सिरहा, १२ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सिरहाको गोलबजार नगरपालिकाले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएको छ। नगरपालिकाले शुक्रबार आज एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने भएको हो। 

विज्ञप्तीमा ‘विपद्को कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत वितरण र पुनस्र्थापनाका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ–संस्था तथा नागरिक समाजबाट भइरहेका प्रयासप्रति नगरपालिकाले एकबद्धता जनाउँद छौं’, भन्ने उल्लेख गरिएको छ। 

‘विपद् कुनै एक व्यक्ति वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएकाले कठिन परिस्थितिमा एक–अर्कालाई सहयोग गर्दै मानवीय संवेदना, सहकार्य र एकताको भावना प्रदर्शन गर्न सम्पूर्ण नागरिक तथा सरोकारवालालाई अपिल गरेको छ।’ नगर प्रवक्तता संजित लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। 

यस अघि नै लहान नगरपालिकाले रसुवा विनाशकारी बाढी पीडिको सहयोगार्थ ११ लाख रुपैयाँ सहयोग गर्ने कार्यपालिकाबाट निर्णय गरेको छ। 

जसमा मेयर महेश चौधरीले आफ्नो १ महिनाको सेवा, सुविधा, अन्य जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको १ दिनको तलब जोडेर ११ लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

सबै सहयोग रकम प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विपद् कोषमा जम्मा गर्ने जनाएको छ। 

रसुवा विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो ५ बजे सम्म ५ सय ५३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३८ जना, धादिङमा ४० जना, चितवनमा २ सय २२ जना, गोरखामा ४७ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ३४ जना र नवलपरासी पश्चिम २८ जना गरी ५ सय ५३ जनाको शव फेला परेको हो। 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ।