• चन्द्रकिशोर

निर्वाचन आयोगको दस्तावेजमा एक सय बीस दल अभिलिखित भएका छन् । पहिलो दृष्टिमा यति धेरै संख्यामा राजनीतिक दल सूचीकृत हुनुले प्रतिस्पर्धाको आयतन फराकिलो बनाएको देखिएला । छनोटका लागि आमजनसँग अनेक विकल्प उपस्थित रहन्छ होला । हो पनि, जति धेरै दल त्यति साह्रो जनताका कथ्य मुखरित हुने आशा ।

एक–अर्को दलले आपसमा जनतासँग भिज्न स्वस्थ चुनौती स्वीकार गर्ने र यसबाट लोकतान्त्रिक सहभागितालाई उन्नत बनाउने अवसरका रूपमा व्याख्या गर्न सकिन्छ । यसले नेतृत्व विकासका वैकल्पिक ढोकाहरू खोल्न सक्छ । जनताका बीच बढी संख्यामा दलहरू पुगे भने जनताका आलोचनात्मक चेत बढाउन सघाउ पुर्‍याउँछ होला ।

राजनीतिक प्रशिक्षणका दायरा फैलिन सक्छ । निर्वाचनका सरकारी प्रबन्धको निगरानी र प्रतिस्पर्धी दलबाट हुन सक्ने गडबडीप्रति खबरदारी बढ्ने विश्वास राख्न सकिन्छ । यो द्विदलीय प्रणाली होइन, बहुदलीय हो– त्यसैले दलहरूको अधिकता स्वाभाविक हो भन्दै एउटा कोणबाट तर्क गरिन्छ । बढी दल धान्न नसक्नु भनेको नागरिकले आफूमाथि विश्वास नभएको ठान्नु होइन र ?

तर, के यसरी दर्ता भएका सबै दल चुनावी प्रतिस्पर्धामा सामेल हुन्छन् त ? लोकतन्त्र र निर्वाचन एक–अर्काका पूरक हुन्, बिना निर्वाचन लोकतन्त्र अधुरो हो भने सूचीकृतमध्येका दलमध्ये किन कोही आफूलाई वञ्चित गर्छन् ? निर्वाचन आयोगमा दर्ताका प्रयत्न वा चुनावी प्रतिस्पर्धामा सहभागी हुने प्रयोगका पछाडि के कुन कारणले काम गरिरहेको हुन्छ ? लोकतन्त्र भनेको जवाफदेहिता र पारदर्शितासहितको शासन पद्धति हो भने जनताका प्रतिनिधि बन्ने दाबी गर्नेहरूले व्यवहारमा यो खरो उत्रेको छ/छैन, त्यसको परीक्षणको विवेचना आवश्यक छ । 

दल खोल्नु र चुनाव लड्नु नागरिक अधिकार हो । जो दल खोल्छन् वा प्रतिस्पर्धा गर्छन्, त्यसबाट आफ्नो सामाजिक चिनारी बढ्ने कतिपयको मत छ । उनीहरूका अनुसार, पुरानाहरूका विकल्पमा जनताले सोच्न, तयार हुन पनि एउटा ध्रुव खडा गर्नु वाञ्छनीय छ । त्यसैले सजग नागरिकले राज्य सञ्चालनसँग निरपेक्ष रहेर होइन, सक्रिय सहभागितासहित सकारात्मक दिशातर्फ राज्यलाई निर्देशित गरिरहनुपर्छ ।

लोकतन्त्र सफल भइरहन निरन्तर नागरिक खबरदारीको आवश्यकता पर्छ, तर त्यसका लागि संगठित प्रयास ‘दल’ खोल्नु भन्ने हो । दलको अस्तित्व अकारण आएको हुँदैन । कसैका लागि यो त आकाशमा प्वाल पार्ने एक चुट्की साहस पो हो ।

हिन्दीका शायर दुष्यन्त कुमारको प्रसिद्ध पंक्ति छ, ‘कैसे आकाश में सुराख नहीं हो सकता, एक पत्थर तो तबीयत से उछालो यारो ।’ जुन वर्ग, पक्ष वा समूहले सामान्यतः प्रत्याशीका अवसर अहिलेका चल्तीका चुनावी व्याकरणमा पाइरहेका हुँदैनन्, तिनीहरू ध्यानाकर्षणका लागि समेत दल बनाउँछन् । विचारधाराको विघटनबाट चिन्तित भएर विचारधाराबाट प्रेरितहरूको आक्रोशलाई गोलबन्द गर्न पनि कतिपय यतिखेर तम्तयार देखिन्छन् ।

तर, कुरो कहाँ यत्तिकैमा टुंगिन्छ र ? यो बुझ्नु जरुरी छ– दल खोल्न ती अगुवाले आफ्नो निर्णय आफैं गर्न पाउनुपर्ने हो । तर, नेपाली शक्ति विन्यासमा अनेक तत्त्वले यसरी दल खोलाउन उत्प्रेरणा गरेका हुनाले पनि दलको संख्या बढोत्तरी हुन पुग्छ । सबल प्रत्याशीहरूले निर्वाचनमा संसाधन प्रयोग गर्न खल्तीका दल खोल्न सघाउँछन् ।

कोही अमुक पात्र नै दलको नाम र चुनाव चिह्न बोकेर चुनावी बजारमा मोल–मोलाइ गरिरहेका हुन्छन्, कतिपयका लागि यो नाफामूलक खेतीपाती हो । कुनै कालखण्डका सक्रिय दलको ‘ब्रान्डनेम’ खल्तीमा कानुनी रूपमा राखिरहने र यस्तै चुनावी सेयर बजारको व्यग्र प्रतीक्षामा रहन्छन् । यसरी दलको संख्या थपिँदै जानुले पनि राम्रो संकेत दिँदैन ।

एक पटक दर्ता भएको दल सधैं कायम रहँदैन पनि । दल दर्ताका लागि केही निर्धारित प्रक्रिया पूरा गरेको हुनुपर्छ । यसका बाबजुद पनि दल खोलेर चल्ने राजनीतिक व्यापार चक्रबारे त्यति साह्रो बहस हुँदैन । आयाराम–गयारामका किस्सा जो चल्छ, त्यो यस्तै बहुसंख्याका बहुरूप–रंगका दलहरूले गर्दा हो । साविकको दलबाट टिकट नपाए तुरुन्त दलबदल गर्ने स्पेस सामुन्ने रहन्छ ।

बहुसंख्यामा दलहरू हुनु खराब वा अच्छा भनेर कित्ताकाट गरिनुभन्दा ठूला दलसँगै नयाँ वा साना दलको समेत शल्यक्रिया हुनु अपरिहार्य छ । पुराना र ठूला दलहरूको प्रभाव आयतन व्यापक हुनाले तिनीहरूमाथि हजार आँखा लाग्नु स्वाभाविकै हो । तर, नयाँको नाममा वैकल्पिकको दाबी गर्नेलाई समेत इग्नोर गर्न मिल्दैन । पुराना हुँदैमा न त बासी हुन्छ न त नयाँ कहलिँदैमा ताजा । हाल सुशासनको अवस्था कमजोर रहेको र नागरिक असन्तुष्टि उच्च छ।

यस पृष्ठभूमिमा आफ्नो असन्तोष निर्वाचनमा मत परिवर्तनमार्फत व्यक्त गर्ने जनमनोविज्ञान छ, तर जनताले नयाँका नाममा मनोवाञ्छित पाउनुको साटो कतै विषादीयुक्त पार्टीसमक्ष आइपुग्ने हो कि ? हेक्का राख्नु मुनासिब छ । पुरानाहरू कत्तिको सच्चिन बल गरिरहेका छन् वा नयाँ कहलिन आतुरहरू आफू कत्तिको सप्रिएर आउँदै छन् ? त्यसको छिनोफानो वर्तमानको भाग्यफल हो ।

निर्वाचन आयोगमा दर्ता भएका दलका नाम हेर्नुहोस्— लोकतान्त्रिक, जनता, समाजवादी, क्रान्तिकारी, कम्युनिस्ट, राष्ट्रवादी जस्ता नाम झुन्डिएको छ । बरमझियाको पेडा जस्तै आफू नै असली ‘ब्रान्ड’ रहेको भ्रम फिँजाएर देश गोलमाल गर्ने अर्जुनदृष्टि छ । नामै यस्तो, मानौं सबै दलले एउटै कार्ड–प्रिन्टरमा एकै तरिकाको ‘ब्रान्डेड’ नाम छपाएका हुन् । जनताले भिन्न कार्यशैली चाहेको छ ।

अँध्यारो नाम राख्दैमा न त त्यो दल छायाको कारोबारी ठहरिन्छ, न त उज्यालो भनेर कराउँदैमा शुद्धताको परिचायक मानिन्छ । नयाँ दल खोल्न चाहनेहरूमा अधिक कुन पृष्ठभूमिबाट सहभागी आउँदै छन् ? व्यावसायिक भनिनेहरू कतिको ‘घोषणा पत्र–निष्ठ’ बनेर टिक्छन् ? अर्थपूर्ण समावेशीकरण कत्तिको छ ? नयाँ दलहरूको उदय हेर्दा यस्तो लाग्छ, कुनै अमुक नेतालाई पुरानो घर मन परेन, त्यसैको भित्तो भत्काएर अगाडि ‘नयाँ’ को बोर्ड झुन्ड्यायो । दलको बजार हेरेर भुइँमान्छेको टिप्पणी सुनिन्छ– मुलुकमा विचारधाराको ‘ब्ल्याकमार्केट’ चलेको छ ।

दल खोल्न रोक छैन अहिले, यो सक्रिय राजतन्त्रको जस्तो दलहरू प्रतिबन्धित रहने युग होइन । जनताले पारदर्शिता र जवाफदेहिता खोजेका छन् । म्यादी रहेको चुनावी सरकारमा पनि बस्ने, तर एउटा दल पनि भाडामा कायम राख्ने चलाखी, दलीय राजनीति र चुनावी प्रतिस्पर्धाको भित्री इच्छा किन लुकाउने ? सर्वोच्च अदालतले नै थुनामा राखिदिएपछि पनि दलको चाबी किन राखिराख्ने ? विधि–ध्वंस गर्ने अमुक पात्र आएर देश कसरी उँभो लाग्छ ? यसरी हेर्दा नयाँ दलहरू विकल्पभन्दा बढी राजनीतिक उद्यमीहरूका लागि ‘रि–स्टार्ट बटन’ जस्ता देखिन्छन् ।

भन्न त नयाँ दलका नेताहरू भन्छन्, ‘हामी पुरानाविरुद्ध’ । तर, उनीहरूको ‘पुरानाविरुद्ध’ भन्ने कुरा मात्रै नयाँ हो– स्वभाव, शैली, संरचना सबै पुरानो । लोकतन्त्रलाई बलियो बनाउन दलको संख्या धेरै हुनु समस्या होइन, तर अव्यवस्थित बहुलता भने समस्या अवश्य हो ।

काठमाडौंको सार्वजनिक यातायातमा सुनिने गफगाफका सारांश हो, ‘दल दर्ताको प्रक्रिया यति सजिलो छ कि जसरी टिकट काटेर बस चढिन्छ, त्यसैगरी फाइल बुझाएर दल दर्ता हुन्छन् । न विचारधारा, न आन्तरिक लोकतन्त्र, न सदस्यको स्पष्टता । सबैभन्दा गाह्रो भनेको दलको नाम चयन किनकि उस्तै नाम यति धेरै भइसके कि नयाँ राख्नै कठिन ।

यो दलका हर्ताकर्ताहरू त्यो दलमा भित्रिँदै, उही प्रशस्ति, उही क्षुद्रप्राप्तिका तृष्णा । पुराना दलहरू पचास वर्ष पुरानो मेसिन जस्तै गर्किएका, गुम्सिएका तर बन्द नहुने । जिल्ला–जिल्लाहरूबाट सिफारिस उम्मेदवार नेताहरू उही, मुद्दाहरू उही, तर भाषणमा चकचके शब्द– नयाँ ।’ आमजनमार्फत व्यक्त हुने यस्ता सन्दर्भहरूले जनतामा पलाएको बेचैनी प्रस्ट्याउँछ ।

निर्वाचन जनताका लागि उत्सव हो, तर दलहरूका लागि फगत एक ‘प्रोजेक्ट’ भयो । निर्वाचन त जनताका लागि मताधिकार प्रयोग गर्ने अवसर हो, तर दलहरूले यसलाई एक ‘मेगा–टेन्डर’ का रूपमा लिए र यस्तोमा मतदाता केवल ‘टार्गेट ग्रुप’ बनाइएका छन्, जनता अब जनार्दन रहेनन् । मूलतः देशमा ‘घोषणापत्र थकान’ (मेनिफेस्टो फटिग) सुरु भएको छ । विकल्पका नाममा कमसल सामग्री आउने पो हुन् कि ? दलका हर्ताकर्ताहरूमा निष्ठा, पारदर्शिता, शुद्धताको परिवेश फिँजाउने प्रतिबद्ध संकल्प चाहिएको छ । असली लोकतन्त्र तब देखिन्छ, जब जनता दलको पछाडि होइन, दल जनता अगाडि हिँड्छ ।

समाज नयाँ लिक कोर्ने, नागरिक शक्तिलाई शक्तिशाली बनाउने, सैन्य आशीर्वादभन्दा जनताको सार्वभौमिकतालाई स्विकार्ने नेतृत्व पंक्तिको प्रतीक्षामा छ । जसले वर्तमानप्रति कठोर प्रश्न गर्न सकोस् र सँगै निकट आगतको विवेकयुक्त तस्बिर पनि देखाउने निपुणता ।

जनता बलियो बनाउने मौजुद राजनीतिक उपलब्धिलाई निरन्तरता दिँदै थपका लागि इमानदार प्रयत्न गर्ने दलहरूको प्रतीक्षा छ । लोकतन्त्रमा दल ‘ठेकेदार’ होइन, ऊ कसैको तर्फबाट प्रत्याभूति गर्न सक्दैन । दललाई केवल जनताका एक संगठित ‘प्रतिनिधि’ स्वीकारिएको छ, यही बिर्सेपछि राजनीतिक संकट सुरु हुन्छ । जनतासँग संवाद हराएको पार्टी, निर्वाचनमा ‘क्लच’ फेल भएको गाडी जस्तै जहाँतहीं अड्किन्छ ।

अहिले जब जनता बोल्दै छन्— अनेक दाबीका साथ एकीकरण हुने, मोर्चाबन्दी हुनेक्रम सुरु छ, उता आवरणका पात्रहरू जनताका नाममा कठपुतली शक्ति तयार गर्न उद्यत छन् । यही नाटक लामो चलेपछि लोकतन्त्र ‘ट्र्याजिक ड्रामा’ बन्न पुगेको छ । पुराना पार्टी संस्कृतिको विडम्बना के हो भने दलभित्र नेतृत्व जन्मिँदैन, ‘लाइन’ मात्रै जन्मिन्छ ।

पार्टी संस्कृति जब विचार होइन, व्यक्तिको पूजा बन्न थाल्यो, त्यसपछि लोकतन्त्र केवल ‘माइक्रोफोन–डेकोरेसन’ देखियो । नेतृत्व परिवर्तनलाई जोखिम ठान्ने पार्टीले वास्तवमा आफैंलाई जडताको जोखिममा राखिरहेको हुन्छ । पार्टीमा विचार कमजोर हुँदा गुट बलियो हुन्छ, यस्तोमा आवाजभन्दा दलपतिको ‘इसारा’ नै निर्णायक बन्छ ।

पार्टी संस्कृति तब बिग्रिन्छ, जब पद पाएको मान्छे नै पार्टी हुन्छ र पार्टी पाएको मान्छे जनता बिर्सिन्छ । जब पार्टी नेतृत्व वा दलकै पनि आलोचनालाई शत्रुता ठानिन्छ त्यो पार्टी सुधार होइन, क्षयको दिशातिर हुन्छ । अझैपनि पुराना दलभित्र मूल्य र विचारभन्दा बैठकको ‘सेटिङ अरेन्जमेन्ट’ नै ठूलो राजनीति भएको छ ।

विगतले देखायो— गुट भनेको विचारको बहुलता होइन, निर्णय प्रक्रियामा पारदर्शिताको अभावको प्रत्यक्ष परिणाम हो । दलले जनतालाई केवल चुनावमा सम्झिने बानी लोकतन्त्रको सबैभन्दा महँगो कमजोरी हो । जनताका हजारौं प्रश्न छन्, तर जनताका नाममा खुलेका दलहरूमा भने जवाफ हराउँदै गएको छ ।