काठमाडौं, १६ फागुन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेलले इरानमा गरेको हमलामा अमेरिका पनि सामेल भएको पुष्टि गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा राखेको आठ मिनेट लामो भिडिओमार्फत् त्यसो भनेका हुन्।

अमेरिकाले‘महत्त्वपूर्ण युद्ध कारबाही’  थालेको उनले बताएका छन्।

उनले भनेका छन् ‘अमेरिकाले बारम्बार सहमति गर्न खोजेको थियो। हामीले निकै प्रयास गर्‍यौँ’ उनले भने,  ‘हामी उनीहरूको क्षेप्यास्त्र नष्ट पारिदिन्छौँ र उनीहरूको क्षेप्यास्त्र उद्योग ध्वस्त पारिदिन्छौँ। त्यो पूरै नष्ट हुनेछ।’

यसअघि इजरेली तथा अमेरिकी सञ्चारमाध्यमहरूले इजरेलले अमेरिकासँग समन्वय गरेर इरानमाथि हमला गरेको जनाएका थिए।

सीएनएनले अमेरिकासँगको समन्वयमा इजरेलले हमला गरेको उल्लेख गरेको थियो। इजरेलको वाइनेट न्यूजले पनि त्यसै भनेको थियो।

‘पाँच सहरमा विस्फोट’

इरानका सञ्चारमाध्यमहरूले त्यहाँका विभिन्न सहरहरूमा विस्फोटन भएका सुनिएको जनाएका छन्।

फार्स समाचार एजेन्सीले इस्फाहान, कोम, कराज र केर्मानशाह सहरहरूमा विस्फोटनका आवाज सुनिएको जनाएको छ।

राजधानी तेहरानको युनिभर्सिटी स्ट्रीट तथा रिपब्लिक इलाकाहरूमा कैयन् क्षेप्यास्त्रहरू प्रहार भएको सो समाचार संस्थाले जनाएको छ।

इस्लामिक रिपब्लिक न्यूज एजेन्सीका अनुसार पनि तेहरानका दुईवटा ठाउँमा विस्फोटन भएको सुनिएको छ। सहरको मध्ये भागमा आकासमा धूवाँको मुस्लो देखिएको उसले जनाएको छ।

इरानको प्रत्याक्रमण

इजरेलको सेना इजरेल डिफेन्स फोर्स (आईडिएफ)ले इरानले इजरेलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।

एक विज्ञप्ति जारी गर्दै आईडिएफले भनेको छ, ‘इरानले इजरेललाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको पहिचान हुनासाथ देशभरि विभिन्न क्षेत्रहरूमा साइरन बजाइएको छ।

इजरेली हवाई सेनाले ती इरानी क्षेप्यास्त्र रोक्न तथा अन्य खतरामा प्रहार गर्न काम थालेको उसले बताएको छ।

दुवै देशको हवाई क्षेत्र बन्द

इजरेलले उसको हवाई क्षेत्र नागरिक उडानहरूका निम्ति बन्द गरिदिएको छ। शनिवार बिहान इरानमा हमला गरेपछि हवाई क्षेत्र बन्द गरिएको इजरेली सञ्चार माध्यमहरूले बताएका छन्।

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरसँग जोडिएको तस्नीम न्यूज एजेन्सीले इरानको हवाई क्षेत्र पनि निषेधित गरिएको उल्लेख गरेको छ।

(बीबीसीनेपालीसेवाबाट)