काठमाडौं, १२ भदौ। रसुवा बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि तिलगंगा आँखा प्रतिष्ठानले एक करोड रुपैयाँ र कर्मचारीहरूबाट एक दिनको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने  घोषणा गरेको छ।

साथै, प्रभावित क्षेत्रका घाइते र बिरामीहरूको आँखा सम्बन्धी उपचार  निःशुल्क गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ। प्रतिष्ठानअन्तर्गत रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीहरूलाई ग्रामीण आँखा केन्द्र समेतको सहयोग लिई एक टोली बनाई जिल्ला दैवी प्रकोप समन्वय समितिसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रका समुदायको आवश्यकताअनुसार आँखा परीक्षण र उपचारमा परिचालन गरेको जानकारी पनि जानकारी दिइएको छ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान परिवारले आर्जन गरेको रकम तथा देशभित्र र बाहिर रहेका शुभेच्छुक, सहयोगी मित्रहरूमार्फत प्राप्त रकमबाट नेपाल सरकारको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग पुग्ने अपेक्षासहित रकम प्रदान गरिएको प्रतिष्ठानले भनाई छ।

भविष्यमा शुभेच्छुकहरूमार्फत थप सहयोग संकलन भएमा सो रकम पनि सरकारलाई उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ। 

पुनर्निर्माणको यात्रामा पनि तिलगंगा आँखा प्रतिष्ठानले साथ दिने  प्रतिबद्धता व्यक्त गरेको छ।