समाजमा मूल जरो गाडेर बसेका कैयौं यस्ता थिति छन्, जसलाई आजसम्म पनि हामीले हाम्रो संस्कृति भन्दै अक्षरशः पालना गर्दै आइरहेका छौं । विशेषतः हिन्दु बाहुल्य समाजमा संस्कृतिका रूपमा अपनाउँदै र जीवनशैली बनाउँदै आएका कतिपय अभ्यास र प्रथाले नकारात्मक परिणाम पनि देखाएका छन् ।

झन्डै ३४ वर्ष अगाडि प्रकाशित समाजशास्त्री डोरबहादुर विष्टको पुस्तक ‘भाग्यवाद र विकास : आधुनिकीकरण हेतु नेपालको जमर्को’ मा उल्लेख गरिएझैं आजको दिनसम्म पनि सामाजिक अवस्था उस्तै नै छन्, मात्र रूप बदलिएका छन् । समाजमा बढीजसो महिलाहरूले भाग्यवादी परिपाटीलाई आफ्नो जीवनशैली बनाएका प्रशस्तै उदाहरण छन् । विष्टले उल्लेख गरेअनुसार सन् १९८६ मा महिला साक्षरता दर १२ प्रतिशत मात्र थियो । अहिले नेपाली महिला साक्षरता दर झन्डै ७० प्रतिशत पुगेको छ । ४० वर्षयताको महिला शिक्षाको अनुपात हेर्ने हो भने ६ गुणाले बढेको देखिन्छ । महिलाको सचेतना र कैयौं क्षेत्रमा सहभागिताको कारणले यो परिवर्तन देखिएको हो । ६० वर्षअगाडि छोरीलाई पढाउनुपर्ने कुरा प्राथमिकतामा पर्दैनथ्यो । छोरीहरू विद्यालय गइहाले पनि बीचमा घरमा काम पर्‍यो, अर्मपर्म आइलाग्यो भने विद्यालय छोडाएर काम गर्न बोलाउने चलन थियो ।

विष्टको भाग्यवादको प्रसंगलाई यहाँ जोड्नुको कारण महिलाको शिक्षा, साक्षरता, चेतनाको रूपान्तरण र यसको प्रगतिशीलताप्रतिको उदासीनताबारे केही कुरा गर्नु हो । उनका अनुसार विकासका गतिविधिमा सामाजिकीकरणले प्रभाव पार्छ । अन्तरवैयक्तिक शैली निर्माणमा परिवार संरचनासँगै सामाजिकीकरणको भूमिका रहन्छ । यसअन्तर्गत परिवारमा महिला र पुरुषलाई दिइएको जिम्मेवारीले कालान्तरसम्म कस्तो समाज बनाउँदै जान्छ भन्ने कुरा पनि पर्छन् । घर, गृहस्थी, स्याहारसम्भार, पितृप्रतिको सन्देह र डर तथा पितृलाई तर्पण दिएर आफू मृत्युपश्चात् स्वर्ग जाने जस्ता मान्यतामा पुरुष तथा महिला उत्तिकै सजग हुनुपर्ने मान्यता छ । जुन आजसम्म संस्कारका रूपमा बरकरार नै छ । नैतिकता, अनैतिकता जस्ता सामाजिक नियम/कानऽनमा पुरुषको तुलनामा महिलाले विशेष सतर्कता अपनाउनुपर्ने परिपाटी आज पनि विभिन्न समुदायमा भिन्न रूपमा देख्न सकिन्छ ।

७० प्रतिशत साक्षर महिला रहे पनि समाज विकास, सुधार अनि महिलाकै जीवन स्तरोन्नतिमा के भूमिका र सहभागिता छ भन्ने तथ्यांकले देखाउँदैन । तर महिलाहरूले अझै धेरै कुरा बुझ्न, चेतनशील हुन बाँकी नै छ । विभिन्न अवस्थामा महिलाप्रति भएका दुर्व्यवहार, अपहेलना, विभेदका घटनाले यसलाई प्रस्ट पार्छन् । धर्म र धर्मले डोर्‍याएको संस्कृति हाम्रो नेपाली जीवनको केन्द्रीय चरित्र हो । यसलाई हामीले जानीनजानी स्वीकार गर्नुपर्ने अवस्था छ । तर समयसापेक्ष समाजका पछाडि पारिएका जाति, वर्ग तथा लिंगको अवस्था पछाडि नै रहिरहँदैन भन्ने कुरालाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ । हामी नेपाली महिला भाग्यवादका थितिसँग कसरी कसिएका छौं त ? एक–दुई उदाहरणसहित समाजमा भइरहेका वास्तविक घटनालाई हेरौं:

एक ३० वर्षीया महिला सगोलको परिवारमा बस्छिन् । उनको लोग्ने कतै गाडी चलाउने काम गर्छन् । महिला सामान्य लेखपढ गर्छिन् । शारीरिक रूपमा स्वस्थ र फुर्तिली छिन् । उनी घरको काम, गाईगोठ, मेलापात सबै भ्याउँछिन् । सोमबारको व्रतदेखि महिलाले बस्नुपर्ने पूजाआजामा सहभागी हुन्छिन् । तर, उनको यस्तो मिहिनेतको कदर अनि प्रेम भने उनले पाउन सकेकी छैनन् । एक पटक ती महिला तीजको व्रतका बेला सफा पनि नगरेको श्रीमान्को खुट्टाको पानी खान्छिन् । यस्तो दृश्य देखिरहेकी अर्की अलि प्रगतिशील महिलाले ‘अहिलेको समयमा पनि यस्तो अन्धविश्वासलाई पछ्याइरहने ?’ भनिदिँदा ती महिलाका श्रीमान् रिसाउँछन् र ‘आफ्नी श्रीमतीलाई अहिलेका आईमाईजस्तै बनाउन लागेको’ भनेर हप्काउँछन् । आफू मादक पदार्थ सेवन गर्ने, श्रीमतीलाई अपशब्दले गाली गर्ने तथा कुटपिटमा पनि उत्रने ती पुरुष चेतनाविहीन जिन्दगी बिताइरहेका छन् । श्रीमतीचाहिँ श्रीमान्ले छाडे कहाँ जानु भनेर मौन बस्ने गरेकी छन् । यसमा महिला ‘खोटो भाग्य पाएको’ भन्दै सहन्छिन् भने पुरुष ‘भाग्यमै लिएर आएको’ भन्दै जीवनसाथीमाथि उत्पीडन गरिरहेका हुन्छन् ।

अर्को उदाहरण आजकै समाजको हो । एक किशोरी आफ्नै गाउँठाउँमा बेलाबखत आवतजावत गर्ने हेर्दा आकर्षक पुरुषसँग प्रेममा पर्छिन् । उनलाई त्यो उमेरवयमा सही, गलतभन्दा पनि पुरुषप्रतिको आकर्षण नै प्रिय लाग्छ । परिवारले पनि ती पुरुषको पारिवारिक, आर्थिक अवस्था र सामाजिक सम्मानलाई ध्यानमा राख्दै विवाह गरिदिन्छन् । तर किशोरी त्यसबेला झसंग हुन्छिन्, उनको नवविवाहित श्रीमान् मदिरामा अभ्यस्त भइसकेका हुन्छन् । किशोरीको दाम्पत्य जीवन हिंसाकै वरिपरि घुमिरहन्छ । श्रीमान्को लत र लापरबाह जिन्दगी सुधार्न उनी के मात्र उपाय लगाउँदिनन् । भएभरका देवता भाकल गर्नेदेखि हप्तामा तीन–चार दिन व्रत बस्छिन् । जान्नेसुन्ने वैद्य, धामी सबै गर्छिन् । जे सुकै गर्दा पनि श्रीमान् नसुध्रिएपछि सारा कर्मकाण्ड त्यागिदिन्छिन् । अहिले उनी एकल जीवन बाँचिरहेकी छन्, शान्तिपूर्वक । आफूले भोगेको जीवन धर्मकर्म, संस्कृति, पारिवारिक सम्बन्धमा फर्कने कि भन्ने सोच्दामात्र पनि उनलाई विगतका कुराले बिझाउँछ । आजकाल उनी एकदमै विश्लेषण गरेर मात्र निर्णय लिने गर्छिन् । धार्मिक मूल्य, मान्यता र खराब संस्कृतिप्रति उनको छुट्टै र प्रगतिशील विचार बन्ने गर्छ । संकटबाट निस्कन विद्रोह वा विकल्प रोज्ने कि भाग्यवादी भएर पुर्पुरोमा हात राखेर बस्ने ? यसले बहसको माग गर्छ ।

यस वर्ष साउन महिनाभर हिन्दुहरूले विशेष पुज्ने पशुपतिनाथ मन्दिर परिसरमा एकमहिने कोटीहोम सञ्चालन भयो । कोटीहोममा हेर्न र चर्चा गर्न लायक नै महिलाहरूले व्यासमा बसेर भागवत पाठ गर्नु रहेको थियो । निकै तामझामका साथ कोटीहोममा भारत तथा नेपालका पण्डितहरूले कथा वाचन गरे । दलित समुदायबाट पनि भागवत प्रवचनको प्रतिनिधित्व हुनु र धार्मिक कर्मकाण्डमा महिलाकोबारे क्रिया–प्रतिक्रिया आए । पण्डित, गुरु, बाबाले मात्र व्यासमा बसेर कथा वाचन गर्ने परिपाटीको ब्रेक भएको सन्देशचाहिँ महिला पुराण वाचकले स्पष्ट र कलात्मक शैलीले कथा वाचन गरेबाट नै भयो । तर ‘पुराण त्यो समयको कथा हो, अहिलेको सन्दर्भसँग मिल्न सक्दैन, अहिले धेरै परिवर्तन र चेतना विस्तार भएको छ’ भनेर कुनै पनि महिला वाचकले कसैले भनेको सुनिएन । कथा वाचक महिलाले आम धार्मिक र पितृसत्तात्मक जीवनशैली अपनाइरहेका महिलासमेतको भावना र सामाजिक संरचनालाई मलजल गर्ने खालका कथा, अर्ती, उपदेश दिँदै थिए । आफ्नै वैवाहिक जीवनको दुर्घटनालाई पनि ‘त्यो हुनु नै थियो, प्रारब्धका कुरालाई मेटाउन सकिँदैन’ पनि भन्दै थिए ।

हामी अधिकांश महिला यस्तै भाग्यवादी जीवनशैलीले डोहोरिएका छौं । त्यस्तै परे परिवर्तनको नाममा एक महिलाले अर्को महिलाको धज्जी पनि उडाइरहेकै हुन्छौं । त्यो पनि चरित्रलाई लिएर । नेपाली समाजले अझै पनि भाग्य, पुनर्जन्म, पूर्वजन्म, शुभ, अशुभ जस्ता कल्पनाद्वारा निर्देशित संस्कृतिलाई अपनाउने गर्छ । हाम्रा अवधारणा परिवर्तन हुन नै मानेका छैनन् । महिला समुदायले चिन्तन प्रक्रियालाई अलि आलोचनात्मक बनाउनै पर्नेछ । खराब परम्पराहरूलाई छोड्दै र असल परम्परालाई कायम राख्दै अगाडि बढ्नुको विकल्प छैन।

कान्तिपुरबाट।

maunt - Copy