोइरालाको स्मृतिका अतिरिक्त नेपालको प्रजातान्त्रिक आन्दोलनको संयुक्त संग्रहालयका रूपमा विकसित गरिँदै लगिएको छ।
बीपी कोइरालाका सालिकहरू नेपालका विभिन्न जिल्लामा छन्। तीमध्ये धरान, रौतहट, बुटवल, पाल्पा र दाङ प्रमुख हुन्। गतवर्ष नै धरानमा स्थापना गर्न लागिएको बीपीको पूर्णकदको सालिक कोभिड महामारीका कारण अहिलेसम्म अनावरण गरिएको छैन। पाल्पाको तानसेनस्थित विशालनगरमा बीपी सालिक निर्माण गरेर बीपी चौक नामाकरण गरिएको छ। दाङ जिल्लामा भने तुलसीपुर र देउखुरीमा बीपीका छुट्टाछुट्टै सालिक छन्। बुटवलमा पनि उनको सालिक र चौक चर्चित छ। यसो त उनको स्मृतिमा सडक चौक, स्मृति भवन, सार्वजनिक संघ–संस्था÷क्लब र सालिक आदिमध्ये केही नभएको नेपालको कुनै जिल्ला र नगर नहुन सक्छन्। कोइरालाको गृहजिल्ला मानिने मोरङको पूर्वीक्षेत्रमा पर्ने रंगेली आसपासको कुनै गाउँमा भएको बीपीको सालिक र रौतहट जिल्लाको सदरमुकाम गौरमा भएको उनको सालिक भने केही वर्ष पहिले तोडफोड भएका थिए। जसको मर्मतसम्भार वा पुनस्र्थापना हुन सकेको छैन।
कोइरालामा राजनीतिक र साहित्यिक देनको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा केही संस्थाहरू छन्। नेपाल तथा भारत सरकारको संयुक्त सहभागिता वा संरक्षण र आर्थिक सहयोगमा दुवै देशका राजदूतावासमार्फत बीपी कोइराला इन्डिया नेपाल फाउन्डेसन रहेको छ। यस फाउन्डेसनमा दुवै देशका सरकारको १०–१० करोडको रुपैयाँको कोष राखिएको छ। यसले विशेषगरी दुवै देशको प्रतिनिधित्व हुने गरी हरेक वर्ष साहित्यिक गतिविधिका कामहरू गर्छ। यस्ता अन्य संस्थाहरूमा जननायक बीपी कोइराला स्मृति ट्रष्ट, बीपी अध्ययन प्रतिष्ठान, बीपी चिन्तन प्रतिष्ठान आदि रहेका छन्।
बीपी कोइराला स्मृति ट्रस्टले २०७२ सालयता हरेक वर्ष सांस्कृतिक वा राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुई जनालाई सम्मानसहित एक–एक लाख रुपैयाँको पुरस्कार प्रदान गर्दै आएको छ। यसै संस्थाले बीपीको विषयमा विद्यावारिधि गर्नेहरूलाई पनि सम्मान गर्दै आएको छ। ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीका अनुसार हालसम्म कोइरालाका विविध पक्षमाथि १९ जना अध्येताहरूले विद्यावारिधि गरेका छन्। स्नातकोत्तर तहमा शोध लेख्नेहरू त्रिभुवन विश्वविद्यालयको रेकर्डमा हालसम्म ४ सय ८१ जना छन्। यो संख्याले अहिलेसम्म ५ सय नाघेको अनुमान गरिएको छ। यति ठूलो संख्यामा एकै व्यक्तिका विषयमा भएको यो अध्ययन पनि कोइरालाको व्यक्तित्व र प्रभावको एउटा उदाहरण हो।
हालसम्म संस्थाले सम्मान/पुरस्कार प्रदान गरेका व्यक्तित्व यसप्रकार छन् : – रत्न शम्सेर थापा र नुतन थपलिया, गोपाल पराजुली र तारा कोइराला, भुवन ढुंगाना र श्यामलाल श्रेष्ठ, प्राडा अभि सुवेदी र तिर्तःराज चैतु ज्ञान्वाली, रोचक घिमिरे र चाकर बास्तोला, वैरागी काइँला र मधुकान्त सिंह, ज्ञानमणि नेपाल र होमनाथ दाहाल हुन्। कोइालाको विषयमा अहिलेसम्ममा साहित्य, राजनीति, अर्थशास्त्र, मानवता, अस्तित्ववाद आदिमा विद्यावारिधि गर्ने अध्येताहरू यसप्रकार छन् : विष्णुकुमारी शर्मा, हरिप्रसाद शर्मा पराजुली, देवचन्द्र मिश्र, भूपति ढकाल, क्रिशंप्रसाद दाहाल, ज्ञानु पाण्डे, राधा आशाह, नारायण चालिसे, श्यामप्रसाद भट्टराई, वीरेन्द्र पुडासैनी, रेणुका थापा, सूर्यप्रसाद संग्रौला, रगुनाथ पौडेल, विष्णु नेउपाने, रत्नमणि नेपाल, कैलाशभगत प्रधानाङ्ग, वासुदेव भण्डारी, उर्मिला शर्मा र चक्रबहादुर खत्री रहेका छन्।
नेपाल बाहिर पनि बीपी कोइरालाको सम्झना र सम्मानमा सालिकहरू निर्माण गरिएका छन्। भारतको पटनास्थित एक रंगशालामा उनको पूर्ण कदको सालिक स्थापना गरिएको छ। पत्रकार चन्द्रकिशोरका अनुसार हरेक वर्ष बीपी जयन्तीका अवसरमा पटनामा विशेष कार्यक्रम हुने गर्छ। कार्यक्रममा राज्यका मुख्यमन्त्रीदेखि लिएर केन्द्रिय स्तरका नेताहरूको पनि सहभागिता हुने गर्छ। केही वर्ष पहिलेको एक कार्यक्रममा अतिथिका रूपमा सहभागी चन्द्रकिशोर पटनामा मनाइएको उनलाई नेपालको तुलनामा अझै भव्य, आकर्षक र महŒव दिइएको स्मरण गर्छन्। यस्तै संयुक्त राज्य अमेरिकामा पनि कोइरालाको स्मृतिस्वरूप एउटा प्रतिमा सन् १९९० को दशकमा न्युयोर्कस्थित एक कलेजमा स्थापना गरिएको थियो। तर त्यो प्रतिमा सो कलेज बन्द भएपछि अहिले अमेरिकी नेपाली समुदायले जिम्मा लिएर कुनै उपयुक्त सार्वजनिक स्थापनमा पुस्र्थापना गर्ने प्रयास गर्दैछ।
कोइरालाको बारेमा सार्वजनिक जानकारी वा चर्चामा नआएको अर्को एउटा पक्ष हो– उनको निधनपछि उनको अस्तु नेपालका ७५ वटै जिल्लास्थित प्रमुख घाटहरूका अतिरिक्त नेपाल बाहिर पनि लगेर सेलाइएको थियो। तर यस कुरालाई कोइरालाका पुत्रद्धय प्रकाश र शशांक पनि अनभिज्ञता प्रकट गर्छन्। शशांकका अनुसार सांस्कृतिक र धार्मिकरूपमा भारतको वनारसमा लगिएको थियो। लेखक तथा कुटनीतिज्ञ जयराज आचार्यका अनुसार कोइरालाको अस्तु÷भस्माचशेष अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि हड्सन रिभरमा सेलाइएको थियो। संयुक्त राष्ट्रसंघ विश्व संस्था भएको हुनाले त्यस अगाडि सेलाएको हो। बीपीकी बहिनी बुनुले अमेरिका लगेर अस्तु विसर्जन गरिएको त्यस वेलाको फोटो पनि न्युयोर्कमा हेरेको र त्यसमा केही अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू पनि सहभागी भएको आचार्यले एक इमेलमार्फत जानकारी गराएका छन्। यसै सन्दर्भलाई अमेरिकाको न्युयोर्कका कानुन व्यवसायी÷अधिवक्ता खगेन्द्र जीसी पनि स्वीकार्छन्।
वरिष्ठ पत्रकार होमनाथ सुवेदी भने कोइरालाको निधनपछि उनको अस्तु नेपालका ७५ वटै जिल्लामा पुर्याउने योजनाअन्तर्गत रामेछापमा सुनकोशीमा आफूले नै लगेर विसर्जन गरेको बताउँछन्। उनका अनुसार बेलायत, फ्रान्स, जर्मन र अमेरिका लगायतका देशहरूमा लगेर बीपीको अस्तु विसर्जन गरिएको थियो। बीपी कोइराला नेपालको राजनीति र साहित्यका अग्रज र आदरणीय व्यक्तित्व भएकोमा उनका राजनीतिक सिद्धान्त विरोधीहरूमा पनि त्यत्ति ठूलो विवाद छैन। नेपालको राजनीतिमा आफूलाई मनपर्ने वा नेपालको राजनीतिलाई प्रभाव पार्ने राजनेताका रूपमा उनको नाम सबैले लिन्छन् अहिले पनि। यसरी उनको नाम लिनेहरूमा सामान्य नागरिक, राजनीतिक रूपमा नेपाली कांग्रेसविरोधी नेता कार्यकर्ता, सामाजिक जीवनका व्यक्तित्वका साथै सेलिब्रेटी (कलाकार र खेलाडी) हरू पनि छन्।
अन्नपूर्णा पोष्ट अनलाईनबाट ।