- सीता घिमिरे
कोभिड–१९ महामारीमा भने व्यवस्थित रूपबाट गैरआवासीय नेपाली संघको अगुवाइमा साना–ठूला सबै कामदारले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानमार्फत ५६० सिलिन्डर अक्सिजन नेपाल पठाए । अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पनि पठाउने उनीहरूको अभियान जारी छ । खाडीका विभिन्न मुलुकमा रहेका नेपालीहरूले चन्दा उठाएर पठाएको अक्सिजन आफ्ना नातागोताले नै पाउनुपर्ने भावना राखेनन् । सबै नेपालीलाई नै आफन्त ठाने यी ठूला छाती भएका श्रमिक नेपालीहरूले ।
तर नेपाल आइपुगेका ती अक्सिजन सिलिन्डरको व्यवस्थापनमा बेथिति देख्दा तिनको मन पक्कै रोएको हुनुपर्छ । स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा पाँचवटा प्रदेशमा ती सिलिन्डर पठाइएको भने पनि नेतृत्वतहमा रहेका पहुँचवाला र कालोबजारीले लुकाउन वा आफूखुसी गर्न भ्याइहाले । नेपाल प्रहरीलाई धन्यवाद दिनैपर्छ, लुकाइएका सिलिन्डर फर्काउन सफल भएकामा । तिनलाई कडा कारबाही भएन भने फेरि पनि कालोबजारी मौलाउँछ । कसैले फेर्दै गरेको सास मैले थुतें कि भन्नेतिर यिनलाई के चासो ?
कुरा आउँछ फेरि तिनै श्रमिकहरूको । रहरले भन्दा बाध्यताले बिदेसिनेको संख्या कैयौं गुणा बढी छ । तीनै तहका सरकारले नीति नियममा जति नै मिठो भाषामा स्वदेशमा रोजगारी सृजना गर्ने वाचा गरे पनि त्यो व्यवहारमा उत्रन सकेको छैन । हैन भने यो विश्वव्यापी महामारीमा कसलाई आफ्नो घरपरिवार छोडेर बिदेसिने रहर हुन्थ्यो र ? हालको निषेधाज्ञा लागू हुनुअगाडि मात्र पनि दैनिक ४ सयजति कामदार तेस्रो मुलुक जानुले अनि हजारौंको संख्यामा इन्डिया जाने र कोरोनाको डरले नेपाल फर्कने क्रमले यही तथ्य पुष्टि गर्छ । बाध्यतावश कामको खोजीमा बिदेसिनेहरू त बिदेसिए, तर एक पटक आफैंप्रति इमानदार भएर सोचौं त, बिदेसिने प्रक्रियामा मानवतापूर्ण व्यवहार कति पाएका छन् यिनले ? चाहे म्यानपावर कम्पनी धाउने क्रममा होस् वा श्रम स्वीकृति लिने प्रक्रियामा वा विदेश उड्नका लागि अध्यागमनमा लाइन लाग्दा, जहाँ पनि र जहिले पनि यिनले हेपाइ सहनुपरेकै छ ।
आखिर यिनैले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भएको छ । अनि बालबालिकाले राम्रो शिक्षादीक्षा पाएका छन् । जसरी आज तिनले पठाएका अक्सिजन सिलिन्डरको तानातान भएको छ, त्यसरी नै ती सिलिन्डर पठाउने व्यक्तिहरूले पनि सम्मानजनक व्यवहार पाउनुपर्ने हैन र ? यिनीहरू जान्दैनन्–बुझ्दैनन् भन्ने सोचाइमा खालि हेपाइ, चेपाइ र गालीगलौज ? जन्मजात जान्ने–बुझ्ने कोही हुँदैन । सिक्ने–बुझ्ने अवसर पाएनन्, जानेनन् भने यिनको के दोष ? दोष त यिनलाई सचेतना जगाउने तथा सीपयुक्त बनाउनुपर्ने जिम्मेवार निकायहरू (सरकारी, गैरसरकारी संस्था तथा म्यानपावर कम्पनी) को पो हो त !
आपत्को घडीमा परिवार तथा समाजले सघाउने बलियो नेपाली परम्परा तथा संरचना ध्वस्त भएको छ, कोरोनाका कारण । चाहेर पनि बिरामी व्यक्ति तथा परिवारलाई आफन्त, छरछिमेकी अनि साथीभाइले सहयोग गर्न सक्ने अवस्था छैन । यस्तो इमर्जेन्सीको अवस्थामा सरकारी संयन्त्रले ढाक्नुपर्ने थियो, आशा र विश्वास जगाउनुपर्ने थियो । तर यो संयन्त्र पनि सारै कमजोर देख्दा हरेक नेपालीले भरोसा गर्ने ठाउँको अभाव महसुस गरिरहेका छन् । मुटुले ढ्याङ्ग्रो ठोकिरहेको छ, यो महामारीबाट बच्न सकिने हो कि होइन भनेर । अभाव र भोकमरीका कारण भोकै मर्नुभन्दा बरु कोरोनाले मरौंला भन्नेको जमात पनि सानो छैन । आफूले विश्वास र भरोसासहित चुनेर पठाएका नेतृत्वको ध्यान विपत्मा केन्द्रित हुन नसकेको दुःखद क्षणमा नागरिक आफैं सचेत हुनुसिबाय अरू उपाय देखिँदैन ।
बरु यो विपत्को घडीमा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूकै योगदान नै सर्वोच्च हुने देखिन्छ, चाहे अक्सिजन होस्, वा स्वास्थ्य सामग्री वा विप्रेषणका रूपमै । देशको अर्थतन्त्र ठप्प भएको अवस्थामा विप्रेषणले ठूलो भरथेग दिएको छ देशलाई । नेपाल राष्ट्र बैंकको एक अध्ययनले गत नौ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको देखाएको छ र विप्रेषण भित्रिने क्रम घटेको पनि छैन । परदेशका ती श्रमिक नेपालीको योगदानलाई उच्च सम्मान गर्नैपर्छ, जसले नेपाललाई विप्रेषण मात्र होइन अक्सिजन पठाएर पनि बचाएका छन् ।
(सुरक्षित आप्रवासन परियोजना (सामी) मा कार्यरत घिमिरेका यी निजी विचार हुन् ।) कान्तिपुर अनलाईनबाट ।